काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

बातचित

नेपालीमा ‘आर्ट’ फिल्म राम्रोसँग बनायो भने हिट हुन्छ। अझ साहित्यसँग जोडेर बनायो भने त शतप्रतिशत सफल हुन्छ। नेपाली चलचित्रको सबैभन्दा आशालाग्दो पाटो यही हो।

८ आश्विन २०८२
तुलसी घिमिरे। तस्बिर सौजन्य : कृष्पा श्रेष्ठ
अ+
अ-

चार दशकभन्दा लामो सिनेयात्रामा ‘चिनो’, ‘लाहुरे’, ‘कुसुमे रुमाल’, ‘बलिदान’जस्ता लोकप्रिय, सफल र नेपाली सिने उद्योगका ‘मानक’ चलचित्र बनाएका निर्देशक हुन् तुलसी घिमिरे। उनले २३ चलचित्र निर्देशन गरेका छन्, यो संख्यालाई २५ पुर्‍याएपछि चलचित्र निर्देशनबाट विश्राम लिने घिमिरेको सोच छ। भारतको कालिम्पोङमा जन्मिएका, मुम्बईमा चलचित्रकर्म सिकेका र मावली देश नेपाललाई कर्मथलो बनाएका घिमिरे अहिले २४ औं चलचित्र ‘पहाड’ निर्माण गरिरहेका छन्। नेपाल र भारतको दोभानमा उभिएका उनै घिमिरेसँग दुई देशका चलचित्र उद्योग, समकालीन नेपाली चलचित्रको प्रवृत्तिलगायत विषयमा नेपालन्युजका लागि असीम तिमल्सिनाले गरेको बातचित :

‘रोटीबेटीको सम्बन्ध’, ‘परापूर्वकालदेखिको सम्बन्ध’ भन्दै व्याख्या गरिने नेपाल र भारतको साइनो, दुई देशका चलचित्र उद्योगमा कसरी प्रतिविम्बित हुन्छ?

पहिले पहिले हामी भारत जाँदा नेपाली फिल्मका लागि आएको भनिसकेपछि लागत खर्चमा २०-२५ प्रतिशतसम्म सहुलियत पाइन्थ्यो। धेरै इज्जत गर्थे। बाँसुरी, लाहुरे, मसाल लगायत थुप्रै नेपाली चलचित्र भारतमा बने। यी चलचित्र नेपालमा प्रदर्शन भएपछि नेपाली दर्शकलाई भारतबारे धेरै जानकारी भयो।

बाँकी त, उताका चलचित्र यता प्रदर्शन हुन्छन् यताका चलचित्र उता। यहाँका कलाकारलाई भारतमा एकदमै माया गर्छन्। भारतीय कलाकारलाई नेपालमा माया गरी नै हाल्छन्। जस्तो, देव आनन्द साहब हुनुहुन्थ्यो, नेपाल उहाँको साह्रै मन पर्ने ठाउँ।

अर्कोतिर नेपाली शैलीका गीत पनि भारतीय चलचित्रमा धेरै छन्। जस्तो, रञ्जित (गजमेर) दाइ मादल लिएर जानुभयो, आरडी बर्मनले त्यसैलाई उहाँको पहिचान बनाइदिनुभयो।

यो सम्बन्धको व्यावसायिक पक्ष पनि छ। हिन्दी चलचित्रको राम्रो बजार नेपाल पनि हो। नेपाली चलचित्र चाहिँ भारतमा राम्रोसँग चल्न सकेका छैनन्, जुन हाम्रै कमजोरी हो। हामीले नै ‘अप्रोच’ गर्न नसकेको हो। उनीहरूले जस्तै हामीले पनि स्थानीय वितरक समातेर नेपाली चलचित्र भारतमा प्रदर्शन गर्न सक्यौँ भने कम्तीमा दुई-चार करोड भारु कमाइन्थ्यो। त्यसले चलचित्रमा लगानी बढाउन सहयोग पुग्थ्यो र स्तरीय चलचित्र बन्न सक्थ्यो। यसमा हामी चुकेका छौँ।

भारतमा नेपाली चलचित्र प्रदर्शन गर्ने भनिरहँदा हामीले भारतीयलाई नेपाली चलचित्र देखाउने हो कि त्यहाँका नेपालीभाषीलाई?

त्यहाँको नेपालीभाषीलाई मात्र देखाउँदा पनि पर्याप्त हुन्छ। कालिम्पोङ, दार्जिलिङ, सिक्किम, आसाम जहाँ जहाँ नेपाली चलचित्र प्रदर्शन हुन्छ त्यहाँ नेपालीभाषीसँगै उनीहरूका अरू साथीभाइ आएर पनि हेरिहाल्छन्।

नेपालमा राष्ट्रवादी चलचित्र भन्नासाथ भारतविरोधी भन्ने बुझिन्छ। भारतीय चलचित्रमा पनि बेलाबखत हाम्रो सार्वभौमिकतामाथि आँच आउने किसिमको सिनेप्रस्तुति देखिन्छ। यस्तो किन हुन्छ?

मैले बीचमा एक दुइटा नेपाली चलचित्र हेरेँ। ती पूरै ‘एन्टी इन्डियन’ थिए। त्यस्तै कतिपय भारतीय चलचित्रमा नेपालीहरूको नकारात्मक चित्रण भयो। तर यसो हुँदा नेपालबाटभन्दा धेरै विरोध भारतबाटै भयो। भारतीय चलचित्रमा नेपालबारे गलत चित्रण हुँदा त्यसको प्रतिवाद गर्ने नेपाली चलचित्र उद्योगले नै हो। यसमा हामीले ध्यान पुर्‍याउन जरुरी हुन्छ। एउटा देशले अर्को देशको सार्वभौमिकतालाई असर गर्ने चलचित्र बनाउन हुँदैन।

नेपाल-भारत सम्बन्ध बलियो बनाउन सरकार, चलचित्र विकास बोर्ड र भारतीय राजदूतावासले पनि सोच्नुपर्छ। राम्रो राम्रो चलचित्र बनाऔँ, त्यसलाई प्रोत्साहन गरौँ। भारत र नेपालले एक अर्कालाई बहुत सहयोग गरेका छन्, यही विषयमा चलचित्र बनाइयो भने दुई देशको सम्बन्ध त्यसै राम्रो हुन्छ।

हाम्रो सार्वभौमिकतामा आँच पुग्ने हिन्दी सिनेमाको प्रतिवाद गर्न कसरी सक्छ नेपाली चलचित्र उद्योगले?

नेपालको अस्तित्वलाई चुनौती दिने कुनै पनि देशको चलचित्रलाई यहाँ प्रदर्शन गर्नै दिनुहुँदैन। कथम प्रदर्शन भएमा नेपालको चलचित्र विकास बोर्डले भारतीय सेन्सर बोर्डसमक्ष ठाडो प्रतिकार गर्नुपर्छ। ‘दुई देशको सम्बन्ध बिगार्ने चलचित्र तिमीहरूले कसरी पास गर्‍यौ?’ भनेर सोध्नुपर्छ। विडम्बना, यसमा कोही बोल्दैन। मैले एक्लैले बोलेर हुँदैन। एउटा ‘इन्डिभिजुअल प्रोड्युसर’ले मात्र बोलेर पनि हुँदैन। यस्तो संवेदनशील विषयमा संस्था नै बोल्नुपर्छ र संस्था भनेको चलचित्र विकास बोर्ड हो।

सेन्सर बोर्ड चाहिन्छ। तर सेन्सर बोर्डमा ‘सेन्सिबल’ (विवेकी) मान्छे हुनुपर्छ।

तर नेपाल-भारत सम्बन्धलाई सही ढंगमा चित्रण गर्ने चलचित्र पनि छन्, जस्तो उँचाइ। यस्ता थुप्रै भारतीय चलचित्रमा नेपालबारे सकारात्मक चित्रण पाइन्छ। त्यस्ता चलचित्रले दुई देशको सम्बन्ध प्रगाढ बनाउँछ।

नेपालमा भारतका चलचित्रको प्रभाव बलियो छ। एक प्रकारले ‘वान वे ट्राफिक’ जस्तो देखिन्छ। नेपाली चलचित्रले चाहिँ हिन्दीको तुलनामा देशभित्रैको बजारमा समेत फितलो प्रदर्शन गर्छन्। किन यस्तो भएको?

सुरुमा त हाम्रो चलचित्रको स्तर कस्तो छ भन्नेतिर ध्यान दिनुपर्छ। अन्तर्राष्ट्रिय बजारमा हामी उभिनै सकेका छैनौँ। अलिअघि प्रेमगीत ३ भारतमा हिन्दीमा डब गरेर प्रदर्शन भयो। अर्थात् नेपाली चलचित्र बलियो छ भन्ने प्रचार गर्न सक्दा यदाकदा भारतको बजारमा पनि नेपाली प्रदर्शन हुनसक्ने रहेछ। प्रेमगीत ३ व्यक्तिगत प्रयासमा भारतमा प्रदर्शन भएको हो। सरकारले पठाएको होइन। भारतमा नेपाली चलचित्र प्रवर्द्धन गर्न चलचित्र विकास बोर्डले ‘यो चाहिँ मेरो उत्कृष्ट चलचित्र हो, त्यहाँ प्रदर्शन गर’ भनेर पठाउनुपर्छ। जसका लागि बोर्डमा बलियो नेतृत्व हुनुपर्छ।

तुलसी घिमिरे। तस्बिर सौजन्य : कृष्पा श्रेष्ठ

यसमा अर्को पाटो पनि छ। नेपालमा अधिकांशले हिन्दी बोल्छन् र बुझ्छन्। यसको विपरीत धेरै भारतीयले नेपाली बुझ्दैनन्। यसकारणले पनि भारतमा नेपाली चलचित्र प्रदर्शन गर्न चुनौती हुन्छ।

भारतीय चलचित्रले बोकेको विचारबारे पनि बेलाबखत नेपालमा बहस हुने गर्छ। जस्तो- केरला स्टोरी, कश्मीर फाइल्स जस्ता चलचित्रले नेपालमा भारतीय संस्थापनको विचार व्यक्त गरेको, हिन्दुत्वको प्रचार गरेको आरोप लाग्यो। यस्ता चलचित्रलाई नेपालमा प्रदर्शन गर्न दिनु कत्तिको जायज ठान्नुहुन्छ?

कश्मीर फाइल्समा भारतीयको घाउ देखाइएको हो। उनीहरूको पीर, व्यथा देखाइएको हो। अब यो कुराले नेपाललाई समस्या हुन्छ भने प्रतिबन्ध लगाउन सक्नुपर्थ्यो। त्यो काम नेपालको सेन्सर बोर्डको हो। तर, सेन्सर बोर्ड के हेरेर बस्यो?

तथापि, कश्मीर फाइल्स, केरला स्टोरी वर्षौं अनुसन्धान गरेर, मेहनत गरेर बनाइएका चलचित्र हुन्। नेपाललाई दुख्छ कि भन्नेतिर उनीहरू हेर्दैनन्। उनीहरूले त आफ्नो इतिहास बनाउँछन्। यसमा नेपाललाई समस्या हुन्छ भने जवाफदेही हुनुपर्ने त हाम्रै सेन्सर बोर्ड हो।

कुरा स्पष्ट छ, नेपाललाई आँच आउने भारतीय चलचित्र नेपालमा प्रदर्शन हुनुहुँदैन र भारतलाई आँच आउने नेपाली चलचित्र भारतमा पनि प्रदर्शन हुनुहुँदैन। तर, हामीलाई कुनै भारतीयले दुःख दिएको इतिहास छ भने तथ्यमा आधारित चलचित्र बनाउन छोड्नुहुँदैन।

नेपालीले तथ्यमै आधारित चलचित्र बनाए पनि त्यसले भारतीयको मन त दुखाउँछ होला नि?

दुखाउँछ नि। उनीहरूले प्रदर्शन गर्न नदेलान् तर त्यो (कथा) त हामीले भोगेको समस्या हुन्छ नि त। त्यसरी नै, भारतीय चलचित्रले हामीलाई असर गर्छ भने हामी प्रदर्शन गर्न नदिऊँ। कुनै चलचित्रले नेपाल-भारत सम्बन्धमा असर गर्‍यो र नेपालमा प्रतिबन्ध लगाइयो भन्ने कुरा भारतीय सरकार र सम्बन्धित निकायसम्म त पुर्‍याउनुपर्छ।

तपाईंले सेन्सर बोर्ड सक्रिय हुनुपर्छ भनिरहँदा ‘सेन्सर बोर्ड नै खारेज गरिनुपर्छ’ भन्ने आवाज पनि उठेको छ नि!

सेन्सर बोर्ड चाहिन्छ। तर सेन्सर बोर्डमा ‘सेन्सिबल’ (विवेकी) मान्छे हुनुपर्छ।

सत्य हरीशचन्द्र होस् वा आमा वा त्यससपछि बनेका माइतीघर जस्ता चलचित्रमा धेरैजसो प्राविधिक भारतीय नै थिए। यो परिप्रेक्ष्यमा त्यतिबेलाका नेपाली चलचित्रमा भारतीय वा प्रवासी नेपाली दृष्टिकोण कत्तिको झल्किन्थ्यो?

नेपाली भाषाको पहिलो चलचित्र सत्य हरीशचन्द्र भारतमै बनेको हो। तर, त्यो बनाइदिने त नेपालकै राजा हुन्। सत्य हरीशचन्द्र बनाउने क्रममा करीब ३० हजार भारु अपुग भएछ। राजा महेन्द्र भारत जाँदा निर्माण टोलीले भेटेर ‘हामी नेपाली चलचित्र बनाउँदै छौँ सरकार। ३० हजार पुगेन’ भनेछन्। अनि राजाले जम्मा बजेट कति हो भनेर सोधेछन्। निर्माण टोलीले ‘५० हजार’ भनेर जवाफ फर्काएछन्। अनि राजाले ‘ल चलचित्र निर्माण सक्नू’ भनेर ५१ हजार दिएछन्।

अर्थात् चलचित्र भारतमा त बन्यो तर पैसा नेपालकै राजाको थियो।

म कुनैबेला गुरुलाई गुरुदक्षिणाबापत १० वटा चलचित्र बनाएर अर्पण गर्छु भनेर नेपाल आएको थिएँ। त्यतिबेला नेपाल-भारत सम्बन्ध भन्ने केही सोचिएन। ‘क्लिन फिल्म’ १० वटा बनाउँछु भनेर आएको थिएँ। किनकि भारतमा बसेर नेपाली चलचित्र बनाउन त्यतिबेला मात्र होइन अहिले पनि सम्भव छैन। दक्षिणा मेरो १०औं चलचित्र थियो। पछि सबैले माया गर्न थाले अनि यो ठाउँ छोडेर कहाँ जानू?

तपाईंले राजा महेन्द्रको प्रसंग निकाल्नुभयो। एउटा आरोप के लाग्छ भने, तत्कालीन प्रवासी नेपालीहरू चलचित्र निर्माणका क्रममा जानेर वा नजानेर ‘एक भाषा एक भेष’को महेन्द्र राष्ट्रवादमा प्रयोग भए। सरसर्ती हेर्दा त्यतिबेलाका नेपाली चलचित्रले देखाउने समाज एकनासे नै हुन्थ्यो। यसमा तपाईंको हेराइबुझाइ के छ?

यो एकदम निराधार कुरा हो। हामी त कला र संस्कृतिलाई सम्मान गर्ने भएकाले राजा महेन्द्रलाई मान्छौं। तथापि हामीले राजा महेन्द्रलाई कहिल्यै देख्न पाएनौँ।

भारतबाट आएकाहरूले नेपाली चलचित्रमा तराईमधेस देखाएनन् भन्ने आरोपमा, मलाई के लाग्छ भने नेपाली पनि पाइलट हुन्छन्, डाक्टर हुन्छन् भन्ने मलाई थाहै थिएन। भारतमा जन्मेहुर्केको मैले अरू अरू जातका मानिसलाई डाक्टर, इन्जिनियर, पाइलट देखेँ। यहाँ त सबै नेपाली देख्दा मलाई त गर्वले छाती फुलेर आएको थियो। चलचित्रमा पनि जेजति अगाडि देखिन्छ, भोगिन्छ त्यही समेट्ने न हो।

तुलसी घिमिरे। तस्बिर सौजन्य : कृष्पा श्रेष्ठ

लाहुरे चलचित्रमा रोटीवाल, चनावाल पात्र छन्। ती तराईका पात्र भनेर राखेको होइन, ती त मैले देखेको मेरै छेउछाउका पात्र भनेर राखेको हो। मैले तराई जोड्नुपर्छ, पहाड जोड्नुपर्छ, हिमाल जोड्नुपर्छ भनेर त्यस्तो केही सोचिनँ। बलिदान बनाउँदा राजनीतिक ज्ञान पनि थिएन। मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ‘यस्तो यस्तो हुन्छ तुलसी दाइ’ भनेर ठूलो सहयोग गर्नुभएको थियो। मेरो ज्ञानको क्षितिजको आधारै त्यही थियो। त्यसैले चलचित्र निर्माणमा केही सीमितता पक्कै भएको हुनसक्छ।

साझा कलाकारप्रति हामी गर्व चाहिँ गर्छौं तर उनीहरूलाई नेपाल बोलाएर उपयोग चाहिँ गर्न सकेका छैनौँ।

प्रकाश थापालाई कसैले महेन्द्र राष्ट्रवादी सोच लिएर आऊ र यसो गर भनेको होइन। बीएस थापाले माइतीघर बनाए। उनलाई कसैले यसो गर भनेको होइन। हामीलाई कसैले यसो गर्नुपर्छ भनेर बोलाएको होइन। हामी ‘क्लिन’ चलचित्र बनाउँछौं भनेर आएका हौँ। हामीलाई पैसा कमाउनु थियो, ‘क्लिन’ चलचित्रले नै पैसा दिन्छ भने किन यताउता गर्नू भन्ने लाग्यो।

उदाहरणका लागि मैले कुनै चलचित्रमा थारू समुदायको पात्र राखेँ। तर मलाई थारू संस्कृति थाहै छैन। माघी कसरी मनाइन्छ भन्ने पनि मलाई थाहा छैन। त्यसो हुँदा मलाई थारू समुदायमा आधारित चलचित्र बनाउन गाह्रो हुन्छ। यही कारण आफ्नो संस्कृति देखाउन सम्बन्धित समुदायका मानिसहरू चलचित्र क्षेत्रमा आउनुपर्छ भन्ने अनुभूति भएको छ। अब सांस्कृतिक चलचित्र बनाउनुपर्छ। संस्कृतिमा आधारित चलचित्रलाई सरकारले पनि सहयोग गर्नुपर्छ।

देशको आधाभन्दा बढी जनसंख्या बसोवास गर्ने तराईमा नेपाली स्टारहरूको क्रेज पातलो पाइन्छ। त्यहाँका चोक, गल्लीदेखि सलुनहरू नै हेर्ने हो भने पनि भारतीय कलाकारका पोस्टर टाँसिएका हुन्छन्। हाम्रा कलाकार, हाम्रो चलचित्र उद्योग हाम्रै देशको एउटा भूगोलसँग यसरी विरानो किन भएको होला?

यो चाहिँ कलाकारमै निर्भर हुन्छ। कलाकारले आफूलाई कसरी दर्शकसँग जोडन्छन् भन्नेमा भर पर्छ। रजनीकान्त, अक्षय कुमार, सलमान खान, शाहरुख खान, कमल हसन त्यसै लेजेन्ड भएका होइनन्। उनीहरू परोपकारी कर्मले पनि दर्शकसँग जोडिएका हुन्।

मेरो एउटा साथी थियो बाबु भन्ने। उसलाई एउटा मद्रासी चलचित्रको सम्पादन छिटो सक्नुपर्ने भएकाले म र मेरो अर्को साथीलाई लिएर चेन्नई गयो। सम्पादन थालेको तेस्रो दिन उसले ‘मै जरा मन्दिर हो के आता हुँ’ (म यसो मन्दिर गएर आउँछु) भन्यो। मैले ‘मन्दिर हम भी चल्ते हैं भाइ’ (मन्दिर त म पनि जान्छु) भनेँ। अनि स्वामीनारायणको मन्दिर हो कि केको भनेर सोध्दाखेरी रजनीकान्तको मन्दिर पो हो भन्यो। म छक्क परेँ।

ओहो रजनीकान्तको मन्दिर। त्यहाँ त रजनीकान्तको मूर्ति थियो। मानिसहरू उनको मूर्तिअगाडि आरती गर्दै थिए। त्यतिबेला स्थानीयले भन्थे, ‘त्यो धोती लगाएको, धनुहरू बोकेको भगवान छन् कि छैनन् हामीलाई थाहा छैन। देखेको पनि छैन। यो (रजनीकान्त) चाहिँ हाम्रा लागि भगवान नै हो।’

यस्तो छवि छ भारतीय कलाकारको। हाम्रो कलाकारहरूको छवि हेर्दा त आफू चलचित्र क्षेत्रको मान्छे हुँ भन्न पनि लाज लाग्छ। फेरि यो सबै कुरा आर्थिक पाटोसँग पनि जोडिन्छ। कसैलाई १० लाख सहयोग गर्नुपर्‍यो भने हाम्रा कलाकारले कहाँबाट ल्याउनु त्यत्रो पैसा?

नेपाल र भारतको चलचित्र उद्योगमा धेरै साझा कलाकार र प्राविधिक छन्। सुनिल थापा, डेनी डेन्जोङ्पा, मनीषा कोइराला, माला सिन्हा, विनोद प्रधान, रञ्जित गजमेरदेखि तपाईं आफैं। दुई देशका यतिका साझा कलाकार हुँदाहुँदै पनि हाम्रो चलचित्र उद्योग किन विकसित हुन सकेन?

यसमा सबैभन्दा ठूलो कमजोरी बजेटकै हो। जस्तो मनीषा कोइरालालाई जति पैसा भारतीय चलचित्रले दिन्छ त्यति पैसाले हाम्रो तीनवटा चलचित्र बनाउन सकिन्छ। विनोद प्रधानकै कुरा गर्दा उनलाई हामी भारतीय चलचित्रको ‘रेट’ कहाँ दिन सक्छौँ त? यसो आउनेजाने पैसा दिन्छु आइदेऊ न भन्ने त हो।

डेनी साहबलाई नेपाली चलचित्रमा राम्रो भूमिका छ गरौँ न भन्यो भने यो दिनतिर ‘सेड्युल’ पार्नू, १० दिनभन्दा धेर नराख्नू भन्नुहुन्छ। यो पैसाका लागि गरेको होइन नि उहाँले। नेपाली चलचित्र भनेर गरेको हो। र नेपालप्रतिको सद्‌भावले हो।

नेपालीमा ‘आर्ट’ फिल्म राम्रोसँग बनायो भने हिट हुन्छ। अझ साहित्यसँग जोडेर बनायो भने त शतप्रतिशत सफल हुन्छ।

मनीषा कोइरालाले पछिल्लोपटक हीरामण्डीमा निर्वाह गरेको भूमिकाको कत्रो तारिफ भयो। त्यस्तै भूमिका छ गरौँ न भन्यो भने उनी पनि आउँछिन्। कुरा यत्ति हो कि हामीले प्लेटफर्म तयार पार्नुपर्छ। यसका लागि चलचित्र निर्माणमा ‘बिजनेस कम्युनिटी’ आउनुपर्छ।

साझा कलाकारहरू सबै सहयोग गर्न तयार छन्। तर बजेटसँगसँगै बोलाउने मान्छेमा ‘टेक्निकल मच्युरिटी’ (प्राविधिक परिपक्वता) हुनुपर्छ। उनीहरूसामु निर्धक्क भएर ‘आई वन्ट दिस टाइप अफ पफर्मेन्स’ (मलाई यस्तोखाले काम चाहिन्छ) भन्न सक्नुपर्छ। विडम्बना, साझा कलाकारप्रति हामी गर्व चाहिँ गर्छौं तर उनीहरूलाई नेपाल बोलाएर उपयोग चाहिँ गर्न सकेका छैनौँ।

भारतीय चलचित्र उद्योगले हामीलाई सहयोग नगरेको हो कि गरेर पनि नदेखिएको हो?

हामीलाई भारतीय चलचित्र उद्योगले धेरै सहयोग गर्न खोजेको थियो, तर हामीले नै लिन जानेनौँ।

सुल्तान अहमद (भारतीय चलचित्र निर्देशक) नेपाल आउँदा उनले नेपाली चलचित्र उद्योगलाई कसरी सहयोग गर्न सकिन्छ भनेर सोधेका थिए। वर्षमा २०-२२ वटा चलचित्र बन्छ, एउटा चलचित्र बनाउन ३०-३५ लाख नेपाली रुपैयाँ लाग्छ भन्ने सुनाएपछि उनले भनेका थिए, ‘चलो हर साल २० पोजेटिभ फिल्म (कुनै देश, धर्म, जातप्रति द्वेष नराखिएको, कुनै बालबालिका शोषण नगरिएको) को हम २०-२० लाख देंगे।’

जबकि यो कुनै सरकारस्तरीय सहयोग थिएन। इन्डियन मोसन पिक्चर प्रोड्युसर्स एसोसिएसनको तर्फबाट गर्ने भनिएको सहयोग थियो।

तुलसी घिमिरे। तस्बिर सौजन्य : कृष्पा श्रेष्ठ

यसपछि हामीले छलफल डाक्यौँ। सुल्तान साहबले यसो यसो भनेर जानुभएको छ भन्दा छलफलमा सहभागी एक जनाले ‘त्यो धोतीको पैसा किन चाहियो हामीलाई?’ समेत भने। दिनेले त दियो, अब थाप्न पनि नसक्ने भएपछि त के भन्ने!

अलिकति नेपाली चलचित्र क्षेत्रको प्रवृत्तिबारे कुरा गरौं। नेपाली चलचित्रले बलिउड सूत्र पछ्याए, बलिउडको कपी-पेस्ट जस्तो भयो भन्ने आरोप त निकै पहिलेदेखिकै हो। अहिले पछ्याउने प्रवृत्ति भारतबाट विस्तार भएर अन्य मुलुकसम्म पुगेको भेटिन्छ नि!

हो। कसैले मद्रासी चलचित्रको सूत्र पछ्याइरहेका छन्। कसैले फ्रेन्च, कसैले ईरानी त कसैले कोरियन चलचित्रको सूत्र पछ्याइरहेका छन्। अब चाहिँ नपछ्याऔँ, आफ्नै बनाऔँ।

आफ्नो चाहिँ कस्तो हुन्छ?

दक्षिणा आफ्नो हो। सीमारेखा आफ्नो हो। बलिदान आफ्नो हो। कुसुमे रुमाल पनि आफ्नै हो। त्यसमा अलिकति मिलन (१९६७)को जोडिदिएको छु त्यो अर्कै कुरा भयो। परालको आगो, बासुदेव, लूट, जारी लगायत चलचित्र पनि आफ्नै हो। सबैभन्दा आफ्नो त राजमती हो। यी शैलीमा चलचित्र बनायो भने चल्छ। नेपालबाहिर पनि कदर हुन्छ। हाम्रो दुःख सुख, हामीलाई केले दुखाउँछ, केले खुसी बनाउँछ यी कुरा समेट्ने चलचित्र नै हाम्रो चलचित्र हो।

आफ्नै चलचित्र बनाउने, आफ्नो संस्कृति देखाउने भनिरहँदा त्यस्ता मौलिक भनिएका चलचित्र व्यावसायिक रूपमा सफल हुँदैनन् नि!

आफ्नो चलचित्र त बनाउनै पर्छ, तर ‘पेस अफ द फिल्म’ (चलचित्रको गति) चाहिँ हाम्रा दर्शकलाई कस्तो चलचित्र हेर्ने बानी छ भन्ने ख्याल गर्नुपर्छ।

कथावस्तु आफ्नो हुनुपर्छ, प्राविधिक पाटो र प्रस्तुति चाहिँ जुन चल्छ त्यो हाल्नुपर्छ। हाम्रो मुख्य लक्ष्य ‘फिल्मगोअर्स’ हुन्। उनीहरूले कस्ता चलचित्र हेर्छन् त्यसमा ख्याल गर्नुपर्छ। सरसर्ती हेर्ने हो भने नेपाली दर्शकमा हिन्दी चलचित्रको प्रस्तुतीकरण सेट भएको छ।

हाम्रा चलचित्रहरूमा कला र मनोरञ्जनको पाटो सँगसँगै जान सकेको छैन भनिरहँदा प्रस्तुतिलाई नै इङ्गित गरिएको हो?

हो। यो त सँगसँगै जानुपर्ने पाटो हो। नेपालीमा ‘आर्ट’ फिल्म राम्रोसँग बनायो भने हिट हुन्छ। अझ साहित्यसँग जोडेर बनायो भने त शतप्रतिशत सफल हुन्छ। नेपाली चलचित्रको सबैभन्दा आशालाग्दो पाटो यही हो।

तर, वासुदेव त चलेन नि…

वासुदेव अर्कै कारणले चलेन। तर त्यसले नेपाल र भारतमा राम्रो सराहना पायो। व्यावसायिक हिसाबले नचलेको चाहिँ त्यसको प्रिन्ट राम्रो नभएर हो। नत्र त्यो राम्रो चलचित्र हो।