काठमाडौँ। चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा शुक्रबारदेखि निरन्तर खसेको पहिरो हटाएपछि नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ।
विभागका प्रवक्ता प्रभातकुमार झाले पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणघाट सडकखण्ड सञ्चालनमा आएको जानकारी दिए। सडक विभागले तुइन खोलामा खसेको पहिरो हटाएको हो। सडक अवरुद्ध भएपछि ४० घण्टाभन्दा बढी समयदेखि मुग्लिन–नारायणघाट सडकखण्डमा हजारौँ यात्रु अलपत्र परेका थिए।
विभागका अनुसार पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी, रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग) लगायतका राजमार्ग भने पूर्ण रूपमा अवरुद्ध छन्। एक सय ६८ राजमार्ग भने एकतर्फी सञ्चालनमा आएको विभागले जनाएको छ।