९ आश्विन २०८२
अ+
अ-

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दै आफूले सत्ता सम्हालेयता सात महिनाभित्र सातवटा ‘रोक्न नसकिने खालका’ युद्ध अन्त्य गरेको दाबी गरेका छन्।

मंगलबारको सम्बोधन उनको दोस्रो कार्यकालपछिको पहिलो महासभा सम्बोधन हो। ट्रम्पका अनुसार ती युद्धहरू दशकौँ लामो चलिरहेका थिए।

उनले कम्बोडिया–थाइल्यान्ड, कोसोभो–सर्बिया, कंगो–रुवान्डा, पाकिस्तान–भारत, इजरायल–इरान, इजिप्ट–इथियोपिया र आर्मेनिया–अजरबैजानबीचको द्वन्द्व रोकिएको बताए।

पाकिस्तान–भारतबीचको तनावमा विशेष रूपमा चर्चा गर्दै ट्रम्पले भने, पहलगाममा आतंकवादी आक्रमणपछि चुलिएको विवाद चार दिनमै युद्धविराममा टुंगिएको थियो। तर भारतले युद्धविराममा कुनै तेस्रो पक्षको भूमिका नरहेको दाबी गर्दै आएको छ।

संयुक्त राष्ट्र संघको भूमिकाप्रति ट्रम्पले आलोचना गर्दै भने, “संयुक्त राष्ट्र संघको काम प्रायः कठोर शब्दमा पत्र लेख्ने मात्र सीमित हुन्छ, र ती पत्रले युद्ध रोक्दैनन्।” उनले आफ्नो नाम नोबेल शान्ति पुरस्कारमा सिफारिस भएको भए पनि ‘वास्तविक पुरस्कार भनेको लाखौँ जीवन जोगाउनु हो’ भन्दै शान्ति प्रयासको महत्त्वमा जोड दिए।

साथै, उनले भारत र चीनलाई रुसी तेल खरिद जारी राखेर युक्रेन युद्धमा अप्रत्यक्ष रूपमा रुसलाई सहयोग गरेको आरोप पनि लगाए।