नवलपरासी। ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीबन्दी फर्किने क्रम जारी छ।
नवलपरासी कारागारमा अहिलेसम्म २२२ कैदीबन्दी फर्किएका कारागारका जेलर विकल श्रेष्ठले जानकारी दिए। उहाँका अनुसार गत भदौ २५ गते नवलपरासी कारागारबाट ५४६ कैदीबन्दी भागेका थिए।
कैदीबन्दीले कारागारलाई आफ्नो नियन्त्रणमा लिएर कारागारबाट भागेका बताउँदै जेलर श्रेष्ठले १७ पुरुष र १२ जना महिला नभागी कारागारमा बसेका जानकारी दिए। कारागारको स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि प्रहरीले कैदीबन्दीलाई केही नगरी निस्किन दिएको थियो।
कैदीहरू यसरी भागेपछि थप सजाय हुनसक्ने सूचना जारी गरी फर्किन अनुरोध गरेसँगै दैनिकजसो कैदीबन्दी कारागारमा फर्किन थालेका उनले बताए।
नवलपरासी कारागारबाट भागेका कैदीबन्दीमध्ये ४० जना भारतीय नागरिक रहेका जनाउँदै जेलर श्रेष्ठले एकजना कारागार फर्किसकेका बताए। उनका अनुसार नवलपरासी कारागारका १३ जना कैदीबन्दी मुलुकका अन्य कारागारमा गएर हाजिर भएका छन् भने अन्य कारागारका छ जना यहाँ आएका छन्।
केन्द्रीय कारागारबाट भागेका दुई जना मोरक्कोका र एक जना साउथअफ्रिकाका नागरिक (कैदीबन्दी) नवलपरासी कारागारमा रहेका जेलर श्रेष्ठले जानकारी दिए।