पत्रकारको टिपोट
देशमा ठूला राजनीतिक परिवर्तन भए तर, पाहान बस्तीको विकास उस्तै छ । त्यहाँका जनता अझै पनि चुनावमा आफ्नो मत मासु चिउरामा बेच्न बाध्य छन्।
२१ मंसिर २०७४ मा दोस्रो चरणअन्तर्गत आमनिर्वाचन हुँदै थियो। त्यसको रौनक अन्य जिल्लामा झैँ झापामा पनि नहुने कुरै भएन। नाकाबन्दीको समयमा भारतविरुद्ध लिएको अडानका कारण नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘हाइप’ बेग्लै थियो। ओली झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्दै थिए।
त्यो समय म झापाको पहिलो सामुदायिक रेडियो ‘रेडियो सरगम’ मा कार्यरत थिएँ। मेची नगरपालिका धुलाबारी चोकमा रहेको रेडियो झापा जिल्लाका चारआली, धुलाबारी, काकरभिट्टा, बाहुनडाँगी, शान्तिनगर, इलामको रोङ लगायत क्षेत्रमा ‘रेडियो सरगम’ राम्रो र धेरै सुनिन्थ्यो। लामो समयपश्चात् भएको स्थानीय तह निर्वाचन पूर्व र निर्वाचनपश्चात् पनि मिहिनेतका साथ हामीले कार्यक्रम गरेका थियौं। प्रदेश र प्रतिनिधिसभा निर्वाचन विशेष कार्यक्रम गर्ने तयारी भने हाम्रो थिएन।
मैले ठ्याक्कै दिन र बार भुलेँ। सहकर्मी प्रतीक न्यौपाने र म समाचार कक्षमा बसिरहेका थियौं। कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौला कार्यालयमा छिर्नुभयो। हामी आफ्नै धुनमा समाचारको काम गर्दै, गफ गर्दै बसिरहेका थियौं। रेडियोले जनताको मन जित्न समुदायकै मुद्दा उठाउनुपर्छ भन्ने ज्ञानेन्द्र सरले भन्नुभयो, “सबैतिर चुनाव लाग्यो। हाम्रो रेडियोलाई चुनाव लागेन। रिपोर्टिङ गर्नुपर्यो नि भाइहरू।”
समाचार कक्षको ढोकाबाटै त्यति भनिसकेपछि ज्ञानेन्द्र सर सरासर आफ्नो कक्षमा छिर्नुभयो। सहकर्मी प्रतीक सर र म रिपोर्टिङमा जाने निधो गर्यौं। उहाँ (ज्ञानेन्द्र सर)कै अल्वा बाइकमा हामी रिपोर्टिङका लागि बाहिर निस्किएका थियौं– मेचीपारिको बस्ती।
यो बस्ती झापा क्षेत्र नम्बर १ भित्र रहेको मेची नगरपालिका वडा नम्बर १५ मा पर्दछ। इँटाभट्टा चोकबाट दक्षिण लागेपश्चात् बस्ती पुगिन्छ। भारतसँग सीमा जोडिएको त्यो गाउँ विकासले पछाडि परेको छ। खोला तरेर पारि पुग्नलाई यहाँ पुल छैन। बर्खामा आफ्नै देशमा आउन पनि उनीहरूलाई या त भारतको बाटो भएर आउनुपर्दछ। नभए इँटाभट्टा, धुलाबारीजस्ता बजार आउन सम्भव छैन। हामीले त्यही बस्तीको रिपोर्ट लिएर आयौं र रेडियोमा बजायौं। अर्को दिन बिहान कार्यालय प्रवेश गर्दै कार्यकारी निर्देशक सरले ठट्यौली पारामा भन्नुभयो, “भाइहरूले मेचीपारिको बस्ती बाहेक रिपोर्टिङ गर्ने ठाउँ नै देखेनन्।”
सीआईएनमा बजेको त्यो रिपोर्ट
सहकर्मी प्रतीक सर र मैले सबै रिपोर्ट रेडियोमा बजाएनौं। एउटा रिपोर्ट तयार गरेर सामुदायिक रेडियोहरूको छाता संस्था सीआईएनमा पठायौं। म अलि स्वार्थी बन्दै मेरो एकल बाइलाइनमा ‘मासु–चिउरामा भोट बेचिन्छ’ भन्ने रिपोर्ट माथि पठाएँ।
उक्त रिपोर्ट हामीले मेचीपारिको बस्तीबाट लिएका थिएनौं। बस्तीबाट वारिपट्टि खोला तरेर आएपश्चात् दुई मानिस भेटिए। हामीले उनीहरूको बाइट लिने निर्णय गर्यौ। मैले प्रश्न सोध्न थाले। लेनोभो मोबाइलबाट प्रतीक सरले फोटो खिच्नु भएछ।
हामीले कुराकानी मेचीनगर–१५ ज्यामिरगढीका पाहान समुदायका मानिससँग गरेका थियौं। मेची खोलाको किनारमा १३ घर परिवारमा पाहान बस्तीको बसोबास छ। मैले रेकर्ड अन गर्दै सन्तोष पाहानलाई सोधे– चुनावमा भोट माग्न कत्तिका मान्छे आउँछन् ?
उहाँले जवाफ दिनुभयो, “चुनावमा भोट माग्न कोही आएका छैनन्, खै कहिले आउने हुन अब ।”
मेरो प्रतिप्रश्न थियो चुनाव कहिले हो थाहा छ ? जवाफ आयो, “खै थाहा छैन।”
उहाँले नै थप्नुभयो र भन्नुभयो, “चुनावको अगाडि आएर कुखुरा काट्छ। मासु–चिउरा खुवाउँछ। जसले खुवाउँछ, उसैलाई भोट हाल्ने।”
मैले यही प्रश्न सँगै रहेका उहाँको भाइलाई गरेँ। उहाँले पनि सोही आशयमा उत्तर दिनुभयो। मैले तुरुन्तै सोचेँ यो रिपोर्ट माथि सीआईएनमा पठाउँछु। अफिस आएँ र साँझ लेखेर मेल गरेँ।
त्यसको एक दिनपश्चात् सीआईएनबाट राजन रूचाल सरको फोन आएजस्तो लाग्छ। उहाँले रिपोर्ट राम्रो भएको र थप परिष्कृत गर्न सुझाव दिनुभयो। पाहान समुदायको पेसा, शैक्षिक स्तर, जनसंख्या लगायत विषय सोध्नुभयो। थाहा भएको जति भने र थपे। दुई जना बल्ल तल्ल भेटिए। यहाँभन्दा बढी बाइट थप्न सकिनँ।
राजन सरले रिपोर्ट एडिट गरेर पठाउनुभयो। मैले ‘भ्वाइस ओभर’ गरेर त्यसलाई पुनः सीआईएनमै पठाए। भोलिपल्ट बिहान रिपोर्ट बज्यो– मासु–चिउरामा भोट बिक्री हुन्छ।
त्यो रिपोर्ट कार्यकारी निर्देशक ज्ञानेन्द्र सरले सुन्नुभएछ। निर्वाचनको समयमा एंगल र इस्यु संवेदनशील थियो। सरकै नेतृत्वमा सञ्चालन हुने त्यसबेलाको ‘झापा टाइम्स’ अनलाइन लगायत विभिन्न मिडियामा उक्त समाचार हालियो। धेरथोर त्यो समाचारले प्रभाव पार्यो होला भन्ने मलाई अहिले पनि लाग्छ।
पाहान दाजुभाइले भनेजस्तै उनीहरूले अत्यावश्यक सेवा सुविधा पाउन सकेका थिएनन्। चिया बगान, खेती किसान, मुसा मारेर, मेची खोलामा गिट्टी चालेर र माछा मारेर जीवन निर्वाह गर्छौं भन्थे पाहान दाजुभाइ। चेतनाको स्तर कम भएकै कारण आफूहरूको गाउँमा विकासका योजना नआएको विलाश पाहानले स्विकार गरेका थिए। समुदायमा सामान्य अक्षर चिन्ने भेट्न पनि मुस्किल छ भनेर विशालले ८ वर्षअघि सुनाएका थिए।
२०७४ मा निर्वाचन सम्पन्न भएपश्चात् झापा छाडेर म काठमाडौं आएँ। त्यो रिपोर्टिङपश्चात् म पुनः त्यो बस्ती पुगेको छैन।
अहिले पाहान बस्तीमा के परिवर्तन भयो भन्ने मलाई ठ्याक्कै थाहा भएन। समाजका विपन्न र पछाडि परेका वर्ग, विकासको क्रियाकलापले हेपिएको समुदायको अहिलेको अवस्था कस्तो भयो होला भन्ने कौतूहल बेलाबखत जाग्छ। एकपटक पुनः परदेशिएका साथी प्रतीक सरसँगै उक्त स्थानमा पुगेर हेर्न मन छ।