काठमाडौँ
००:००:००
२८ मंसिर २०८२, आईतवार

अनुभूति

मेरो दिमागमा एउटै कुरा खेलिरहेको थियो– तङलाई यही पत्रकार सम्मेलनमा समातेर विशेष अन्तर्वार्ता लिने। संयुक्त पत्रकार सम्मेलन सम्पन्न भएपछि कीर्तिबाबुसँगै तङ पनि हल बाहिर निस्किन खोज्दै थिए। मैले घेरि हाले।

२८ भाद्र २०८२
देङ साओपिङ र इन्सेटमा राजा वीरेन्द्र।
अ+
अ-

२०३४ सालमा म राष्ट्रिय समाचार समितिको पत्रकार थिएँ। प्रश्न सोधिहाल्ने बानी। कूटनीतिक क्षेत्रमा नचिन्ने कमै थिए। भारतीय दूतावासमा मेनन थरका एक अधिकारी थिए। सधैँ भन्थे– ‘क्रिस ! तिमीले मेरो पार्टीमा श्रीमती पनि लिएर आउनु पर्छ। एक्लै आउन पाउँदैनौं।’ विदेशीहरू मायाले मलाई क्रिस भनेर सम्बोधन गर्थे।

त्यतिबेला नेपालमा कार्यरत विदेशी राजदूतहरूलाई वर्षको एकपल्ट देशका विभिन्न ठाउँमा घुमाउने चलन थियो। परराष्ट्र मन्त्रालयले केही स्वदेशी पत्रकारलाई पनि त्यो शिविरमा समावेश गराउँथे। धेरैजसो त्यो टोलीमा मेरो पनि नाम समावेश हुन्थ्यो। म प्रायः चिनियाँ, पूर्वी जर्मनी र हंगेरीका राजदूतहरूलाई आतिथ्य गर्ने समूहमा पर्थें।

यही वर्ष मेरो जीवनमा अविस्मरणीय घटना जोडियो। त्यो थियो, आधुनिक चीनका निर्माता तङ साओपिङसँगको पत्रकार सम्मेलन।

२४ भदौ २०३३ सालमा चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक माओ त्सेतुङको मृत्यु भयो। यसपछि चिनियाँ सत्तामा उदाए, तङ । माओको कार्यकालमा उनले कष्टकर जीवन बिताउनु परेको थियो। माओका अति विश्वासपात्र ‘ग्याङ अफ फोर’ का कारण लगभग उनको जीवन नै समाप्त भइसकेको थियो। तर, माओको मृत्युसँगै उनको उदय भयो।

तङले चिनियाँ आधुनिकीकरणका लागि अपनाएको योजना विश्वजगत्का लागि कौतूहलको विषय बनेको थियो। तर, उनी रहस्यमयी पात्रभन्दा कम थिएनन्। यही सेरोफेरोका बीच २१ माघ २०३४ सालमा उनी नेपालको राजकीय भ्रमणमा आइपुगे। उनी नेपाल आउने खबर अन्तर्राष्ट्रिय मिडियाका लागि ‘हटकेट’ समाचार थियो। किनभने, उनी सत्तारोहणको १७ महिनापछि पहिलो अन्तर्राष्ट्रिय भ्रमणमा निस्किँदै थिए।

कृष्णप्रसाद सिग्द्याल

चिनियाँ सरकार प्रमुखहरू देशबाहिर निस्किँदा सबैभन्दा पहिले म्यानमार (बर्मा) जान्छन्। चीनमा कम्युनिस्ट सरकार स्थापना भएपछि पहिले छिमेकीसँग सीमा सम्झौता भएको देश नै बर्मा हो। त्यसैले उनीहरू यो ऐतिहासिक पक्षसँग जोडिएका छन्। अहिले पनि चिनियाँ सत्तामा कुनै नयाँ नेता स्थापित भए, उनले महत्त्वपूर्ण वैदेशिक भ्रमणको सुरुवात बर्माबाटै गर्छन्।

तङले पनि त्यो परम्परालाई यथावत् राखे। उनी नेपाल आउनुअघि बर्मा पुगे। यसपछि तिब्बतको आकाश छिचोलेर १९ जनाको डफ्फासहित चिनियाँ ट्राइडेन्ट विमानद्वारा त्रिभुवन विमानस्थलमा अवतरण गरे।

यतिबेला उनको पद थियो, उपप्रधानमन्त्री। माओको निधनपछि चिनियाँ कम्युनिस्ट पार्टीको अध्यक्ष पदमा ब्हा को–फङ नियुक्त भए। माओभन्दा आठ महिनाअघि मृत्युवरण गरेका प्रधानमन्त्री चाउ एन–लाइको ठाउँमा हुवा गुइफेङलाई नियुक्त गरिएको थियो।

यी दुई नेताको मृत्युपछि कुनै पनि चिनियाँ नेताले गरेको पहिलो विदेश भ्रमण नै यही थियो। त्यसैले विदेशी मिडियाको ध्यान नेपालतर्फ नहुने कुरै भएन।

राजा वीरेन्द्रले दुई वर्षअघि उच्च हिमाली आकाश छिचोल्दै तिब्बत यात्रा गरेका थिए। ‘ट्रान्स हिमाल’ को बाटो हुँदै तिब्बत जाने पहिलो विदेशी राष्ट्राध्यक्ष नै राजा वीरेन्द्र हुन्। यही बाटो समातेर काठामाडौं अवतरण गर्ने चिनियाँ नेता भने तङ साओपिङ नै हुन्। उनी नेपाल आउनुअघि ३ माघमा ल्हासाबाट दुई वटा चिनियाँ जेटले काठमाडौं अवतरण गर्दै हवाई बाटोको अप्ठ्यारा पक्षको अध्ययन गरेको थियो।

काठमाडौं प्रवेश गर्दा नेपालको उच्च हिमाली दृश्य देखेर तङ लोभिएका थिए। हिमालको दृश्य हेर्न आफू बसेको सिट छाडेर ककपिटतर्फ लागेको जानकारी उनी आफैँले दिएका थिए। त्यो अखबारमा पनि प्रकाशित भएको थियो।

तङसँगै चिनियाँ दलमा उपविदेशमन्त्री हान नियन लुङ, राजदूत पेङ क्वान–वे र विदेश मन्त्रालयका एसिया विभागका निर्देशक सेन पिङ समावेश थिए। चारदिने नेपाल भ्रमणको समाचार संकलनका लागि विदेशबाट ३० जनाको हाराहारीमा पत्रकार एक दिनअघि काठमाडौं आइसकेका थिए।

प्रधानमन्त्री कीर्तिनिधि विष्टले तङको भव्य स्वागत गरे। पहिलो दिन सिंहदरबारभित्र नेपाल र चीनका प्रतिनिधिबीच लामो वार्ता चल्यो। त्यतिबेला राससको कार्यालय पनि सिंहदरबारभित्रै थियो। वार्तामा नेपाली पत्रकार कसैलाई निम्तो थिएन। भारतलगायत अन्य देशका पत्रकार भने भित्रै थिए। राससको कार्यालय र परराष्ट्र मन्त्रालय जोडिएको थियो।

मसँग त्यतिबेला भोला रेग्मी पनि काम गर्नुहुन्थ्यो, आर्थिक बिट हेर्ने गरी। उहाँलाई भनेँ– ‘ल, रेग्मीजी पर्खाल नाघेर जाऊँ।’ मलाई न्युजको चस्का परेको थियो। बाघको मुखबाट पनि न्युज निकाल्न सक्छु जस्तो लाग्थ्यो। उहाँ डराउनुभयो।

मैले आश्वस्त पार्दै भनेँ, ‘हे ! केही हुँदैन।’

त्यसपछि दुवै जना पर्खाल नाघेर वार्ता हलभित्र प्रवेश गर्‍यौं। त्यतिबेला वार्ता सकिएर संयुक्त पत्रकार सम्मेलन भइरहेको रहेछ। मैले दुईवटा कुर्सी मगाएँ। मेरो दिमागमा एउटै कुरा खेलिरहेको थियो– तङलाई यही पत्रकार सम्मेलनमा समातेर विशेष अन्तर्वार्ता लिने। संयुक्त पत्रकार सम्मेलन सम्पन्न भएपछि कीर्तिबाबुसँगै तङ पनि हल बाहिर निस्किन खोज्दै थिए। मैले घेरिहालेँ।

नेपाल भ्रमणका क्रममा नागरिक अभिनन्दनमा सहभागी तङ।

मैले प्रश्न सोध्न मात्र के आँटेको थिएँ, ‘चिफ अफ प्रोटोकल’ले मलाई रोक्दै भने– भोलि।

म ट्वाँ परेँ। तङ कुरा गर्न चाहिरहेका थिए। उनले पुलुक्क मेरो अनुहारमा पनि हेरेका थिए। प्रधानमन्त्री कीर्तिबाबुले पनि माहौल बनाउन ‘हुन्छ…हुन्छ’ भन्नु भएको थियो। भोलि भनेपछि कुरै सकियो।

२२ माघको दिउँसो ३ बजे। म पूरै तयारीका साथ साथीहरूसँग परराष्ट्र मन्त्रालयअगाडि पुगेँ। उही नेपालीपारा त हो। निश्चित समयमा पत्रकार सम्मेलन भएन। हामी चिया पिउन बाहिर निस्कियौं। चिया पिएर परराष्ट्र मन्त्रालयको सिँढी जसो चढ्दै थिएँ, भित्र त पत्रकार सम्मेलन सुरु हुन लागिसकेको रहेछ। मेरो सातोपुत्लो उड्यो। कहाँ ‘न्युजब्रेक’ गर्न हिँडेको, चियाले झण्डै डुबायो।

हलभित्र विदेशी पत्रकार टन्न थिए। बीबीसीका पत्रकार मार्क टलीदेखि एपी, टाइम्स अफ इन्डियालगायत सबै देशका पत्रकारहरू। अगाडि कीर्तिबाबु, तङ, देवेन्द्रराज पाण्डेलगायत दुवै देशका पदाधिकारीहरू।

पत्रकार सम्मेलनका लागि ‘फ्लोर ओपन’ गरेपछि तङलाई मैले पहिलो प्रश्न गरेँ– ‘उपप्रधानमन्त्री महोदय ! तिब्बत कहिले खुला गर्दै हुनुहुन्छ?’

उनको जवाफ आयो, ‘ओ.. तिब्बत धेरै गाह्रो हिमाली क्षेत्र हो, तपाईंलाई थाहा छ, निकै उचाइमा छ। म पनि तिब्बत जान चाहिरहेको छु। तर, मेरो चिकित्सकले अहिले नजाने सल्लाह दिएका छन्।’

चिनियाँ भाषामा उनले दिएको उत्तरलाई दोभाषेले उल्था गरे। लगत्तै मैले उनलाई अर्को प्रश्न तेर्स्याएँ, ‘मैले तपार्इंजस्तै अन्य व्यक्तिको कुरा गरिरहेको छु। पर्यटकहरू शारीरिक र मानसिक रूपमा तिब्बत जान इच्छुक छन्। उनीहरू तिब्बतको सौन्दर्य ग्रहण गर्न चाहन्छन् ।’

उनले अलिक घोत्लिएर जवाफ दिए, ‘मेरो विचारमा उनीहरू पुनःनिर्माण कार्यमा जुटेका छन्। जतिसक्दो चाँडो खोल्छौं।’

लगत्तै तेस्रो प्रश्न गरेँ, ‘छिटोको अर्थ के हो, उपप्रधानमन्त्री महोदय ?’

उनले फ्याट्ट भने, ‘दुई–तीन वर्ष।’

उनको यो उत्तर अन्तर्राष्ट्रिय मिडियाका लागि ‘ब्यानर न्युज’ बनिहाल्यो। ‘न्युजब्रेक’ गर्न धेरै मिडियाकर्मी दौडिए। ठूलो–ठूलो ‘हेडिङ’ मा न्युज छापियो, ‘चीनले दुई–तीन वर्षभित्र तिब्बतलाई खुला गर्ने ।’

म यत्तिमै रोकिइनँ। ‘ग्याङ अफ फोर’ विषयमा पनि प्रश्न उप्काएँ। सोधेँ, ‘उपप्रधानमन्त्री महोदय! बाहिरी विश्वलाई यो कुरामा निकै चासो छ, ग्याङ अफ फोरको अवस्था के छ? तपाईंलाई यस विषयमा केही भन्नु छ ?’

मलाई लागेको थियो, यो प्रश्नको उत्तर आउँदैन। तर, तङले गजबको उत्तर दिए। भने, ‘उनीहरू पूर्वाधार निर्माणका काम गरिहेका छन्। सायद दुई–तीन वर्ष लाग्छ कि!’

यो उत्तरपछि पत्रकार समाचार लेख्न दौडिए।

मलाई सबैभन्दा रमाइलो लागेको क्षण थियो– तङको नेपाल भ्रमण सम्पन्न भएको ७–८ महिनापछि म आईभीपी कार्यक्रमको निम्तोमा अमेरिका लागेँ। त्यतिबेला न्युयोर्कबाहिरको एउटा स्थानीय पत्रिकाको कार्यालय पुगेँ। पत्रिकाका सम्पादकलाई म नेपालबाट आएको भनेर परिचय मात्र के दिएको थिएँ, उनले पत्रिकाको ढड्डाबाट पुरानो अंक निकालिन् र भन्न थालिन्– ‘हेर त काठमाडौं डेटलाइनबाट पनि हामीले न्युज कभर गरेका छौं।’

यसो हेरेको समाचारमा त तङलाई मैले नै सोधेको प्रश्नमा उनले दिएको उत्तर रहेछ। मैले उनलाई प्रश्न गरेँ, ‘तपाईंलाई थाहा छ, चिनियाँ उपप्रधानमन्त्रीलाई यो प्रश्न कसले सोधेको थियो?’

उनले मुन्टो हल्लाउँदै ‘छैन’ भनिन्। मैले सगर्व भनेँ, ‘त्यो पत्रकार म नै हुँ ।’

उनी छक्क परिन् र एकछिनसम्म कौतूहलपूर्ण अनुहारले मलाई हेरिरहिन्। 

 (कृष्णप्रसाद सिग्द्यालसँग नवीन अर्यालले गरेको कुराकानीमा आधारित)