काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

७३ वर्षमा संशोधन–मण्डल

संशोधन–मण्डलका सारथिद्वय महेशराज र दिनेशराज पन्तलाई आफ्नोभन्दा बढी चिन्ता छ, यहाँ संगृहीत ऐतिहासिक सामग्री र पुस्तकालयको

७ आश्विन २०८२
ऐतिहासिक महेशराज पन्त। तस्बिर : बिक्रम राई/नेपालन्युज
अ+
अ-

‘इतिहासकारहरूको असावधानीले छोरा बाबु, बाबु छोरा भएर कान्तिपुरे मल्लराजाहरूको वंशमा गडबडी हुँदा त्यस भ्रमको प्रमाणसहित निराकरण।”

२००९ सालमा प्रकाशित संशोधन–मण्डलको पहिलो ‘इतिहास संशोधन’ पर्चाको शीर्षक हो यो।

यो शुद्धिपत्र प्रकाशन भएको वर्ष आठ वर्षका भए पनि महेशराज पन्तलाई त्यो क्षणको स्पष्ट सम्झना छ। “त्यसबेला हामी महाबौद्धमा बस्थ्यौँ। पर्चाको पहिलो अङ्‌क सरस्वती प्रेसमा छापिएको थियो,” उनी सम्झन्छन्, “५ असोज २००९ सालको त्यो दिन घटस्थापना परेको थियो। यसपटक ६ असोजमा घटस्थापना पर्‍यो।”

संशोधन–मण्डलको पृष्ठभूमि महेशराजका बुवा इतिहासविद् नयराज पन्तले १९९७ सालमा स्थापना गरेको पाठशालासँग जोडिन्छ। बनारसमा अध्ययन गरेर फर्केका नयराज नेपालको तात्कालिक शिक्षा पद्धतिप्रति असन्तुष्ट थिए। उनले तत्कालीन शैक्षिक परम्परामा बौद्धिक हस्तक्षेप गर्ने उद्देश्यले १९९७ सालमा पाठशाला स्थापना गरे।

बौद्धिक जागरण/पुनर्जागरण ल्याउने उद्देश्य लिएका नयराज शैक्षिक प्रमाणपत्र पाएको भरमा कोही सधैँ विद्वान् नहुने, यसका लागि निरन्तर अध्ययन, शोध, अन्वेषण र शास्त्रार्थमा सक्रिय भइराख्नुपर्ने मान्यता राख्थे।

नेपालको इतिहासका विवरण दुरुस्त बुझ्न वा उतार्न संस्कृत भाषा र प्राचीन लिपिमा दखल हुनु अनिवार्य भएकाले उनले आफ्ना विद्यार्थीलाई यही विषयमा दक्ष बनाउन जोड दिए।

मुलुकमा प्रजातन्त्र आएपछि २००९ सालदेखि छोटापर्चाहरू प्रकाशन गर्दै ऐतिहासिकहरूका तथ्यगत गल्ती औँल्याउन थाले। यस अभियानले देशीविदेशी सबै ऐतिहासिकका त्रुटिमा प्रश्न उठाउन सुरु गर्‍यो।

संशोधन–मण्डलको औपचारिक दर्ता भने २०१८ सालमा भयो। पर्चा प्रकाशन हुँदै अघि बढेको संशोधन–मण्डलले हालसम्म प्रामाणिक इतिहास लेखनलाई प्रवर्द्धन गर्ने ६० किताब प्रकाशन गरिसकेको छ। यसबाहेक त्रैमासिक जर्नल पूर्णिमाको प्रकाशन पनि गर्छ।

नयराजको नेतृत्वमा सुरु भएको संशोधन–मण्डलको बिरासत हाल उनका इतिहासविद् पुत्रद्वय महेशराज पन्त र दिनेशराज पन्तले सम्हालेका छन्।

महेशराजको डल्लु आवासस्थित निजी घरमै संशोधन–मण्डलको पुस्तकालय छ। पुस्तकालयमा १५ हजार प्रकाशित किताब, ४५ सयभन्दा बढी हस्तलिखित सामग्री, चार हजार थान तस्बिरलगायत कैयौँ लालमोहर, ताडपत्रसमेत सङ्‌कलित छन्।

महेशराज पन्त। तस्बिर : बिक्रम राई/नेपालन्युज

ऐतिहासिक सामग्री सङ्‌कलनको काम नयराजका ६ पुस्ताअघिका लक्ष्मीपति पाँडेबाट भएको महेशराज बताउँछन्। उनका अनुसार नयराजका बुवाका आमातर्फका बाजेबराजुहरू ज्योतिष विद्यामा पारङ्‌गत थिए। तीमध्ये ६ पुस्ताअघिका, नयराजका आमाको बराजुका बुवा लक्ष्मीपति पाँडेको विशाल सङ्‌ग्रह थियो। करिब ४० वटा ग्रन्थसमेत रचना गरेका उनको सङ्‌कलनको ३६ खण्डको एक खण्ड नयराजका हजुरबुवा भुवननाथको हातमा आयो। २००० सालमा ८० वर्षको उमेरमा मृत्यु हुनुअघि भुवननाथले ती सामग्री नयराजलाई सुम्पे।

महेशराजका अनुसार लक्ष्मीपति बहादुर शाहको पालाका ठूला ज्योतिषी थिए। उनले घामबाट समय पत्ता लगाउने सनडायल (धूप घडी) समेत बनाएका थिए।

“बुवाले आफैँ सङ्ग्रह गर्नुभएको अलिकति किताब र पछि मैले थपेका किताबहरू जोडिँदै जोडिँदै यसरी पुस्तकालय विकसित भएको हो,” महेशराज भन्छन्।

इतिहासको शोध, संशोधन र पुनरुत्पादनको कार्यमा बुवाको विरासत धानेका विद्वान् महेशराजले आजीवन संशोधन–मण्डललाई बचाइराखे। उमेरले तला थप्दै गएपछि भने उनले हिसाब गर्न थालेका छन्, “म ८१ पुगेँ, बुवाकै उमेर बाँचे भने अब आठ वर्ष मात्र बाँकी छ। यो सबै सङ्‌कलन कसरी, कहाँ थान्को लगाउने? अचेल मेरो दिमागमा सबैभन्दा खेलेको कुरा यही हो।”

संशोधन–मण्डलको इतिहास संशोधन अभियान, पुस्तकालय र प्रकाशनको निरन्तरतालाई पन्तद्वय दाजुभाइले जगेर्ना गर्दा यसले बौद्धिक क्षेत्रमा ठूलो योगदान गरेको छ। इतिहासका तथ्यहरू उजागर गर्न पन्तद्वय दाजुभाइले दर्जनौँ लेख र पुस्तक लेखेका छन्। तर उनीहरूको शेषपछि यसको संरक्षण र निरन्तरतामा अवरोध आउनेमा महेशराज स्वयंमा कुनै द्विविधा नहुनु इतिहास र प्राज्ञिक कर्ममा रुचि राख्ने जोकोहीका लागि दुःखको विषय हो।

“पिताजीको बिरासत धान्ने जिम्मा र हाम्रो कार्यक्षेत्र पनि यही भयो। हाम्रा लागि त श्राद्ध गरेजस्तो भयो। तर कोसिस गर्दा पनि भावी पुस्ता तयार गर्न सकिएन,” उनी भन्छन्, “संशोधन–मण्डलको सङ्‌कलन यो वा अर्को हिसाबले बाँच्ला। तर हामी प्रामाणिक इतिहास लेख्नेहरूको इतिहास भने हामी दाजुभाइको शेषपछि सकिएला कि भन्ने जोखिम छ।”

नयराजको पाठशालामा ४१/४२ जनाले शिक्षा लिएका थिए। तीमध्ये कसैले एक, कसैले चार त कसैले आठ वर्ष पढे। शुद्धिपत्र छापेरै सक्रिय हुने २१ जना थिए। तर एकपछि अर्कोले छोड्दै गए। २१ जनामा दिनेशराज नै सबैभन्दा कान्छा सदस्य हुन्। बाँच्नेहरूमा पनि अब त सबैभन्दा कान्छा उनी ७६ वर्ष पुगिसके।

तीमध्ये नयनाथ पौडेल, गौतमवज्र वज्राचार्य, महेश्वर जुजु र पन्त दाजुभाइ गरी जम्मा पाँच जना जीवित छन्। तर, इतिहास लेखनमा नयराजकै पथमा अडिग पन्त दाजुभाइ मात्रै हुन्।

महेशराज भन्छन्, “सबैजसो भौतिक उन्नतिमा लागेको बेला आफ्नो खल्तीको पैसा हालेर यस्तो काम कसले गर्छ? एकातिर कठोर साधना गर्नुपर्ने, अर्कातिर आर्थिक लाभ नहुनु नै संशोधन–मण्डलका सदस्यहरू नटिक्ने मुख्य कारण हो।”

महेशराजलाई धेरैले सोध्छन्, “तपाईंहरूपछि को छ?”

उनी आफैँलाई पनि सोध्छन्– हामीपछि को त?

दुवै प्रश्नको जवाफमा ‘कोही छैन’ भन्ने उत्तर दिने उनी नै हुन्छन्।

त्यसो भए संशोधन–मण्डल असफल भएकै हो त? “संशोधन मण्डल सफल भएको भए अहिले त्रिभुवन विश्वविद्यालयको इतिहास, संस्कृति, नेपाली, गणितजस्ता विषयको अध्यापन पूरै बन्द हुन्थ्यो। र, उनीहरू विश्वस्तरमा प्रतिस्पर्धा गर्ने विद्वान् बन्थे,” उनको जवाफ छ।

महेशराज संशोधन–मण्डलको सीमा स्विकार्न हिचकिचाउँदैनन्। “हाम्रो घेरा सानो भयो, मान्छे थोरै भए। तर, पिताजीको परिकल्पना सानो थिएन। शिक्षामै क्रान्ति गर्नुभएको हो। उहाँको अभियान इतिहासमा मात्र सीमित थिएन। हामीले जति काम गर्‍यौँ, प्रामाणिक गर्‍यौँ।”

संशोधन–मण्डल असफल भएको स्विकारे पनि उनीसँग गर्वलायक कुरा प्रशस्त छन्। उनी भन्छन्, “मासंगल्लीको पाठशालाको सुकुलमा घुँडा धसेर पढेका धनवज्र र ज्ञानमणिजस्ता विद्वान् युरोप, अमेरिकाका धेरै इतिहासकारभन्दा माथि छन्। इतिहासको क्षेत्रमा संशोधन–मण्डलका ती विद्वान्‌सँग धेरैको तुलना हुन सक्दैन।”