काठमाडौँ
००:००:००
२९ पुष २०८२, मंगलवार

३ आश्विन २०८२
अ+
अ-

काठमाडौं। रुसी विदेशमन्त्री सर्गेई लाभरोभले अर्को हप्ता संयुक्त राष्ट्रसङ्घको महासभा छेउछाउमा अमेरिकी समकक्षी मार्को रुबियोसँग भेटवार्ता गर्ने रुसी प्रशासननिक केन्द्र क्रेमलिनले शुक्रबार जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको आक्रमण अन्त्यका लागि कुनै सम्झौता नगरेकोमा मस्को र रुसी नेता भ्लादिमिर पुटिनप्रति आक्रोश व्यक्त गरिरहेका समय दुई उच्च कुटनीतिज्ञबीच भेट वार्ता हुन लागेको हो ।

आफ्नो चुनावी अभियानमा राष्ट्रपति पदमा फर्किएपछि ट्रम्पले द्वन्द्व चाँडै अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए, तर पुटिनले युद्धविरामका लागि आफ्नो अडानबाट पछि नहटेपछि युद्धविराम हुन सकेको छैन ।

उनले मस्कोको सर्तमा शान्ति सम्झौता हुन नसकेमा लडाइँ जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। लाभरोभ र रुबियोले द्विपक्षीय र बहुपक्षीय दुवै विषयमा छलफल गर्नेछन् । “अहिलेसम्म कुनै विशेष एजेन्डा छैन, तर बैठकको योजना बनाइएको छ,” संयुक्त राष्ट्रसङ्घका लागि रुसी स्थायी प्रतिनिधि भासिली नेबेन्जियाले भने ।

रुस र युक्रेनबीच तीन चरणको वार्ताले सम्झौताको दिशामा कुनै प्रगति गरेको छैन। सन् २०२२ को फेब्रुअरीमा रुसले आक्रमण सुरु गरेयता दशौँ हजार व्यक्ति मारिएका छन् भने लाखौँ युक्रेनीहरूलाई देशको पूर्वी र दक्षिणमा रहेको आफ्नो घरबाट विस्थापित भएका छन् ।

पुटिनले आफूलाई ‘वास्तवमै निराश पारेको’ राष्ट्रपति ट्रम्पले बिहीबार बताएका थिए। उनले क्रेमलिनलाई वार्षिक दशौँ अर्ब डलर प्रदान गर्ने रुसी तेल खरिद नगरी वार्ताका लागि दबाव दिन सहयोगी मुलुकहरूलाई आग्रह गरेका छन् ।