काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

तातोपानी र रसुवागढी नाका अवरुद्ध हुँदा कोरलाबाट थालियो नेपाल–चीन व्यापार

७ आश्विन २०८२
कोरला नाका हुँदै भित्रिएका इलेक्ट्रिक कार। तस्बिर : सुन्दरकुमार थकाली/रासस
अ+
अ-

सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी सीमानाका अवरुद्ध भएपछि चीनसँग व्यापारका लागि नयाँ नाका कोरला सञ्चालनमा आएको छ। चीनको तिब्बत र मुस्ताङको लोमान्थाङ गाउँपालिकाको सिमानामा पर्ने कोरला नाका पहिलोपटक व्यावसायिक रूपमा सञ्चालनमा आएको हो।

मुस्ताङको यो नाका नेपाल–चीन सीमा क्षेत्रको मुख्य द्वार कोरलाभन्दा १४ किलोमिटरयता (नेपालतर्फ) रहेको नेचुङ भन्ने ठाउँमा भन्सार कार्यालय राखेर जाँचपासको काम भइरहेको छ। सोही ठाउँमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलको कार्यालय छ। चार कोठाको भवनलाई भन्सार कार्यालय बनाइएको छ। नेचुङमा भन्सार जाँचपासको काम भए पनि चीनबाट सामान भित्रिने चाहिँ कोरला नाका भएरै हो।

१४ असारमा आएको बाढीले रसुवास्थित नेपाल–चीन जोड्न पुल बगायो। सामान लोड गरेर टिमुरेस्थित सुक्खा बन्दरगाहमा पार्किङ गरिएका सयौँ कन्टेनर बाढीको भेलमा मिसियो। भन्सार कार्यालय तहसनहस भयो। त्यसयता उक्त नाका भएर हुने नेपाल–चीनको व्यापार ठप्प छ।

चीनसँग व्यापारको पुरानो र चर्चित नाका सिन्धुपाल्चोकको तातोपानी हो। उक्त नाका हुँदै चीनसँग हुने व्यापार एक दशकयता सुस्ताएको छ। २०७१ सालको जुरे पहिरो, २०७२ सालको भूकम्प र २०७७ को भोटेकोसी बाढीका कारण तातोपानी नाका धेरैजसो समय बन्द रह्यो। तातोपानी हुँदै गर्माएको आयात–निर्यात सेलाएको छ। भोटेकोसीमा आउने बाढीले कहिले पुल त कहिले सडक बगाउने, पहिरोले सडक छेक्ने कारण तातोपानी नाका निरन्तर चल्तीमा छैन। त्यसको विकल्पका रूपमा उदाएको थियो- रसुवागढी।

काठमाडौँबाट तातोपानीको तुलनामा रसुवागढी केही टाढा भए पनि उक्त नाकाबाट साना तथा मझौला व्यापारीहरूले सामान आयात-निर्यात गरेर व्यापार धानिरहेका थिए। तर, भीषण बाढीयता यो नाका प्रयोग गर्नै नसकिने अवस्थामा पुगेको छ। बाढीले बगाएको पूर्वाधार निर्माणको काम चिनियाँ पक्षले थालेको छ। सरकारले नेपालतर्फको पनि पूर्वाधार बनाइदिन भन्दै चिनियाँ पक्षलाई आग्रह गरिरहेको छ।

अब कोरला नाका हुँदै सामान आयात गर्न नेपाली व्यवसायीहरूले बैंकमार्फत एलसी खोल्न पाउने भएका छन्। तर, बैंकिङ कारोबारका लागि कुनै पनि बैंकको शाखा भन्सार कार्यालय परिसरमा छैन।

तातोपानी हुँदै सामान आयात गर्दा बढीमा १० दिनमा काठमाडौँ आइपुग्छ। त्यही सामान समुद्री मार्ग हुँदै वीरगन्ज भन्सारबाट ल्याउँदा ४० दिन लाग्छ। केरुङ–रसुवागढीबाट ल्याउँदा २० दिनदेखि एक महिना लाग्छ। सामान ल्याउन जति धेरै समय लाग्यो, ढुवानी खर्च त्यति नै बढ्छ।

छोटो समयमा सामान ल्याउन सकिने भएकाले धेरैजसो व्यवसायीले तातोपानी नाका रोज्ने गरेका थिए। त्यसको विकल्पमा केरुङ–रसुवागढी थियो। चीनसँगको दुई व्यापारिक नाका चाडबाडको सम्मुखमा बन्द भएपछि व्यापारीहरूकै पहलमा मुस्ताङको कोरला नाका सञ्चालनमा आउन थालेको हो। ३० भदौबाट कोरला नाका पहिलोपटक पूर्ण रूपमा सञ्चालनमा आएको छ।

चीनतर्फको कोरला नाका। तस्बिर : सुन्दरकुमार थकाली/रासस

ठिहिर्‍याउने जाडो, छैन पूर्वाधार

समुद्री सतहबाट चार हजार ६ सय मिटर उचाइमा रहेको कोरला अत्यधिक चिसो ठाउँ हो। अहिले पनि त्यहाँको तापक्रम साँझ–बिहान माइनसमै हुन्छ। कोरलामा अत्यधिक चिसोका कारण सवारीसाधन ‘स्टार्ट’ नै नहुने समस्या रहेकाले नेचुङमा भन्सार कार्यालय स्थापना गरेर काम भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल जानकारी दिन्छन्। उनी भन्छन्, “कोरलामा अत्यधिक चिसो छ। गाडी स्टार्ट नै हुँदैन। हिउँदमा व्यापारिक गतिविधि सञ्चालन गर्नै कठिन छ। नेचुङमा चाहिँ पूर्वाधार बनाउन सके वर्षभरि नै भन्सारको काम नियमित गर्न सकिने अवस्था छ,” भुसाल भन्छन्।

सीमानाका कोरलाबाट केही पर चीनतर्फ सबै पूर्वाधार निर्माण भइसकेको छ। नेपालतर्फ अध्यागमन कार्यालय बनेर उद्घाटन भएको छ, तर सञ्चालनमा आउन सकेको छैन। अत्यधिक चिसोकै कारण कार्यालय सञ्चालन हुन नसकेको भुसाल बताउँछन्।

चार कोठाको भवनलाई भन्सार कार्यालय बनाइएको छ। भन्सार विभागले भन्सार व्यवस्थापन सफ्टवेयर अर्थात् आशिकुडा प्रणाली केही दिनअघि मात्रै जडान गरेको छ। भन्सारमा अहिले ११ जना कर्मचारीले काम गरिरहेका छन्।

नेपाल राष्ट्र बैंकले मुस्ताङ भन्सार कार्यालय हुँदै सामान आयात गर्नका लागि बैंकहरूले प्रतीतपत्र (एलसी) खोल्न सकिने गरी एकीकृत परिपत्र २०८१ संशोधन गरेको छ। अब कोरला नाका हुँदै सामान आयात गर्न नेपाली व्यवसायीहरूले बैंकमार्फत एलसी खोल्न पाउने भएका छन्। तर, बैंकिङ कारोबारका लागि कुनै पनि बैंकको शाखा भन्सार कार्यालय परिसरमा छैन।

सामान ढुवानी भएर आएका कन्टेनर राख्ने यार्ड छैन। अहिले व्यवसायीहरू जता खाली छ उतै कन्टेनर र विद्युतीय गाडीहरू पार्किङ गरिरहेका छन्। नेचुङसम्म आइपुगेका विद्युतीय गाडी फेरि चार्ज नगरी पोखरासम्म ल्याउन नसकिने भएकाले व्यवसायीहरूकै पहलमा त्यहाँ चार्जिङ स्टेसन बनिरहेको छ।

“कोरला नाकालाई स्थायी रूपमा सञ्चालन गर्न आवश्यक कार्यालयको पूर्वाधार बनाउनुपर्नेछ। म्याग्दीतर्फको सडकको स्तरोन्नति गर्नुपर्नेछ। जोमसोमतर्फ एक सय किलोमिटर बाटो कच्ची छ। माथिल्लो मुस्ताङ खण्डको सडकमा पुल बनिरहेको छ,” प्रमुख जिल्ला अधिकारी भुसाल भन्छन्।

कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम– कोरला सडक अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीको पहिरो पार गर्दै सवारी साधनहरु। तस्बिर : सन्तोष गौतम/ रासस

म्याग्दीमा पर्ने सडक साँघुरो छ। रुप्से छहरा नजिकैको सडक अप्ठ्यारो हुनुका साथै बेलाबेला पहिरो पनि झर्ने जोखिम रहेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की बताउँछन्। कालीगण्डकी करिडोर सम्पन्न हुँदा उक्त नाका भएर हुने व्यापारलाई थप सहयोग पुग्छ।

व्यवसायीको पहलले सम्भव

यसअघि कोरला नाकाबाट उपल्लो मुस्ताङका नेपालीहरू मात्रै चीन जाने-आउने गर्थे। व्यावसायिक रूपमा आयात-निर्यातको गतिविधि थिएन। नाकालाई नियमित चलाउन विभिन्न पहल त भएका थिए, तर तिनले सार्थकता पाउन सकेका थिएनन्।

विगतमा सामान ल्याइरहेका दुई नाकाबाट सामान ल्याउने सम्भावना नदेखेपछि व्यापारीहरू कोरलालाई प्रयोगमा ल्याउने पहल थाले। विशेषगरी, अटोमोबाइल व्यवसायीहरूले दसैँमा उपलब्ध गराउने भनी गाडीको बुकिङ लिएका थिए। तातोपानी र रसुवाबाट चिनियाँ गाडी ल्याउन सक्ने अवस्था नै भएन। अनि उनीहरूले कोरलाको बाटो रोजे।

२०७६ सालमा फैलिएको कोरोना महामारीदेखि कोरला नाका चिनियाँ पक्षले पूर्ण रूपमा बन्द गरेको थियो। कोरला नाका बन्द भएको कोरोना महामारीयता मात्रै होइन।

सँगै लत्ताकपडा, फलफूल र इलेक्ट्रोनिक्स सामान लोड भएका कन्टेनर पनि कोरलातिर सोझिए। ४ असोजसम्म नेचुङमा दुई सय नौ वटा विद्युतीय गाडी र एक सय सात वटा मालवाहक कन्टेनरमा रहेका सामानको जाँचपास भएको भन्सार विभागका निर्देशक किशोर बर्तौला जानकारी दिन्छन्। ती सामानको जाँचपासबाट ३४ करोड ४७ लाख राजस्व संकलन भएको उनी बताउँछन्।

चीनबाट सामान लिएर कोरला (चीनतर्फ)आइपुगेको लरी। तस्बिर- रासस

व्यवसायीहरू नै अघि सरेपछि कोरला नाका सञ्चालन सम्भव भएको हो। “व्यवसायीले चाहे मात्र नाका सञ्चालन हुने रहेछ। यसअघि नाका चलाउन विभिन्न पहल भएकै हुन्, ती पहल सफल भएका थिएनन्। व्यवसायीहरूले चाहँदा अहिले सफल भयो,” मुस्ताङका प्रमुख जिल्ला अधिकारी भुसाल भन्छन्।

रोक्ने–खोल्ने लुकामारी

असोज २०८० मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको भ्रमण गर्दा कोरला नाका खुलाउने विषयमा पहल गरेका थिए। त्यसबेला ५ असोजबाट एक साता चीनमा बिताएका दाहालले तिब्बत र मुस्ताङको लोमान्थाङ गाउँपालिकाको सिमानामा पर्ने कोरला नाका खुलाउन कूटनीतिक पहल गरेका थिए।

दाहाल फर्किएलगत्तै चिनियाँ दूतावासले नेपाली पक्षलाई कूटनीतिक नोट पठाएर कोरला नाका खोल्ने पहल थाल्न भनेको थियो। त्यसको डेढ महिनापछि २७ कात्तिकबाट उपल्लो मुस्ताङका बासिन्दाका लागि मात्र सञ्चालन भएको यो नाका अहिले व्यापारिक रूपमा सञ्चालनमा आएको छ।

२०७६ सालमा फैलिएको कोरोना महामारीदेखि कोरला नाका चिनियाँ पक्षले पूर्ण रूपमा बन्द गरेको थियो। कोरला नाका बन्द भएको कोरोना महामारीयता मात्रै होइन। सन् १९६० को दशकमा तिब्बत चीनमा गाभियो। तिब्बतका खम्पाहरूले नेपाली भूमि प्रयोग गरेर विद्रोह गरे। सोही विद्रोहका कारण २०३२ सालदेखि कोरला नाकाको आवतजावतमा कडाइ गरिएको थियो। २०५८ सालसम्म रोकतोक नरहेको सीमाक्षेत्रमा २०५९ सालदेखि चीनले तारबार गरेर मेलाबाहेकको अवधिमा आवतजावत बन्द गर्दै आएको थियो। तर, हरेक वर्ष कोरला नाकामा दुईपटक अन्तरदेशीय व्यापारिक मेला आयोजना हुन्थ्यो। त्यस्तो मेला आयोजना भएको बेला मुस्ताङका नागरिकले चीन आवतजावत गर्न पाउँथे।

पछिल्लो समय चीनले आफ्नो भूभागतर्फ पूर्वाधार तयार गरेको थियो। रसुवागढी–केरुङ नाका तत्कालै नखुल्ने भएपछि चीनले पनि कोरला नाका चलाउन कुनै आनाकानी गरेन।

म्याग्दी र पोखरा उद्योग वाणिज्य संघका पदाधिकारीहरूले कोरलामा भन्सार कार्यालय स्थापना गरेर व्यापार नियमित थाल्न सरकारलाई निरन्तर दबाब दिइरहेका थिए। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्बु गुरुङ पनि लामो समयदेखि यसमा खटिएका थिए।

तस्बिर : सुन्दरकुमार थकाली/रासस

“मुस्ताङ भन्सारमा स्थायी संरचना निर्माण गरेर उक्त नाकालाई वर्षभरि नै चलाउने व्यवस्था मिलाउनुपर्छ। त्यसका लागि सहकार्य पनि गर्छौं र दबाब पनि दिन्छौँ,” पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की भन्छन्।

तातोपानी खुलाउने प्रयास

चीनसँगको व्यापारको पुरानो नाका तातोपानी सञ्चालनमा ल्याउन संघीय सरकारले नै पहल गरिरहेको छ। तातोपानी नाका भएर नेपालतर्फ आउने सडक विभिन्न ठाउँमा भत्किएपछि अवरुद्ध नाका सोमबारबाट सुचारु भएको छ। हिमालय सीमापार वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सागर घिमिरेका अनुसार तातोपानी नाका हुँदै नेपाल ल्याउन सामान लोड गरिएका करीब एक हजार कन्टेनर ल्हासासम्मै सडकमा लामबद्ध रहेको छ।

बाटो खुल्दा पनि तातोपानी नाका भएर दसैँअगाडि नै सामान काठमाडौँ आइसक्नेमा व्यवसायी विश्वस्त छैनन्।

बाटो बन्द भएका कारण केही व्यवसायीले फलफूल र दसैँमा व्यापार हुने सामान भरियालाई बोकाएर काठमाडौँ ल्याइरहेका थिए। मुख्यगरी चीनबाट आयात गरिएका फलफूल भरियालाई बोकाएर पहिरो कटाउने काम भएको व्यवसायी घिमिरेले जानकारी दिए।

तातोपानी गाउँपालिका– २ का अध्यक्ष कुमार श्रेष्ठका अनुसार, तातोपानीबाट नेपालतर्फको सडक तीन ठाउँमा अवरुद्ध थियो। “कोदारीमा ठूलो पहिरो थियो। घट्टे खोलानजिकै सडक भासिएको थियो। डाक्लाङमा तीन ठाउँमा गरेर करिब ७० मिटर सडक भत्किएको थियो,” श्रेष्ठ भन्छन्।

स्थानीयका तर्फबाट उनै श्रेष्ठको नेतृत्वमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई भेटेर सडक खुलाउने पहल गरिदिन ज्ञापनपत्र बुझाइएको थियो। घिसिङले पनि तत्कालै सडक मर्मत गरेर सञ्चालनमा ल्याउन सडक विभागलाई निर्देशन दिएका थिए। अहिले सडक डिभिजन कार्यालय चरीकोटले तातोपानीतर्फको बाटो खुलाउन एक सातादेखि निरन्तर काम गरेको थियो।

“बाटो खुलाउन निरन्तर प्रयासपछि सोमबार दिउँसोबाट बाटो सुचारु भएको छ,” सडक डिभिजन कार्यालय चरीकोटका इन्जिनियर सुरज महर्जन भन्छन्, “पाँच ठाउँमा सडक अवरुद्ध थियो। डाक्लाङमा तीन ठाउँमा सडक भासिएको थियो। एक सय बाह्र किलो भन्ने ठाउँमा सडक बगेर छिनिएको थियो। कोदारीमा ठूलो पहिरो थियो। यी सबै ठाउँमा सडक मर्मत सम्पन्न भएको छ।”

बाटो खुल्दा पनि तातोपानी नाका भएर दसैँअगाडि नै सामान काठमाडौँ आइसक्नेमा व्यवसायी विश्वस्त छैनन्। “दैनिक ३०–४० वटा गाडीको भन्सार जाँच पास हुन्छ। बाटो खुल्दा पनि सबै कन्टेनर दसैँअघि नै काठमाडौँ आउँछन् भन्न सकिने अवस्था छैन,” घिमिरे भन्छन्।