काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

जेन-जी आन्दोलन

जेन-जी आन्दोलनले पुरानो पुस्ताको निराशा र अनिर्णय तोड्दै व्यावहारिक, आत्मनिर्भर र दिगो विकासतर्फ युवा दृष्टिकोण पनि प्रस्तुत गरेको छ।

६ आश्विन २०८२
अ+
अ-

२३ र २४ भदौमा देशका विभिन्न सहरमा नयाँ पुस्ता जेन-जीले आह्वान गरेको आन्दोलनले केवल सामाजिक सञ्जाल बन्दको तत्कालीन असन्तुष्टि पोखेन, देशकै राजनीतिक, सामाजिक र आर्थिक संरचनामा जरो गाडेका बेथितिहरू पनि उजागर गर्‍यो।

जेन-जी आन्दोलनलाई असन्तोष वा विद्रोहको स्वरूपमा मात्र बुझ्नुभन्दा यसले ल्याएका सकारात्मक अर्थराजनीतिक प्रभावहरूलाई मूल्यांकन गर्नु आवश्यक छ। विशेष गरी आत्मनिर्भरता, समावेशी विकास, सुशासन, पारदर्शिता र राजनीतिक स्थिरताको वकालत गर्दै युवा पुस्ताले दिएको सन्देशले दीर्घकालीन परिवर्तनका लागि मार्ग प्रशस्त गरेको छ।

सबैभन्दा पहिलो यो आन्दोलनले नेता तथा कर्मचारीहरूमा सदाचार, पारदर्शिता र जवाफदेहीसहितको सुशासनयुक्त राजनीतिक संस्कृतिलाई संस्थागत गर्न स्पष्ट सन्देश दिएको छ। नवीनतम सोचसहितको जेन-जी सामाजिक सञ्जाल र डिजिटल प्रविधिमार्फत भ्रष्टाचार, गैरजवाफदेही र अपारदर्शी प्रक्रियाका साथै सत्ता र शक्तिमा हुनेहरूको रवाफ र भड्किलो जीवनशैलीविरुद्ध आवाज उठाएका हुन्। यसले नेता तथा कर्मचारी मात्र नभएर सरकारी निकाय र राजनीतिक आबद्धताको आडमा नाजायज फाइदा लिने निजी क्षेत्र दुवैलाई उत्तरदायी र पारदर्शी बन्न प्रेरित गर्नेछ।

पारदर्शी नीति, सदाचारी राजनीति तथा प्रशासन र जवाफदेहीको अभ्यासले मात्र दिगो र समावेशी आर्थिक विकास सम्भव हुन्छ। यो लेख जेन-जी आन्दोलनका क्रममा तोडफोड तथा विनाश भएका भौतिक सम्पत्ति तथा संरचनाको निर्माण तथा पुनर्निर्माणलाई कसरी महँगो, भड्किलो र अनियमितताको स्रोत बन्नबाट जोगाएर सरल, सहज, मौलिक र आत्मनिर्भर अर्थतन्त्रको आधार बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित छ।

पहिलो : जेन-जी आन्दोलनको एक महत्त्वपूर्ण सन्देश आर्थिक आत्मनिर्भरता र स्वदेशी उत्पादनको उपयोगप्रतिको प्राथमिकता छ। किनभने विदेशी लगानी तथा सहयोगमा सञ्चालित ठूला निर्माण तथा पुनर्निर्माणका आयोजना तथा कार्यक्रमसँग भ्रष्ट्राचार र कुशासनको गहिरो सम्बन्ध छ। यसबाट आन्दोलनमा क्षति भएका सम्पत्ति तथा संरचना निर्माणको नाममा पुनः अर्को भ्रष्ट्राचार काण्ड नमच्चिएला भन्न सकिने अवस्था छैन।

तसर्थ जेन-जीको आन्दोलनले विदेशी ऋणविनाको निर्माण तथा पुनर्निर्माणमा नेपालले स्वदेशी स्रोत र सीप प्रयोग गरेर विकासको वैकल्पिक बाटो खोज्ने सम्भावनासमेत देखाएको छ। यसले स्थानीय उद्योग, घरेलु उत्पादन र मूल्य शृंखलाको प्रवर्द्धनमा बल पुर्‍याउँछ भने निजी क्षेत्रले सञ्चालन गरेका ‘मेक इन नेपाल’ र स्वदेशी जस्ता अभियानसँग जोडेमा आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ कदम चाल्न प्रोत्साहन मिल्न सक्छ।

दोस्रो : यस आन्दोलनले युवा शक्ति र सीपको प्रयोगमा नवीनतालाई उजागर गरेको छ। नेपालका लाखौँ युवा बेरोजगारी वा वैदेशिक रोजगारीमा निर्भर छन्। आन्दोलनले देखाएको ऊर्जा र जिम्मेवारीबोधलाई पुनर्निर्माण र समावेशी विकासतर्फ मोड्न सकियो भने युवाले उत्पादनशील क्षेत्रमा प्रत्यक्ष योगदान पुर्‍याउन सक्छन्। यसले रोजगार सिर्जना, सीप उपयोग र नवप्रवर्तनलाई प्रोत्साहित गर्छ।

जेन-जी आन्दोलनका क्रममा नयाँ बानेश्वरमा प्रदर्शनकारी। तस्बिर : बिक्रम राई/नेपालन्युज

जेन-जी आन्दोलनको अर्को अर्थराजनीतिक पक्ष भनेको सामाजिक न्याय र समावेशीकरणप्रतिको जोड हो। आन्दोलनमा विभिन्न पृष्ठभूमिका युवाले सहभागिता जनाउनुले देश विकासलाई केवल केन्द्र वा विशेष वर्गमा सीमित नराखी सबै समुदायले साझा जिम्मेवारी र लाभ पाउने व्यवस्था गर्नुपर्ने सन्देश दिन्छ। निर्माण, पुनर्निर्माणमा महिला, दलित, आदिवासी, मधेशी र सीमान्तीकृत समूहलाई सहभागी गराउँदा सामाजिक समावेशीकरणसँगै ती समुदायमा आर्थिक लाभको उचित वितरण सम्भव हुन्छ।

तेस्रो : यस आन्दोलनले स्थानीय परिवेश सुहाउँदो प्रकृतिमा आधारित समाधानसहितको हरित र दिगो विकासको आवश्यकतालाई समेत बल दिएको छ। सिंहदरबारलगायत क्षति भएका संरचना निर्माण तथा पुनर्निर्माणमा प्रकृतिअनुकूल पुनर्निर्माण, पुराना तथा स्थानीय सामग्रीको पुनःप्रयोग, अपसाइक्लिङ र नवीकरणीय ऊर्जाको प्रयोगलाई प्राथमिकतामा राख्न सके वातावरणीय जिम्मेवारीलाई विकाससँग जोड्नुका साथै जलवायु अनुकूलन र दीर्घकालीन टिकाउपनमा योगदान पुर्‍याउँछ।

यस आन्दोलनले राजनीतिक र आर्थिक विमर्शलाई नयाँ ढाँचामा अघि बढाएको छ। यसले पुरानो पुस्ताको निराशा र अनिर्णयतालाई तोड्दै व्यावहारिक, आत्मनिर्भर र दिगो विकासतर्फ युवा दृष्टिकोण प्रस्तुत गरेको छ। आन्दोलनले देखाएको सकारात्मक ऊर्जा र चेतनालाई संस्थागत गर्न सकियो भने, नेपालले आफ्नै स्रोत र सीपमा आधारित हरित उत्थानशील अर्थतन्त्र निर्माण गर्न सक्ने सम्भावना प्रस्ट देखिन्छ।

निजी क्षेत्रको विश्वास

आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्ति, भौतिक धरोहर र संरचनामा क्षति पुगेको छ। अबको जिम्मेवारी केवल नष्ट भएका भवन वा सम्पत्तिलाई यथास्थानमा फर्काउने होइन, यस अवसरलाई दीर्घकालीन रूपान्तरणको माध्यम बनाउनुपर्छ। यस्तो रूपान्तरण हरित, उत्थानशील र समावेशी विकासको अवधारणामा आधारित हुनुपर्छ, जसले विदेशी दातृनिकायको ऋणविना नै स्थानीय स्रोत, उत्पादन र जनशक्तिलाई सक्रिय पारेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने बाटो खोल्छ।

पुनर्निर्माणलाई रोजगारी सिर्जना र सीप विकाससँग जोड्न सकिन्छ। नेपालका युवा, विशेष गरी हालैको आन्दोलनमा सक्रिय जेन-जी, ऊर्जावान् र नवीन सोचले भरिपूर्ण छन्।

हाम्रो वास्तुकला सौन्दर्यको प्रतीक मात्र होइन, यो जलवायुअनुकूल र भूकम्पप्रतिरोधी परम्परागत ज्ञान-भण्डार हो। ढुंगा, माटो, चुन, इँटा र काठको सन्तुलित प्रयोगले शताब्दीऔँदेखि संरचना टिकाइराखेको छ। पुनर्निर्माणमा यिनै मौलिक शिल्प प्राथमिकतामा राखिए सांस्कृतिक पहिचान सुरक्षित हुने मात्र होइन, विदेशी प्रविधिमा निर्भरता पनि घट्छ। यसका लागि स्थानीय शिल्पकार, कारिगर र अभियन्तालाई सक्रिय पार्नु आवश्यक छ। उनीहरूको सीप र अनुभवलाई नयाँ पुस्ताको प्रविधि र सिर्जनशीलतासँग जोड्दा पुनर्निर्माण केवल क्षतिपूर्तिको काम नभई नवप्रवर्तनशील अभ्याससमेत बन्न सक्छ।

यस प्रक्रियामा स्थानीय उत्पादन र कच्चा पदार्थको उपयोगले विशेष महत्त्व राख्छ। विदेशी आयातमा निर्भर रहँदा लागत बढ्छ र स्थानीय अर्थतन्त्र कमजोर हुन्छ। त्यसैले पुनर्निर्माणलाई स्थानीय इँटा उद्योग, ढुंगा खानी, बाँस उत्पादन, माटो प्रविधि र काठ उद्योगसँग जोड्न सकिन्छ। छानामा हरित बगैँचा, वर्षा पानी संकलन प्रणाली र अपसाइक्लिङ प्रविधिले संरचनालाई अझ वातावरणअनुकूल बनाउँछन्। यसरी पुनर्निर्माणले स्थानीय उद्योगलाई प्रोत्साहन दिनुका साथै पर्यावरण संरक्षणमा पनि योगदान पुर्‍याउँछ।

पुनर्निर्माणलाई रोजगारी सिर्जना र सीप विकाससँग जोड्न सकिन्छ। नेपालका युवा, विशेष गरी हालैको आन्दोलनमा सक्रिय जेन-जी, ऊर्जावान् र नवीन सोचले भरिपूर्ण छन्। उनीहरूको प्रतिबद्धता र उत्साहलाई पुनर्निर्माण प्रक्रियामा उपयोग गर्न सकिन्छ। हरित प्रविधि, वातावरणमैत्री वास्तुकला, पुनःचक्रण प्रविधि र सहकारी व्यवस्थापनमा तालिम दिँदा रोजगारी सिर्जना मात्र हुँदैन, दीर्घकालीन आर्थिक रूपान्तरण पनि सम्भव हुन्छ। पुनःचक्रण र अपसाइक्लिङ प्रविधि प्रयोग गरेर आगलागीबाट उत्पन्न फोहोरलाई मूल्यवान् स्रोतमा रूपान्तरण गर्न सकिन्छ। साथै, खुला स्थान, पार्क र सामुदायिक खेलमैदानलाई पुनर्निर्माणमा समावेश गर्दा सामाजिक सम्बन्ध मजबुत हुन्छ।

विशेष गरी जेन-जीलाई हरित निर्माण प्रविधि, अपसाइक्लिङ, नवउद्यम व्यवस्थापन र सामाजिक उद्यममा संलग्न गरिँदा आन्तरिक मूल्य शृंखला दीर्घकालीन रूपमा बलियो बन्न सक्छ।

हाम्रा विगतका विकास योजनाहरू प्रायः विदेशी ऋणमा भर पर्नुपर्ने बाध्यतासहित अघि बढाइएका छन्। तर, यसपटकको पुनर्निर्माणलाई विदेशी ऋणविना स्थानीय स्रोत र सामुदायिक योगदानमार्फत सम्भव बनाउन सकिन्छ। सरकारले खर्चप्रणाली सुधार गरेर स्रोत जुटाउन सक्छ भने समुदायले श्रमदान र सहकारी लगानीमार्फत योगदान दिन सक्छ। स्थानीय बजारलाई प्राथमिकता दिँदा निर्माण सामग्री, साना उद्यम र सीपयुक्त श्रमिकलाई सीधा लाभ पुग्छ। यसरी पुनर्निर्माण आत्मनिर्भर र रोजगारीमुखी बन्न सक्छ।

यस प्रक्रियामा सबै समुदायको समान सहभागिता सुनिश्चित गर्नु पनि उत्तिकै आवश्यक छ। महिलालाई सीप विकास र निर्णय प्रक्रियामा अग्रणी भूमिका दिनुपर्छ। दलित, आदिवासी, सीमान्तीकृत र पिछडिएको वर्गलाई रोजगारी र उद्यम अवसरमा प्राथमिकता दिन सकिन्छ। यस्तो समावेशी दृष्टिकोणले पुनर्निर्माणलाई सामाजिक न्याय र समान अवसरको अभ्यासमा रूपान्तरण गर्छ।

मूल्य शृंखलाको सबलीकरण

सरकारका पछिल्ला घटनाक्रमले क्षतिग्रस्त संरचना, सम्पत्ति र पूर्वाधारहरूको पुनर्निर्माणलाई राष्ट्रिय प्राथमिकताको विषय बनाएको छ। तर, पुनर्निर्माणलाई विद्यमान स्रोत, सीप र उद्योगसँग जोड्न सकियो भने यसले आन्तरिक मूल्य शृंखलालाई मजबुतीको अवसर प्रदान गर्छ।

मूल्य शृंखला भन्नाले कुनै उत्पादन वा सेवाले कच्चा पदार्थदेखि उपभोक्तासम्म पुग्दा हुने सम्पूर्ण चरणलाई जनाउँछ। हाम्रोजस्तो आयातमुखी अर्थतन्त्रमा धेरै मूल्य शृंखला अपूर्ण र असुरक्षित छन्। पुनर्निर्माणलाई स्थानीय सामग्री र सेवासँग जोड्दा यी शृंखलाहरूलाई आन्तरिक रूपमा पुनर्गठन गर्न सकिन्छ। उदाहरणका लागि, इँटा, ढुंगा, काठ, सिमेन्टजस्ता निर्माण सामग्रीको माग पुनर्निर्माणका कारण तीव्र रूपमा बढ्छ। यदि यो माग स्थानीय उद्योगबाट पूरा गरियो भने, कच्चा पदार्थ आपूर्ति, उत्पादन, यातायात, वितरण र श्रमिक रोजगारीसम्म सबै चरणमा मूल्य सिर्जना हुन्छ। यसले केवल उद्योग मात्र होइन, सहायक साना उद्यम र परिवहनजस्ता क्षेत्रलाई समेत लाभ पुर्‍याउँछ।

पुनर्निर्माणले हरित प्रविधि र वातावरणअनुकूल उत्पादनहरूलाई पनि प्रोत्साहन दिन सक्छ। स्थानीय स्तरमा बाँस, माटो, ढुंगा र चुन प्रयोग गरेर ऊर्जा-किफायती संरचना निर्माण गर्दा नवीकरणीय स्रोतमा आधारित नयाँ मूल्य शृंखलाहरू विकास हुन्छन्। जलविद्युत्, वर्षा पानी संकलन प्रणाली वा पुनःचक्रण सामग्रीको प्रयोगले घरेलु उद्योगलाई मागको स्थायी आधार दिन्छ।

आन्तरिक मूल्य शृंखलाको सबलीकरणमा युवाशक्ति र सीप विकासको भूमिका पनि महत्त्वपूर्ण हुन्छ। पुनर्निर्माणका क्रममा आवश्यक प्राविधिक, शिल्प र दक्षतासँग सम्बन्धी तालिम दिन सकियो भने युवाहरू उत्पादनदेखि वितरणसम्मका चरणमा सक्रिय सहभागी हुन सक्छन्। यसले एकातिर बेरोजगारी कम गर्छ भने अर्कातिर नयाँ उद्यम र नवप्रवर्तनलाई प्रोत्साहित गर्छ। विशेष गरी जेन-जीलाई हरित निर्माण प्रविधि, अपसाइक्लिङ, नवउद्यम व्यवस्थापन र सामाजिक उद्यममा संलग्न गरिँदा आन्तरिक मूल्य शृंखला दीर्घकालीन रूपमा बलियो बन्न सक्छ।

निर्माण र पुनर्निर्माणलाई ‘स्वदेशी’ र ‘मेक इन नेपाल’ जस्ता अभियानसँग जोड्दा मूल्य शृंखला अझ आन्तरिकीकृत हुन्छ। अभियानअन्तर्गत उत्पादन भएका सामग्री र सेवाको प्रयोगले घरेलु उद्योगलाई प्रत्यक्ष बजार दिन्छ। यसले उत्पादन, लगानी, वितरण र उपभोगसम्मको सम्पूर्ण प्रक्रियालाई नवीन अवधारणामा आधारित मूल्य शृंखलामा परिणत गर्छ। स्थानीय उत्पादन र सीपलाई प्राथमिकता दिँदा उद्योग, सेवा र श्रम बजारमा गुणात्मक परिवर्तन सम्भव हुन्छ। यसले आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ कदम चाल्छ, रोजगारी सिर्जना गर्छ र दीर्घकालीन विकासलाई दिगो तुल्याउन सहयोग पुर्‍याउँछ।

– अर्थशास्त्री गैरे नेपालको बैंकिङ प्रणाली, सार्वजनिक वित्त व्यवस्थापन, जलवायु वित्त तथा स्थानीय आर्थिक अधिकारका विषयमा जानकार छन्।