काठमाडौँ। लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार लगातार पाँचौं जित निकालेको छ। उसले एनफिल्डमा भएको मर्सिसाइड डर्बीमा एभरटनलाई २–१ ले हरायो।
शनिबार राति भएको मर्सीसाइड डर्बीमा लिभरपुलले एभरटनलाई २-१ ले हराएको हो। लिभरपुलले पहिलो हाफमै दुई गोलको अग्रता लिएको थियो। रायन ग्राभनबर्कले मोहम्मद सालाहको पासमा १० औं मिनेटमा गोल गरे भने ३० औं मिनेटमा ह्युगो एकिटिकेले दोस्रो गोल थपे।
दोस्रो हाफमा एभरटनका इड्रिसा गाना गुएले गोल फर्काए पनि बराबरी गर्न नसक्दा लिभरपुल १५ अंकसहित शीर्ष स्थानमै रह्यो। समान खेलबाट एभरटन ७ अंकसहित सातौं स्थानमा छ।
प्रिमियर लिगमा आजै ६ खेल पनि हुँदैछ । जसमा म्यानचेष्टर युनाइटेड र चेल्सीबीच पनि प्रतिस्पर्धा हुँदैछ।