काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

अनुभूति

त्रिवि मैदानलाई अन्तर्राष्ट्रिय स्तरमा परिणत गरेपछि जीटीभीको अझ ठूलो योजना थियो, नेपालमा। उनीहरू भारत र पाकिस्तानको मात्र होइन, अस्ट्रेलिया र वेस्ट इन्डिजजस्ता टोलीलाई पनि यहाँ ल्याएर प्रतियोगिता खेलाउन चाहन्थे।

११ आश्विन २०८२
क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे र इन्सेटमा जीटीभीले प्रस्ताव गरेको कीर्तिपुर मैदानको डिजाइन। तस्बिर : बिक्रम राई/नेपालन्युज
अ+
अ-

भारतमा राजनीतिकर्मी र पत्रकारलाई क्रिकेटले कसरी जोडेको छ, त्यसको अनुपम उदाहरण हो– नयाँ दिल्लीमा हरेक वर्ष आयोजना हुने संसदीय दलका नेता र पत्रकारबीचको क्रिकेट प्रतियोगिता। यो प्रतियोगिता भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूको पालादेखि हुँदै आएको छ।

सन् १९९० मा कामको सिलसिलामा म नयाँ दिल्ली पुग्दा यही प्रतियोगिता आयोजना भइरहेको थियो।

त्यतिबेला मध्य प्रदेशका प्रभावशाली सांसद माधवराव सिन्ध्या भर्खरै भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को अध्यक्ष नियुक्त भएका थिए। उनीसँग पहिलेदेखि नै मेरो चिनजान थियो। हाम्रो परिवारसँग निकट युवराजशमशेर राणाकी छोरी माधवीसँग उनको बिहे भएको थियो।

प्रतियोगिता चलिरहेकै बेला उनलाई भेट्न दिल्लीस्थित फिरोज शाह कोट्ला रंगशाला पुगेँ। उनले भने, “अब हामी सारजाह (यूएई)मा पाकिस्तानसँग क्रिकेट खेल्दैनौँ। भारतमा धेरै विरोध हुन थाल्यो।”

भारत र पाकिस्तानबीच सन् १९८० को दशकदेखि सारजाहमा क्रिकेट प्रतियोगिता आयोजना हुँदै आएको थियो। तर, प्रतियोगितामा भारत प्रायः पराजित हुन्थ्यो। यही कारण संसद् भवनदेखि सडकसम्म बीसीसीआईको चर्को आलोचना भइरहेको थियो।

संवादकै क्रममा माधवरावले अप्रत्याशित प्रस्ताव राखे, “हामी तटस्थ ठाउँको खोजीमा छौँ। तिमीहरू इच्छुक छौ?”

उनको प्रस्ताव सुन्नेबित्तिकै मेरो दिमागमा बत्ती बल्यो। मैले केही नसोची जवाफ दिएँ, “हामी इच्छुक छौँ।”

यसपछि उनले मलाई जीटीभीका मालिक सुवास चन्द्रासँग तुरुन्त भेट्न भने। चन्द्रा ताज प्यालेस होटलको स्विट रुममा बसेका थिए। माधवले मलाई उनी बसेको होटलको कोठा नम्बर उपलब्ध गराए।

त्यस दिनको खेल सकिएपछि म चन्द्रालाई भेट्न सोझै होटल पुगेँ। ताज प्यालेसको भव्य कोठामा चन्द्रा एक्लै बसेका रहेछन्। उनलाई आफ्नो परिचय दिएँ। माधवरावले भेट्न पठाएको भनेपछि उनको कुरा गर्ने शैली नै बदलियो। भन्न थाले, “त्यही त, बीसीसीआईले तटस्थ स्थानको खोजी गरिरहेको छ। मेरो विचारमा मलेसिया र नेपाल उपयुक्त होला। तपाईंहरूकहाँ क्रिकेट खेल्ने उपयुक्त मैदान छ त? हामी रंगशाला बनाउन तयार छौँ।”

उनलाई भेट्न जाँदासम्म मैले कुरा राम्रोसँग बुझेको थिइनँ। मलाई लागिरहेको थियो, बीसीसीआईले अग्रसरता देखाएको होला। तर, मेरो बुझाइ उल्टो रहेछ। भारतीय क्रिकेटका लागि उपयुक्त मैदान बनाउने अभियान जीटीभीले सुरु गर्न लागेको रहेछ।

चन्द्राको प्रश्न भुइँमा खस्न नपाउँदै मैले भनेँ, “जति पनि छ। काठमाडौँमा जताततै खाली मैदान छ।”

आजभन्दा ३५ वर्षअघि काठमाडौँमा कति नै संरचना बनेका थिए र? सबै खाली नै थियो। अहिलेजस्तो चारैतिर घर बनेका थिएनन्।

मेरो कुराले उनी प्रभावित भए। माधवरावको इच्छा पनि भारतीय क्रिकेटका लागि नेपालजस्तो तटस्थ स्थानमा मैदान बनोस् भन्ने नै थियो। किनभने, नेपाल उनको ससुराली। सन् १९७५ मा भारतमा ‘इमर्जेन्सी’ लागु हुँदा उनी भागेर काठमाडौँ आएका थिए।

विनयराज पाण्डे। तस्बिर : बिक्रम राई/नेपालन्युज

सुवास चन्द्रासँग सकारात्मक कुरा भएपछि म छिटै काठमाडौँ फर्किएँ। उनले केही दिनभित्रै आफ्ना भाइ लक्ष्मीलाई पठाए। लक्ष्मी चन्द्रासँगै काठमाडौँमा मैदान हेर्न आउने टोलीमा एक जना पत्रकार पनि खटिएका थिए, टाइम्स अफ इन्डियाका मि. तिवारी।

तर क्रिकेटका लागि मैदान भेट्न धौ धौ पर्‍यो। मलाई लागेको थियो, खासै घर नबनेको काठमाडौँमा क्रिकेट मैदान फेला पार्न के नै गाह्रो होला र! तर, जता दौडिँदा पनि मैदान बनाउन मिल्ने उपयुक्त ठाउँ भेटिएन।

हाल सशस्त्र प्रहरी बलको मुख्यालय रहेको हलचोकमा त्यसबेला नेसनल कन्स्ट्रक्सन कम्पनी नेपाल (एनसीसीएन)को कार्यालय थियो। त्यो कम्पनी खारेज हुन लागेकाले हलचोकमा रहेको मैदान क्रिकेटका लागि उपयुक्त हुने हाम्रो अनुमान थियो। चोभारमा रहेको मल पोखरी पनि मैदानका लागि अर्को विकल्प थियो। यसका लागि अध्यक्ष जयकुमारनाथ शाहले राजदरबारमा ‘लबिइङ’ गर्न थाल्नुभयो। म स्थानीय तहमा खटिएको थिएँ। तर, जति नै लबिइङ गर्दा पनि मैदान पाउन सकेनौँ।

लक्ष्मी चन्द्रा र भारतीय पत्रकार निराश भएर दिल्ली फर्किए। हाम्रा लागि लज्जाको विषय बन्यो।

यो घटना भएको अर्को वर्षपछि भारतले सारजाहमा पाकिस्तानविरुद्ध क्रिकेट नखेल्ने घोषणा गर्‍यो। हाम्रो छटपटी झन् बढ्यो।

सन् १९९२ मा एउटा भोजमा मेरो भेट मंगलसिद्धि मानन्धरसँग भयो। त्यतिबेला उनी त्रिभुवन विश्वविद्यालयमा पढाउँथे, मन्त्री भइसकेका थिएनन्। उनी पनि क्रिकेट र फुटबलका पूर्वखेलाडी। त्रिविमा पढ्दा हामी एकै ब्याची थियौँ। भोजमा मेरो मलिन अनुहार देखेपछि सोधे, “के भयो बिनु? किन उदास?”

मलाई दुई वर्षअघि काठमाडौँमा क्रिकेट मैदान बनाउन नपाएकोमा आत्मग्लानि भइरहेको थियो। जीटीभीको त्यति ठूलो प्रस्ताव गुम्ने डरले मुटु कुटुकुटु खाइरहेको थियो। भनेँ, “हेर न यार, क्रिकेट मैदान बनाउने यति ठूलो मौका गुम्ने भयो।”

मेरो त्यो कुरा सुनेपछि उनले हाँस्दै भने, “यति सानो कुराका लागि किन दुःख मानिरहेको? हाम्रै त्रिविको मैदान छ नि, त्यही प्रयोग गरे भइहाल्छ नि।”

यसपछि मलाई झल्याँस्स याद आयो, त्रिभुवन विश्वविद्यालयभित्र रहेको फुटबल मैदान। अहिले त्रिविमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले फुटबल खेलिन्थ्यो। त्यहाँ केही समयअघि सार्कस्तरीय फुटबल प्रतियोगिता पनि आयोजना भएको थियो। मंगलसिद्धिले भने, “भोलि आऊ, म ठाउँ देखाइदिन्छु।”

भोलिपल्ट बिहानै त्रिविको फुटबल मैदान पुगेँ। मैदान अलि सानोजस्तो लाग्यो। सबैतिर निरीक्षण गरेपछि उनलाई भनेँ, “म एक्लै निर्णय लिन सक्दिनँ। जीटीभीलाई सोध्नुपर्छ।”

सानै भए पनि मैदान भेटिएकोमा मन प्रसन्न थियो। तर, जीटीभीले अस्वीकार गर्ने हो कि भन्ने चिन्ता पनि लागेको थियो।

संसारभरिका नामुद खेलाडीको जमघट भएको त्यस प्रतियोगिताले विश्व क्रिकेटमा नेपाललाई पहिलोपल्ट चिनाउने काम गर्‍यो।

मैले तुरुन्त भारतमा खबर गरेँ। उनीहरूले मैदानको निरीक्षण गर्न पन्जाबबाट एक जना ‘क्युरेटर’ पठाए। उसले मैदान हेरेपछि ‘ठीक छ’ भन्यो। यसपछि हामीलाई के चाहियो! नेपालमा पहिलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्ने कुराले सबै जना दंग भयौँ।

तर, यसपछि पनि हामीमाझ एउटा द्विविधा थियो। त्यो के भने, त्रिवि र नेपाल क्रिकेट संघ (क्यान)बीच कुनै सम्झौता भएको थिएन। पछि मंगलसिद्धिकै सक्रियतामा उनी, म र त्रिवि विद्यार्थी संघका अध्यक्ष रहेको तीनसदस्यीय समिति गठन भयो। सोही समितिले त्रिविसँग पाँच वर्षका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्‍यो।

मेरो भनाइ थियो, जीटीभीले ठूलो लगानी गरेर रंगशाला बनाउन लागेको हो। त्यसैले पाँच वर्षको छोटो अवधि उनीहरूका लागि स्वीकार्य नहुन सक्छ। तर, मंगलसिद्धिले मलाई मनाए। उनले भने, “अहिले पाँच वर्ष ठीकै छ। पूर्वाधार बनेपछि कसले उठेर जा भन्छ?”

मलाई उनको कुरा ठीकै लाग्यो। जीटीभीलाई पनि यही भनेर मनाएँ। यसपछि त्रिवि मैदानमा धमाधम काम सुरु भयो।

सडक विभागबाट डोजरदेखि थ्रेडिङ मेसिनसम्मको बन्दोबस्त भयो। जीटीभीले ‘विश्वविद्यालय इन्ड’ तर्फ ड्रेसिङ रुमदेखि भीआईपी लाउन्जसम्म बनायो। पूरै मैदान तयार पार्न करिब दुई वर्ष लाग्यो।

यस अवधिमा जीटीभीले भारत, पाकिस्तानलगायत विश्व–११ को नाममा वेस्ट इन्डिज, न्युजिल्यान्ड, अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र श्रीलंकाका दिग्गज खेलाडीहरू जम्मा पारेर तीन वटा टोली तयार पार्‍यो। यही टोली समावेश भएको ‘टेम्पो विश्व लिजेन्ड कप’ प्रतियोगिता सन् १९९९ को मेदेखि त्रिवि मैदानमा सुरु भयो।

प्रतियोगिता खेल्न सन् १९८३ मा भारतलाई पहिलो विश्व क्रिकेट प्रतियोगिता जिताउने कप्तान कपिल देवको नेतृत्वमा भारतको भेट्रान क्रिकेट टिम नेपाल आएको थियो। यस्तै, पाकिस्तानका विश्वचर्चित लेग स्पिनर अब्दुल कादिरको कप्तानीमा पाकिस्तान भेट्रान र वेस्ट इन्डिजका पूर्वविकेटकिपर डेरेक मुरेको कप्तानीमा ‘रेस्ट अफ वर्ल्ड भेट्रान’ समावेश थियो।

संसारभरिका नामुद खेलाडीको जमघट भएको त्यस प्रतियोगिताले विश्व क्रिकेटमा नेपाललाई पहिलोपल्ट चिनाउने काम गर्‍यो। प्रतियोगिताको उपाधि कपिल देवको नेतृत्वमा रहेको भारतको भेट्रान टोलीले जित्यो। पुरस्कार बाँड्न तत्कालीन युवराज दीपेन्द्र मैदानमा आएका थिए।

सन् १९९९ मा त्रिवि क्रिकेट मैदानमा जीटीभीले आयोजना गरेको टेम्पो लिजेन्ड कपका विजेता भारतीय टोलीका कप्तान कपिल देवलाई ट्रफी हस्तान्तरण गर्दै तत्कालीन युवराज दीपेन्द्र शाह र दोस्रो फोटोमा पत्रकारहरूलाई अटोग्राफ दिइरहेका कपिल देव। तस्बिर : एजेन्सी

उक्त प्रतियोगिताको स्टार–स्पोर्टस् टिभीले प्रत्यक्ष प्रसारण गरेको थियो। नेपाल टेलिभिजनले पनि त्यसको प्रत्यक्ष प्रसारण गर्ने अवसर पायो। नेपालमा क्रिकेट लोकप्रिय बनाउने हो भने नेपाली च्यानलबाट प्रत्यक्ष–प्रसारण नगरी सम्भव छैन भनेर हामीले जीटीभीलाई मनाएका थियौँ। हाम्रो कुरामा उनीहरू सहमत भए, र विनालगानी नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्न पायो।

जीटीभीले आयोजना गरेको यो प्रतियोगिता हेर्न भारत, पाकिस्तान, श्रीलंका, बाङ्लादेशलगायत थुप्रै देशका राष्ट्राध्यक्षहरू काठमाडौँ आएका थिए। होटल याक एन्ड यतीमा एसियाली क्रिकेट महासंघ (एसीसी)को बैठक नै बसेको थियो। त्यतिबेला सबै देशका राष्ट्राध्यक्षहरूले नेपालमा क्रिकेट संस्कृति राम्रो रहेको प्रतिक्रिया दिँदै ‘न्युट्रल भेन्यु’ का लागि काठमाडौँ उपयुक्त रहेको बताए।

भारतीय लगानीमा बनेका विकास निर्माणका कामलाई माओवादीले निसाना बनाउन थाल्यो। यसबाट अत्तालिएको जीटीभीले एक्कासि घोषणा गर्‍यो, ‘नेपालमा बनाउने रंगशालाको योजनाबाट हामीले हात झिकेका छौँ।’

त्रिवि मैदानलाई अन्तर्राष्ट्रिय स्तरमा परिणत गरेपछि जीटीभीको अझ ठूलो योजना थियो, नेपालमा। उनीहरू भारत र पाकिस्तानको मात्र होइन, अस्ट्रेलिया र वेस्ट इन्डिजजस्ता टोलीलाई पनि यहाँ ल्याएर प्रतियोगिता खेलाउन चाहन्थे। यस्तै, उनीहरू जीटीभीको छुट्टै खेलकुद च्यानल पनि सार्वजनिक गर्ने अभियानमा थिए। ‘टेम्पो विश्व लेजेन्ड कप’ आयोजनाकै क्रममा उनीहरूले मैदानमा जी–स्पोर्टस्‌को प्रचार गर्दै एउटा ब्यानर पनि टाँगेका थिए।

ठूलो तामझाम र लगानीसहित ‘टेम्पो विश्व लेजेन्ड कप’ सफलताका साथ सम्पन्न भएपछि जीटीभीका मालिक सुवास चन्द्रा दंग थिए। उनले निकट भविष्यमै त्रिवि मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुन्दर बनाउन नेपाली ‘आर्किटेक्ट’ को प्रयोग गर्ने बताए। यसका लागि एउटा नमुना पनि तयार पारिएको थियो।

जीटीभीका संस्थापक सुवास चन्द्रा र उनले परिकल्पना गरेको त्रिवि मैदानको स्केच। तस्बिर : एजेन्सी

जीटीभीले नेपालमै बसेर काम गरिरहेको अवस्थामा सन् २००५ मा म क्यानको अध्यक्ष भएँ। त्यतिबेला त्रिविसँग हाम्रो पाँचवर्षे सम्झौता सकिएर नवीकरण भएको थिएन। विश्वविद्यालयको उपकुलपति थिए, नाट्यसम्राट् बालकृष्ण समका छोरा नवीनजंग राणा। उनीसँग पुरानै दोस्ती थियो मेरो। ब्याडमिन्टनका पूर्वखेलाडी थिए उनी।

बीपी कोइरालाका छोरा श्रीहर्ष र म नवीनजंगलाई भेट्न विश्वविद्यालय पुग्यौँ। श्रीहर्ष त्यतिबेला क्यानको उपाध्यक्ष नियुक्त भएका थिए। नवीनलाई मनाउन हामी सफल भयौँ। यसपछि त्रिवि मैदानको सम्झौता २० वर्षका लागि लम्बियो। मैदान प्रयोग गरेबापत हामीले त्रिविलाई वर्षको आठ लाख रुपैयाँ बुझाउनुपर्थ्यो।

सम्झौताको मिति थप २० वर्ष लम्बिएपछि जीटीभी उत्साही भएको थियो। अब उनीहरू पूर्णरूपमा रंगशाला निर्माण गर्ने योजनामा थिए। तर, यति नै बेला नेपालमा माओवादी विद्रोह उत्कर्षमा पुग्यो। भारतीय लगानीमा बनेका विकास निर्माणका कामलाई माओवादीले निसाना बनाउन थाल्यो। यसबाट अत्तालिएको जीटीभीले एक्कासि घोषणा गर्‍यो, ‘नेपालमा बनाउने रंगशालाको योजनाबाट हामीले हात झिकेका छौँ।’

उनीहरूलाई मनाउन हामीले थुप्रै प्रयास गर्‍यौँ। भारतीय दूतावासमार्फत पनि कुरा राख्यौँ। तर, देशको माहोल बिथोलिएपछि कसको के लाग्छ र? जति प्रयास गरे पनि उनीहरू फर्किन चाहेनन्। यसपछि माधवराव सिन्ध्याबाट सुरु भएको क्रिकेटको एउटा राम्रो योजना तुहिएर गयो। यसले नेपाली क्रिकेटलाई ठूलो घाटा लाग्यो।

(नेपाली क्रिकेट संघका पूर्वअध्यक्ष विनयराज पाण्डेसँग नवीन अर्यालले गरेको कुराकानीमा आधारित)