मिर्गौला तस्करहरूको पहिलो निसानामा छन्- गरिब र दलित
सिन्धुपाल्चोकका ४८ वर्षीय श्याम र ४७ वर्षीया गीता नेपाली (नाम परिवर्तन) काठमाडौँ, बालाजुस्थित गलैँचा उद्योगमा काम गरिरहेका थिए। महिनामा २०-२५ हजार आम्दानी हुन्थ्यो। कोठाभाडा, खाना अनि दुई छोराको पढाइ। हरेक महिना खर्च धान्न सकस पर्थ्यो।
वैशाख २०७९ मा श्याम नुवाकोटको बेलकोटगढी नगरपालिका-९ मा आफन्तको घर जाँदा २४ वर्षीय समीर नेपालीसँग भेट भयो। समीर काठमाडौँ, नयाँबजार बस्थे। चिनापर्चीपछि समीरले काम र कमाइबारे सोधे। श्यामले आफ्नाबारे बताएपछि समीरले भने, “भारतको गोवामा सिलाइकटाइकै काम लगाइदिउँला, महिनाको ३०-४० हजार भारुमा काम मिलाइदिन्छु, जाने भए भन्नुहोस्।” श्यामले समीरको मोबाइल नम्बर लिए।
काठमाडौँ आएपछि श्यामले श्रीमतीसँग कुराकानी गरे। “भैगो, यहीँ काम गरेर बसौँला,” श्रीमतीले भनिन्।
एकातिर गरिबी बढेकोबढ्यै, अर्कातिर गलैँचा उद्योगमा कहिल्यै पैसा नबढ्ने। समीरले भारतमा काम लगाइदिने भनेको दुई वर्षसम्म जसोतसो टिकेका श्याम अब भने थामिएनन्। जेठ २०८१ मा फोन गरे र माछापोखरीमा भेट्न बोलाए। र, गोवा जान आफू तयार रहेको र यसका लागि प्रबन्ध मिलाइदिन अनुरोध गरे। समीरले ‘हुन्छ’ त भने। तर, स्पष्ट खुलाएनन्।
चौथोपटकको भेटमा भने समीरले फरक कुरा गरे, “भारतमा मिर्गौला बेच्न सकिन्छ, ६ लाख आउँछ, एउटा मिर्गौला भए पनि बाँचिहालिन्छ!”
श्यामले अलि अप्ठ्यारो मान्दै सोधे, “मिर्गौला नै बेच्ने?” समीरले आश्वस्त पार्दै मिर्गौला दान गर्दा धर्मसमेत कमाइने र मिर्गौला दिने मानिस खोजे प्रतिव्यक्ति २५ हजारसम्म दिने लोभ देखाए। घर फर्केपछि मिर्गौला बेच्ने प्रस्तावबारे श्रीमतीलाई सुनाए। श्रीमतीले मान्दै मानिनन्। यसबीचमा उनीहरूमाझ गरिबी कसरी घटाउने विषयमा सरसल्लाह, विवाद भइरहन्थ्यो। मथिंगलमा मिर्गौला, पैसा घुमिरहन्थ्यो। एकदिन बिछ्यौनामा पल्टिएका बेला श्रीमान्-श्रीमतीले मिर्गौला बेच्ने सल्लाह टुंग्याए- ‘बाँचे सँगै बाँचौँला, मरे सँगै मरौँला, दुवै जनाले मिर्गौला बेचौँ।’
भोलिपल्टै घरायसी कुरा मिलेको भनी श्यामले समीरलाई सुनाए। त्यही दिन समीरले श्यामलाई नयाँबजारको एउटा क्लिनिकमा पुर्याए। रगत जाँच गराए। मिर्गौलामा समस्या नरहेको खुलेपछि भारत लैजाने चाँजो मिलाउन थाले।
रगत जाँच गराएको एक सातापछि समीरको फोन आयो। “तपाईंहरूको ११ बजेको फ्लाइट छ, तयार हुनुहोला, म ट्याक्सी लिएर आउँछु,” जेठको एक दिन समीरले भने।
बिहान ९ बजे विमानस्थलमा ब्याङ्लोरको टिकट थमाए। दिल्ली ट्रान्जिट थियो। कहिल्यै जहाज नचढेका श्याम र गीता एयर इन्डियाको जहाज चढे। दिल्ली हुँदै ब्याङ्लोर विमानस्थल पुग्दा एक व्यक्ति उनीहरूलाई लिन आएका थिए। ट्याक्सीमा राखेर डेढ घन्टा टाढा रहेको तीनतले होटल पुर्याए। सबैभन्दा माथिल्लो तलामा राखे। “बाहिर ननिस्किनुस् है, पुलिसले सोधीखोजी गर्ला,” ती व्यक्तिले सचेत गराए।
भोलिपल्ट ती एजेन्टले एउटा क्लिनिकमा लगे। रगत, पिसाब, एक्सरे, अल्ट्रासाउन्डलगायत सबै परीक्षण गराए। दुवैको मिर्गौला ठीक भएको पक्का भएपछि ती एजेन्टले हैदराबादको एउटा अस्पताल पुर्याए।
“हामीलाई बेडमा सुत्न भनियो, अनि बेहोस बनाएर मिर्गौला झिकेछन्,” श्याम भन्छन्। ब्युझिँदा उनीहरूको जीउ दुखिरहेको थियो।
अहिले पक्राउ परेको मिर्गौला तस्कर गिरोहको कथा आफैँमा विडम्बनापूर्ण छ। पक्राउ परेकामध्ये दुई जनाको एउटा मिर्गौला छैन। उनीहरू स्वयं पनि पीडित देखिन्छन्।
मिर्गौला झिकेको ६ दिनसम्म उनीहरूलाई त्यही अस्पतालमा राखियो। घाउ अलि निको भएपछि डिस्चार्ज गरेर दुई दिन अर्कै होटलमा लगियो।
सन्चो भएपछि ती एजेन्टले दुवै जनालाई १०-१० हजार भारु दिए। फर्किन रेलको टिकट थमाए। गोरखपुर हुँदै सुनौलीसम्म रेलमा आए। त्यहाँ आइपुग्दा उनीहरूलाई लिन समीर आफैँ पुगेका थिए। उनले दुवैलाई बस चढाएर काठमाडौँ ल्याए। बाँकी पैसा माग्दा समीरले भने, “मिर्गौला लिने साहुले पैसा दिइसकेको छैन।”
दुई-तीन महिना कुरेपछि समीरले ११ लाख रुपैयाँ थमाइदिए। बाँकी एक लाख भने दिएनन्।
२१ साउनमा मानव बेचबिखन ब्युरोको टोलीले समीरलाई समात्यो। उनी समातिएपछि श्याम र गीताले प्रहरीमा पुगेर आफ्नो कथा सुनाए।
मिर्गौला बिक्रीका लागि झन्डै दुई महिना भारत बस्दा श्याम र गीताको गलैँचा उद्योगको जागिर पनि गयो। अहिले टेलरिङ चलाएर बसिरहेका छन्। “नयाँ कपडा हत्तपत्त पाउँदिनँ, पुराना टालटुल पारिरहेको छु,” नेपालन्युजको सम्पर्कमा उनले भने, “कहिले पेट दुख्ने, वाकवाकी लाग्नेजस्ता समस्या भइरहन्छ।”
दुवैतिर गिरोह
मिर्गौला बेच्न दलालीको काम गरेको आरोपमा प्रहरीले काभ्रे पाँचखाल नगरपालिका-१० का ३५ वर्षीय राजकुमार परियार र नुवाकोट बेलकोटगढी नगरपालिका-४ का ४७ वर्षीय राकेश नेपालीलाई पनि पक्राउ गरेको छ। राजकुमार र राकेशले गत जेठमा सिन्धुलीका एक पुरुषलाई काठमाडौँबाट भैरहवाको सुनौली सीमा हुँदै भारतको चण्डीगढ पुर्याएका थिए।
चण्डीगढको एक होटलमा मासिक १० देखि २० हजार भारु कमाइ हुने लोभ देखाएर यी दुईले पीडितलाई अपार्टमेन्टमा राखेर क्लिनिकमा जाँच गराएका थिए। ९ साउनमा चण्डीगढकै अस्पतालमा पीडितको बायाँ मिर्गौला झिकियो। साउन १५ गते १० हजार रुपैयाँ बाटो खर्च दिएर उनलाई काठमाडौँ फर्काइदिए। दिने भनिएको ६ लाख नै दिएनन्।
त्यसपछि ती व्यक्तिले मानव बेचबिखन ब्युरोमा उजुरी दिएका थिए। “ती व्यक्तिको उजुरीका आधारमा तीन जना व्यक्ति समातिएपछि दलित दम्पतीले थाहा पाएर प्रहरीमा आइपुगेका थिए,” मानव बेचबिखन ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णप्रसाद पंगेनी भन्छन्।
पंगेनीका अनुसार आरोपीहरू लामो समयदेखि नेपाल र भारत दुवै देशमा बसेर योजनाबद्ध रूपमा मिर्गौलाको अवैध कारोबारमा संलग्न रहेको खुलेको छ। पीडितहरूको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर भारतको ब्याङ्लोर, कलकत्ता र चण्डीगढ पुर्याउने गरेको पाइएको छ। मिर्गौलाको अवैध कारोबारबारे गत वर्ष साउनमा पनि प्रहरीमा दुई जनाले जाहेरी दिएका थिए। जाहेरी दिने धेरै दलित समुदायका छन्।

प्रहरीले यस अपराधमा थप तीन नेपाली संलग्न रहेको बताएको छ। “अहिलेसम्म यी आरोपीसहितका अन्य तीन व्यक्तिले ५०-६० जनालाई भारत लगेर मिर्गौला झिकिसकेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,” पंगेनी भन्छन्। नेपालमा मानिस भेला पार्ने, भारतमै बसेर एजेन्टको जिम्मा लगाउन समन्वय गर्ने गिरोह पनि नेपाली रहेको बुझिएको उनको दाबी छ।
२०७६ सालयता मानव बेचबिखन ब्युरोमा मिर्गौला झिकिएका १४ जनाले उजुरी दिएका छन्। हालसम्म मिर्गौला तस्करीको आरोपमा ३८ जना पक्राउ परेका छन्।
दलालकै छैन मिर्गौला
अहिले पक्राउ परेको मिर्गौला तस्कर गिरोहको कथा आफैँमा विडम्बनापूर्ण छ। पक्राउ परेकामध्ये दुई जनाको एउटा मिर्गौला छैन। उनीहरू स्वयं पनि पीडित देखिन्छन्।
प्रहरीका अनुसार राजकुमारले ९-१० वर्षअघि तीन लाख रुपैयाँमा कलकत्तामा मिर्गौला बेचेका थिए। उनलाई नारायण मिजारले कलकत्ता पुर्याएका थिए। नारायण पनि प्रहरीको खोजीमा छन्। त्यसपछि यो सञ्जाल बुझेका राजकुमार गरिब-निमुखालाई पैसाको लोभ देखाउँदै मिर्गौला तस्करीमा लागे।
भारतमा गएर प्रत्यारोपण गर्नेलाई अंग दिने ९९ प्रतिशत व्यक्ति ‘फेक डोनर’ हुन्।
नुवाकोटका समीरलाई भने राकेशले गिरोहको सम्पर्कमा पुर्याएका थिए। दुई वर्षअघि राकेशले बेरोजगार समीरलाई अर्का एक व्यक्तिको सम्पर्कमा पुर्याएका थिए। उनलाई पनि सुरुमा भारतमा जागिरको लोभ देखाइएको थियो। पछि राकेशले भारतमा मिर्गौला बेच्न सकिने भन्दै आर्थिक प्रलोभन देखाए। चण्डीगढमा मिर्गौला झिकेबापत आफूले सात लाख रुपैयाँ पाएको समीरले प्रहरीलाई बताएका छन्। त्यसपछि समीरसमेत मिर्गौला तस्करी धन्दामा लागेको देखिन्छ।
राकेशले भने मिर्गौला बेचेका छैनन्। “स्वास्थ्य जाँच गर्दा मिर्गौला झिक्न मिल्दैन भनेकाले नेपाल फर्किएको उनले भन्ने गरेका छन्,” पंगेनी भन्छन्।
कानुनमा बाधा, तस्करीको सहारा
सहमतिमा नै किन नहोस्, एक देशबाट अर्को देशमा लगेर मानव अंग झिक्नु गैरकानुनी हो। यस्तो कसुर गर्ने र गराउने व्यक्तिलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार १० वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ।
मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली, २०७३ अनुसार बिरामीको नजिकका नातेदारले अंग दान गर्न सक्छन्। यसमा अंग लिने र दिने दुवैको सहमति चाहिन्छ।
मन्जुरी दिने व्यक्तिको अंग झिक्दा शारीरिक अवस्था ठीक भएको हुनुपर्छ। जोडी अंगमध्ये एक झिक्दा तत्कालै मानिसको मृत्यु नहुने, स्थायी रूपमा अपांग र अशक्त नहुने भनी कम्तीमा दुई जना सम्बन्धित चिकित्सकले प्रमाणित गरिदिएको हुनुपर्छ।
ग्रान्डी अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. प्रेमराज ज्ञवालीका अनुसार नेपालमा मिर्गौला नपाएपछि भारत गएर प्रत्यारोपण गर्नेहरू थुप्रै छन्। भारतमा गएर प्रत्यारोपण गर्नेलाई अंग दिने ९९ प्रतिशत व्यक्ति ‘फेक डोनर’ हुन्। “मिर्गौला फेल भएका व्यक्तिहरूले नेपालमा दाता खोजिरहेका हुन्छन्, जब आफन्त-नातेदारबाट पाइँदैन, अनि यस्तै बाटो अपनाउँछन्,” ज्ञवाली भन्छन्, “पैसाको खाँचो भएका मानिसहरू समस्या टार्न मिर्गौला बेचिरहेका छन्।”
ज्ञवाली दाताको स्वास्थ्यमा दीर्घकालीन समस्या नआउने अवस्थामा मात्रै नेपालमा अंग झिकेर अर्को व्यक्तिलाई दान गर्न चिकित्सकले सिफारिस गर्ने बताउँछन्। उनी भन्छन्, “अन्य मुलुक गएपछि व्यक्तिको स्वास्थ्य समस्याको दीर्घकालीन अवस्था नहेरिन पनि सक्ने भएकाले जोखिम उच्च रहन्छ। मिर्गौला दान गर्छु भनेर मात्र पनि हुँदैन। प्रत्यारोपण गर्न लागिएको व्यक्तिको शरीरमा मिल्नुपर्ने खालको हुनुपर्छ।”
नेपालमा मस्तिष्क मृत्यु भएको व्यक्तिबाट अंग झिकेर बिरामीमा प्रत्यारोपण गर्न सकिने कानुनी व्यवस्था छ। मस्तिष्क मृत्युमा समेत पारिवारिक सहमति चाहिन्छ।
२०७७ सालमा नक्कली नाता प्रमाणित गराएर अर्कैको मिर्गौला झिकी प्रत्यारोपण गराएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो। कागजात बनाउने ललितपुर पुल्चोकस्थित निदान अस्पतालका सीईओ विपेन्द्र प्रधान, अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डा. राजेश पन्त, मिर्गौला लिने शंकरलाल लामा र जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत रामचन्द्र आले पक्राउ परेका थिए।
लामालाई २९ जेठ २०७६ मा निदान अस्पतालमा मिर्गौला प्रत्यारोपण गराइएको थियो। प्रत्यारोपणको सिफारिस बनाउँदा ओखलढुंगाका २७ वर्षीय युवालाई लामाको नक्कली भान्जा बनाइएको थियो। “त्यो घटनापछि नेपालमा नक्कली दाता बनाएर वा अन्य कुनै गैरकानुनी किसिमले मिर्गौला झिकिएको घटना बाहिर आएको छैन,” ब्युरो प्रमुख पंगेनी भन्छन्।