काठमाडौँ। सडक डिभिजन कार्यालय काठमाडौँले एक सातायता जिल्लाभरिका सडकमा भएका खाल्डाखुल्डी पुर्न थालेको छ। चाडबाडको समय पारेर डिभिजन कार्यालयको टोलीले ३० भदौबाट खाल्डाखुल्डी पुर्न थालेको हो।
“हामीले अभियानकै रूपमा यस कार्यालय अन्तर्गतका सबै सडकका खाल्डा पुर्न थालेका हौँ,” डिभिजन प्रमुख इन्जिनियर सुबोधकुमार देवकोटाले भने, “कहिलेसम्म सकिन्छ, काम जारी छ।”
टोलीले अहिले मीनभवन, संगमचोक, पुरानो बानेश्वर, सिनामंगल, भीमसेनगोला, सेतोपुल, डिल्लीबजार, पुतलीसडक, बागबजार र भोटाहिटीका सडकमा परेका खाल्डा पुरिरहेको छ। दुई दिनभित्र रिङरोडभित्रका सबै खाल्डाखुल्डी पुरिने देवकोटाले बताए। “सडकमा कति खाल्डा छन् भन्ने तथ्यांक छैन, जहाँ-जहाँ खाल्डा छन् पुर्दै जान्छौँ,” उनले भने।
कार्यालयले दुई सिफ्टमा खाल्डा पुर्ने काम गरिरहेको छ। एउटा टोली दिउँसो र अर्को टोली राति खटिने गरेको छ। अहिलेसम्म २५ सय स्क्वायर मिटर क्षेत्रफलमा रहेका खाल्डाखुल्डी पुरिसकेको देवकोटाले बताए।
काठमाडौँ जिल्लाभरि ५९ वटा सडक छन्। काठमाडौँमा जम्मा ४७२.५६ किलोमिटर सडक पिच छ। “पिच सडकमा खाल्डा जहाँ छन्, पहिचान गरेर टोली खटिन्छ,” देवकोटाले भने, “चाडबाडमा सडकको सुन्दरता बढोस् र यातायातमा कठिनाइ नहोस् भनेर खाल्डाखुल्डी पुर्न थाल्यौँ। खाल्डा समयमै नपुर्दा भत्किएर क्षति बढ्छ।”
कार्यालयले दसैँपछि काठमाडौंका सडकमा खाल्डा पहिल्याउन जीपीएस प्रणाली विकास गर्ने भएको छ। “जीपीएसले खाल्डा देखाउँछ, हामी तुरुन्तै टोली खटाएर काम थाल्छौं,” देवकोटाले भने।