११ आश्विन २०८२
अ+
अ-

इस्लामावाद। पाकिस्तानको पञ्जाब प्रान्तमा मनसुनी बाढीबाट ४२ लाख भन्दा बढी मानिसहरु प्रभावित हुनुका साथै दक्षिणी जिल्लामा धेरै असर पारेको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (युएनओसएचए) ले जनाएको छ।

सेप्टेम्बर ८ देखि १८ सम्म प्रदेश सरकारसँगको संयुक्त सहकार्यमा गरिएको सर्वेक्षणमा बाढी प्रभावित १८ जिल्लाका करिब २ हजार गाउँलाई समेटिएको जनाइएको छ। यस सर्वेक्षणले लगभग २८ लाख मानिस विस्थापित बनाएको लगभग एक लाख ६१ हजार ७०० घर क्षतिग्रस्त भएको तथा स्वास्थ्य र शिक्षाका पूर्वाधारमा व्यापक क्षति पुगेको देखाएको छ।

पाकिस्तानको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणका अनुसार जुन २६ देखि सेप्टेम्बर १९ का बीचमा देशभर करिब ३० लाख मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको थियो।

बाढीका कारण १२ हजार ५५९ घर क्षतिग्रस्त हुनुका साथै छ हजार ५०९ वस्तुको ज्यान गएको जनाइएको छ। यसअघि प्रधानमन्त्री शाहबाज सरिफले बाढीमा ज्यान गुमाउनेको परिवारका लागि अनुदान रकम दोब्बर गर्ने घोषणा गर्दै १० लाख बाट बढाएर २० लाख रुपियाँ  पुर्याएका थिए।