काठमाडौं। फिलिपिन्समा भ्रष्टाचारविरुद्ध भएको प्रदर्शन हिंसात्मक बन्दै गएपछि प्रहरी र प्रदर्शनकारीबीच भीषण झडप भएको छ।
सांसद, सरकारी अधिकारी र व्यवसायी संलग्न भनिएको बाढी नियन्त्रण परियोजनामा घुस प्रकरण सार्वजनिक भएपछि राजधानी मनिलामा हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका थिए। मास्क लगाएका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो।
झडपका क्रममा २ सयभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् भने १ सय ३१ जना प्रहरी घाइते भएका छन्। केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।
सञ्चारमाध्यमले धनाढ्य दम्पत्ति सारा र प्यासिफो डिस्कायाले प्रदर्शनकारीको आक्रोशलाई थप उकासेको बताएका छन्। उनीहरूले करोडौं मूल्यका लक्जरी कारहरू सार्वजनिक गर्दै घमण्ड गरेका दृश्य भाइरल भएपछि प्रदर्शन उग्र बनेको हो।