विश्वस्तरको श्रम बजारमा लोकप्रिय बनेको गिग अर्थतन्त्रको विकास र विस्तार नेपालको बढ्दो बेरोजगारी समस्याको न्यूनीकरणका लागि धेरै नै उपयोगी बन्न सक्छ।
इन्टरनेटमा आधारित प्लेटफर्महरूबाट छोटो समयका लागि नेपालीले रोजगारी पाइरहेका छन्। छोटो दूरीको सवारी साधन सेवा प्रदान गर्ने राइड सेयरिङ एप पठाओ होस् अथवा खानाको डेलिभरी गर्ने फुडमान्डू, यिनले कामदारहरूलाई क्षमता, समय र स्थानअनुसार काम गर्ने अवसर प्रदान गरेका छन्। यस किसिमको रोजगारी क्षेत्रगत हिसाबले गिग अर्थतन्त्रअन्तर्गत पर्दछन्।
विश्वमा गिग अर्थतन्त्रको इतिहास लामो छ। शब्दका हिसाबले नेपालमा नयाँजस्तो लागे पनि दुनियाँका लागि यो अभ्यास पुरानै हो। सन् २००० दशकको स्मार्टफोन विकास एवं इन्टरनेट पहुँच विस्तारले भने यसलाई नयाँ उचाइमा पुर्याएको छ। छोटो समयमा काम गरेर आर्जन गर्ने यस्ता प्लेटफर्महरू सन् २००८ को अमेरिकी आर्थिक मन्दीपछि ह्वात्तै बढेर गए। ‘राइड सेयरिङ’, खाना डेलिभरी, ‘फ्रिलान्स’ लेखन, ‘डिजाइनिङ’ र अनलाइन सेवाहरू लिने-दिने प्लेट फर्महरू’ विस्तार भए। सञ्चय कोष, सामाजिक सुरक्षा र स्थायी रोजगारी नभए पनि यसले एक तहसम्म बेरोजगारी समस्यालाई सम्बोधन गरिदियो।
आज संसारमा गिग अर्थतन्त्र आधारित थुप्रै प्रकारका डिजिटल प्लेटफर्महरू सञ्चालनमा छन्। घरेलु कामदारदेखि प्राज्ञिक र नीति नियमसँग सम्बन्धित श्रम र सेवा यस्ता प्लेटफर्ममा उपलब्ध छन्। रोजगार बजारमा डिजिटल प्लेटफर्मले गिग कामदारलाई क्षमता, समय र स्थानअनुसार काम गर्ने अवसरहरू प्रदान गरेका छन्। यसले अर्थतन्त्रको परम्परागत ढाँचामा परिवर्तन ल्याएको छ। रोजगारी सिर्जना र आर्थिक विकासको क्षेत्रमा सम्भावनाको नयाँ बाटो देखाएको छ।
पछिल्लो समय गिग अर्थतन्त्र विस्तारको प्रमुख आधार नै डिजिटल प्लेटफर्म बनेका छन्। यदि बलियो इन्टरनेट नेटवर्क र स्मार्टफोन नभएको भए यस्ता प्लेटफर्मको विकास र विस्तारको कल्पना गर्न पनि सकिँदैनथ्यो। गिग अर्थतन्त्रको विस्तारले मानिसलाई स्वतन्त्रता पनि प्रदान गरेको छ। स्वाभिमानको सुनिश्चतता गर्दै रुचि, क्षमताअनुसार रोजगारी सिर्जना गरिदिएको छ।
विश्व बजारमा तहल्का पिटेका गिग प्लेटफर्महरूले नेपालमा पनि रोजगारीको क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोलेका छन्। कतिपय प्लेटफर्म छोटो समयमै स्थापित हुन सफल पनि भएका छन्। फूडमान्डूजस्ता प्लेटफर्मले खाना डेलिभरीको काम गरिरहेछन्। टुटल, पठाओ, इन्ड्राइभर जस्ता डिजिटल प्लेटफर्मले छोटो दूरीमा यातायात सेवा उपलब्ध गराएका छन्। मोटरसाइकल वा ट्याक्सी चालकहरूले यस्ता कम्पनीसँग जोडिएर रोजगारी पाइरहेछन्। अपार्टमेन्ट खोज्नेदेखि कामदार खोज्ने र आपूर्ति गर्नेसम्मका काम डिजिटल प्लेटफर्महरूबाट भइरहेछन्। तर नेपालमा अझै पनि गिग अर्थतन्त्रका नयाँ आयाम समेट्ने कानुन छैनन्।
संसारका हरेक देशका मानिसले आफ्नो सोच, आवश्यकता र दक्षताका आधारमा यो अर्थतन्त्रको अभ्यास गर्ने गरेका हुन्। छोटो रूपमा बुझ्ने हो भने विश्वलाई एउटा साझा श्रम बजारमा जोड्ने डिजिटल प्लेटफर्ममा आधारित लचिलो वा अस्थायी खालका रोजगारीका अवसर सिर्जना गर्ने नयाँ आर्थिक प्रणाली नै गिग अर्थतन्त्र हो। जसले सेवा वा श्रममा आधारित कामको सिर्जना गर्दछ।
बढ्दो बेरोजगारी समस्या समाधानका लागि मानिसहरू आफैँले डिजिटल प्लेटफर्ममा कामको खोजी गर्ने अवस्था बनेको हो। जसको परिणाम आज संसारमा १ अर्ब ५७ करोडजति मानिस अर्थात् विश्वका श्रमिकको ४६ प्रतिशतभन्दा बढी कामदार गिग अर्थतन्त्रसँग जोडिएका छन्।
आज संसारमा गिग अर्थतन्त्रमा आधारित थुप्रै प्रकारका डिजिटल प्लेटफर्महरू सञ्चालनमा रहेका छन्। पछिल्लो समय यो अर्थतन्त्रले काम अर्थात् रोजगारीको परम्परागत ढाँचामा समेत परिवर्तन ल्याइदिएको छ। रोजगारी सिर्जना र आर्थिक विकासको क्षेत्रमा सम्भावनाको नयाँ बाटो देखाएको छ।
गिग अर्थतन्त्र विस्तारको प्रमुख आधार नै डिजिटल प्लेटफर्म हो। यदि डिजिटल प्लेटफर्म नभएको भए यसको विकास र विस्तार पनि सहज थिएन। आज यही प्लेटफर्मले काम दिने फर्म वा मानिस र काम गर्ने मानिसबीच सम्बन्ध स्थापित गर्दै गिग अर्थतन्त्रको विकासमा योगदान पुर्याएको छ। गिग कामदारलाई कार्यक्षेत्र अनुसार भौगोलिक सिमानामा नखुम्च्याइ डिजिटल प्लेटफर्ममार्फत उनीहरूको पहुँचलाई विश्वव्यापी रूपमा स्थापित गरिदिएको छ। डिजिटल प्लेटफर्मको प्रयोगमार्फत कामको सिर्जना हुँदा बेरोजगारी दर घटाउनसमेत सहयोग पुगेको छ। मानिसको रुचिअनुसारको कामको थालनी र काममा व्यक्तिको स्वतन्त्रता र स्वाभिमानको सुनिश्चितता समेत स्थापित गरेको छ ।
विश्वव्यापी असर
संसारमा गिग अर्थतन्त्रको थालनी २०औँ शताब्दीको अन्त्यतिर भए पनि सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कटपछि यो अर्थतन्त्र ह्वात्तै बढेको हो। त्यो समयमा आर्थिक मन्दीले अमेरिकाका धेरै बैङ्क टाट पल्टिएका थिए। थुप्रै ऋणीले बैंकसँग धितो राखेका घर सस्तो मूल्यमा गुमाएका थिए। बैङ्कहरूले कम आय भएका मानिसलाई प्रवाह गरेको ऋण उठ्न नसक्नु नै यो आर्थिक मन्दीको प्रमुख कारण थियो। अमेरिकाबाट सुरु भएको मन्दीको असर युरोप हुँदै विश्वभरि फैलियो। यो मन्दीले रोजगारी खोसेर धेरैलाई बेरोजगार बनाइदियो। त्यसपछि रोजगार खोसिएका मानिसले कामको नयाँ क्षेत्रको खोजी गर्न थाले।
आवश्यकताले नै कुनै नयाँ चिज सिर्जना गर्छ भनेझैँ अर्थतन्त्रको क्षेत्रमा गिग अर्थतन्त्र नयाँ स्वरूपमा फैलियो। यो आर्थिक प्रणालीले ‘एयर बी एन्ड बी’ (२००८), उबर (२००९), फाइबर (२०१०) जस्ता डिजिटल प्लेटफर्मलाई जन्म दियो। यस्ता डिजिटल प्लेटफर्मले वित्तीय सङ्कटका कारण रोजगारी गुमेका मानिसलाई अस्थायी प्रकारको रोजगारी सिर्जना गर्न र गिर्दो अर्थतन्त्रलाई उकास्ने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्यो।
परम्परागत रोजगारीमा संलग्न मानिसका लागि सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, बिमा र पेन्सनजस्ता सेवाहरू उपलब्ध छन्। गिग कामदारका लागि यी सेवा उपलब्ध हुँदैनन्।
आज विश्वमा आम्दानीका हिसाबले न्यून, मध्यम र उच्च स्तरसम्मका गिग्स् अर्थात् डिजिटल प्लेटफर्म सञ्चालनमा छन्। यस्ता प्लेटफर्ममा मानिसले धेरै कमाइ गर्न भने सक्दैनन्। गिग अर्थतन्त्रमा मध्यम स्तरका सेवाहरू पनि उपलब्ध छन्। प्राविधिक ज्ञान, सीप र अनुभवसँग सम्बन्धित यस्ता सेवामा ‘फ्रिलान्स डिजिटल’ कामजस्तै ग्राफिक्स डिजाइन, लेखन, अनुवाद, भिडियो सम्पादन आदि जस्ता काम पर्दछन्। ‘फिबेर’, ‘अप वर्क’ र ‘फ्रिल्यान्सर’ जस्ता डिजिटल प्लेटफर्मले आज विश्वभरिका गिग्स रोजगारदाता एवं कामदारलाई जोडेका छन्।
बढ्दो बेरोजगारी समस्या समाधानका लागि मानिसहरू आफैँले डिजिटल प्लेटफर्ममा कामको खोजी गर्ने अवस्था बनेको हो। जसको परिणाम आज संसारमा १ अर्ब ५७ करोडजति मानिस अर्थात् विश्वका श्रमिकको ४६ प्रतिशतभन्दा बढी कामदार गिग अर्थतन्त्रसँग जोडिएका छन्।
नेपाल सम्भावना
आजको रोजगार विश्व बजारमा तहल्का पिटेको गिग प्लेटफर्मले नेपालमा पनि रोजगारीको क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोलेका छन्। नेपालमा कोठा खोज्ने कामदेखि घरेलु कामदार आपूर्ति गर्ने कामसमेत डिजिटल प्लेटफर्मबाट भइरहे पनि यसको संरचनात्मक र कानुनी आधार बलियो छैन।
विश्व स्तरको श्रम बजारमा लोकप्रिय बनेको गिग अर्थतन्त्रको विकास र विस्तार नेपालको बढ्दो बेरोजगारी समस्याको न्यूनीकरणका लागि धेरै नै उपयोगी बन्न सक्छ। यो अर्थतन्त्रले साना व्यवसाय र स्टार्टअपलाई बजारमा प्रवेश गराउन मद्दत पुर्याउँछ, स्थानीय आर्थिक गतिविधि बढाउँछ। ‘ई–पेमेन्ट’ अर्थात् डिजिटल भुक्तानी प्रणालीलाई समेत प्रोत्साहन गर्ने भएकाले यो अर्थतन्त्रले नेपालको आर्थिक विकासमा निकै ठूलो भूमिका निर्वाह गर्न सक्ने देखिन्छ। त्यसैले यसलाई व्यवस्थित गर्न सरकारका तर्फबाट नीति र योजना ल्याउन ढिलो भइसकेको छ। डिजिटल प्लेटफर्ममार्फत हुने अस्थायी प्रकारको, आफ्नै क्षमता र इच्छा अनुसार सिर्जना हुने यी काममा नेपाली युवालाई जोड्नु सानै स्केलमा सही बेरोजगारी समस्याको एक तहसम्मको समाधान पनि हो। सिर्जनशील हुन सकेमा नेपालीले आफ्ना डिजिटल प्लेटफर्महरू निर्माण गरी आत्मनिर्भरताको बाटोसमेत अवलम्बन गर्न सक्छन्। घरेलु रूपमा मात्रै नभएर अन्तर्राष्ट्रिय अवधारणाका प्लेटफर्मसमेत विकास गर्न सक्छन्। यसले श्रम र सेवामा नेपाली युवालाई विश्वस्तरको प्रतिस्पर्धामा उभ्याउन पनि सहयोग पुग्नेछ।
रोजगारीको सिर्जनामार्फत व्यक्तिको आय आर्जन र अर्थतन्त्रको योगदान गर्न सक्ने यस गिग अर्थतन्त्रका चुनौतीहरू नेपालको सन्दर्भमा थुप्रै छन्। परम्परागत रोजगारीमा संलग्न मानिसका लागि सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, बिमा र पेन्सनजस्ता सेवाहरू उपलब्ध छन्। गिग कामदारका लागि यी सेवा उपलब्ध हुँदैनन्। अस्थायी प्रकारको रोजगारी भएकाले गिग कामदारले काम गरेको दिन आम्दानी हुने, नगरेको दिन नहुने अवस्था आफैँमा चुनौतीपूर्ण हो। फेरि नेपालमा गिग अर्थतन्त्रका विविध पक्षलाई समेट्ने स्पष्ट नीति, कानुन र संरचना पनि छैन।
नेपालका गिग प्लेटफर्महरूले स्थानीय कारोबारका लागि डिजिटल वालेट तथा बैंकिङ एपहरू प्रयोग गर्दै आएका छन्। विश्व बजारका अन्तर्राष्ट्रिय कम्पनीहरूले सामान्यत: ‘पे-पल’बाट कामदारलाई भुक्तानी गर्दछन्। राष्ट्र बैंकको नियमअनुसार यो अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीबाट आएको पैसा नेपालीले प्राप्त गर्न सक्दैनन्। यसले गर्दा नेपाली युवा विश्व बजारमा गिग कामदारका रूपमा जोडिन सकिरहेका छैनन्। रोजगार र डिजिटल उद्यमशीलता बढाउने ठूलो सम्भावना बोकेको यो अर्थतन्त्रको विकासका लागि नीति, नियमको सूक्ष्म संरचना निर्माण गर्नुपर्ने देखिन्छ। डिजिटल प्लेटफर्म विकास, गिग कामदारलाई प्राविधिक, वित्तीय सहजीकरण र नियमनका लागि एउटा छुट्टै निकायको स्थापना नेपालको खाँचो हो।
-रोकाले राजनीतिक–अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्।