काठमाडौँ। नेकपा एमालेका सचिव योगेश भट्टराईले गल्ती र कमजोरीहरूबाट सिक्दै पार्टी पुनर्गठनमा लाग्न अपिल गरेका छन्। बिहीबार एक भिडियो सन्देश जारी गर्दै भट्टराईले नयाँ चेतनासहित पार्टी र कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्न आवश्यक भएको बताए।
‘अहिले हामीले संविधानको रक्षा गर्नुछ, हाम्रो सार्वभौमिकता, राष्ट्रिय एकता र स्वाभिमानको रक्षा गर्नुछ। त्यसको लागि हामी सम्हालिएर नेकपा (एमाले)र कम्युनिस्ट आन्दोलनको रक्षा गर्नुछ। आवेग वा आरोप, प्रतिशोध वा प्रतिरक्षामा होइन वस्तुगत अवस्थालाई स्वीकार गर्ने साहस गर्नुपर्छ’, उनले भनेका छन्, ‘हाम्रो पार्टी, आन्दोलनलाई असाधरण योगदान गर्नु हुने तमाम नेता, कार्यकर्ता, बुद्धिजीवीहरू, आन्दोलनका सक्रिय समर्थक तथा शुभचिन्तकहरू, जसले हामीलाई आशाका नजरले हेरिरहनुभएका आम जनसमुदाय सबैलाई म भन्न चहान्छु, ‘गल्ती र कमजोरीहरूबाट हामी सिक्नेछौँ। र पार्टी र आन्दोलनलाई पुर्नगठन गर्नेछौँ।’
भट्टराईले इतिहासमा ठूला ठूला संकट र आँधीबेहरी पार गरेर यहाँसम्म आइपुगेको भन्दै त्यो स्वीकारोक्तिसहितको अभियानको लागि अपिल गरेका छन्। उनले भनेका छन्, ‘आत्मभर्त्सना बन्द गरौँ, आत्मसमीक्षा ढटेर गरौँ।’
सोभियत संघको पतनपछि कम्युनिस्ट आन्दोलन नै रक्षात्मक बनेको इतिहास कोट्याउँदै उनले त्यही बदलावपछि मदन भण्डारीले जनताको बहुदलीय जनवाद प्रतिपादन गरेको स्मरण गर्दै भने,‘२०६१ माघ १९ मा तात्कालीन राजा ज्ञानेन्द्रले संविधान र लोकतान्त्रिक प्रणालीमाथि ‘कू’ गर्दा पनि समाज र पार्टीमा आजको जत्तिकै संन्नटा छाएको थियो। त्यसबेला पार्टीकै युवा पुस्ताले अग्रसता लिएर पार्टी पुर्नगठनको बहस चलायो। अन्ततः नेकपा (एमाले)को नवौँ महाधिवेशनले पार्टी पुर्नगठनको एजेन्डा स्वीकार गर्यो। पार्टीको आन्तरिक लोकतन्त्रलाई प्रणालीगत रूपमा स्थापित गर्यो। पार्टी बच्यो, आन्दोलन सफल भयो।’
उनले एउटा सिंगो पुस्ता आक्रोश र आशा सँगसँगै लिएर बसेको साथै २३ भदौको आन्दोलनको सत्यलाई स्वीकार गर्नुपर्ने भन्दै बदलिएका आवश्यकता र अपेक्षाहरू पूरा गर्न असफल भएकामा माफी पनि मागेका छन्।