काठमाडौं। जनमत पार्टीमा अध्यक्ष सिके राउत र उनका दाजु एवम् संगठन विभाग प्रमुख जयकान्त राउतको राजीनामा माग गरिएको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष अव्दुल खान‚ प्रवक्ता शरदसिंह यादवसहितका ६ जना नेताहरूले उनीहरूको राजीनामा माग गरेका हुन्।
जेन-जी विद्रोहको प्रभाव देखाउँदै पार्टीमा समग्र पार्टीको हित तथा राजनीतिक विश्वसनीयता र जनआस्थाको पुनः स्थापनाका लागि नेतृत्व परिवर्तन अपरिहार्य भएको उल्लेख गरिएको छ।
‘पार्टीका जिम्मेवार पदाधिकारीहरूको हैसियतले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके राउत) ज्यू र संगठन विभाग प्रमुख जयकान्त राउतज्यूले २४ घण्टाभित्र आफ्नो पदबाट स्वेच्छिक राजीनामा दिनुहुन हार्दिक अनुरोध गर्दछौं’‚ विज्ञप्तिमा लेखिएको छ‚ ‘तपाईंहरूद्वारा मार्गप्रशस्त गरिएमा पार्टीलाई थप सशक्त, लोकतान्त्रिक, जवाफदेही र जनउत्तरदायी संस्थामा रूपान्तरण गर्ने अभियानमा हामी सबै एकजुट भई लाग्ने प्रतिबद्धता व्यक्त गर्दछौं।’