काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले केन्द्रीय कार्यसमिति बैठक अविलम्ब बोलाउन माग गरेका छन्। आज काठमाडौँमा भएको छलफलमा सहभागी केन्द्रीय सदस्यहरूले देशको राजनीति विषम परिस्थितिमा रहेको बेला केन्द्रीय समिति बैठक बोलाएर छलफल गर्न माग गरेका हुन्।
छलफलको एक आयोजक गुरु बरालले दिएको जानकारी अनुसार अन्तरिम सरकारले फागुनमा तोकेको निर्वाचन र मंसिरमा गर्नुपर्ने कांग्रेसको १५ औँ महाधिवेशनको सँगसँगै तयारी गर्नुपर्ने विषयमा छलफल भएको छ। करिब ३५ जना जति सहभागी केन्द्रीय सदस्यहरूको छलफलले सो कुरा गरेको उनले बताए।
“सर्वप्रथम केन्द्रीय समिति बैठक बोलाउनुपर्छ र निर्वाचन र अधिवेशनको सँगसँगै तयारी गर्नुपर्छ भन्ने छलफल भयो‚” उनले भने।
साथै बैठकले पार्टीको केन्द्रदेखि स्थानीय तहसम्म सभापति तथा अन्य पदाधिकारीहरूमाथि भएको आक्रमणको पनि निन्दा गरेको उनले बताए।