परिकार
पहिले दुर्गन्धले खपिनसक्नु बागमती किनार हिँड्नेहरू अहिले सेकुवाको बास्नामा मुग्ध
काठमाडौँ, तीनकुने पुलमुनिबाट दक्षिण बग्ने बागमतीले कोटेश्वर र शंखमूललाई वारिपारि छुट्याएको छ। बीचमा छ, दोभान पुल।
दोभान पुलको दायाँबायाँ वारिपारि जुनै दिशा लागे पनि केही पाइलाको दूरीमा विभिन्न नामका सेकुवा पाइने ठाउँहरू देखिन्छन्। हार्दिक रेस्टुरेन्ट एन्ड सेकुवा कर्नर, ठेलाघर, शिल, बुवा, नदीघर सेकुवा, एमआर सेकुवा, सगरमाथा मम एन्ड सेकुवा, झिर आदि।
अहिले गुलजार देखिने करिडोरका कतिपय क्षेत्र केही वर्षअघिसम्म सुनसान थिए।
दोभान पुलले वडा पनि छुट्याउँछ। वारि शंखमूलतिर वडा नम्बर ३१ र पारि ३२ पर्छ। वडा नम्बर ३२ सहयोगीनगरका ७७ वर्षीय झपट बोहोराका अनुसार पहिला यहाँ दिउँसै लुटपाट हुन्थ्यो।
शान्ति टोल सुधार समितिका अध्यक्षसमेत रहेका बोहोरा भन्छन्, “समितिकै पहलमा चन्दा उठाएर बाटो खोलेका हौँ। त्यसैले नाम नै जनता बाटो राख्यौँ। सुरुमा हिँड्नै गाह्रो हुने गरी खोला गन्हाउँथ्यो। बाटो बनेपछि बिस्तारै खोला सफा गर्न थालियो। यहाँ खाने ठाउँ बन्ला भन्ने त कल्पनै थिएन।”
यस ठाउँमा खानेकुरा, त्यो पनि सेकुवा नै बेच्छु भनेर अघि सर्ने ओमबहादुर सिंह ठकुरी पनि एक हुन्। हार्दिक सेकुवा एन्ड रेस्टुरेन्ट सञ्चालन गरेर उनी २०७२ सालदेखि दोभान पुलछेवैमा सेकुवा बेचिरहेका छन्।

जुनबेला ठकुरीले दोभान पुल मुखैमा सेकुवा बेच्न सुरु गरे, त्यतिबेला करिडोरले पूर्ण आकार पाइसकेको थिएन। ठाउँ त निर्जन थियो नै, दुर्गन्धले पेट हुँडल्थ्यो। “मान्छेहरू डाँडा डाँडा ताक्थे, खोला किनारमा सुकुमबासीबाहेक कोही बस्दैनथे,” उनी सम्झन्छन्, “तर बल्खुदेखि भक्तपुरसम्म जोडिने करिडोर बन्दै छ भन्ने सुनेँ। अहिले जस्तो भए पनि भविष्यमा राम्रै होला भन्ने आसले यही ठाउँ रोजेँ।”
ठकुरीका अनुसार उनको रेस्टुरेन्ट भएको ठाउँमा पहिला पानी जम्ने खाल्डो थियो। केहीले त उनलाई यस्तो ठाउँमा सेकुवा होइन, माछा पाल भनेर समेत सुझाए।
तर, उनी यस ठाउँमा सेकुवा नै बेच्नेमा प्रस्ट थिए। महोत्तरी, बर्दिबासका ओम भुइँचालो जानुअघिसम्म नगरकोटको क्लब हिमालयमा काम गर्थे। त्यहीबेला ताल्छीखेलमा सेकुवा खान पुग्दा सबै टेबल भरिभराउ देखे।
अनि मनमनै सोचे– जागिर छाडेँ भने चाहिँ सेकुवा बेच्ने काम नै गर्ने हो!

नभन्दै भुइँचालोपछि आफ्नै काम थाल्नुपर्ने बाध्यता आइलाग्यो। “कोटेश्वर क्षेत्रमा सबैभन्दा पुरानो राई बुढाको सेकुवा र रोयल धराने हो। त्यसपछि मैले यहाँ सुरु गरेँ। नजिकै एउटा भात खाने चल्तीको होटल मात्र थियो,” ठकुरी भन्छन्।
पहिलो साता १५-२० हजारको सेकुवा बेचेका उनले एक दिनमै एक लाख लाख २५ हजार रुपैयाँसम्मको व्यापार गरेका छन्।
करिडोरमा अहिले चहलपहल देखिए पनि सुरुआती चरणमा रेस्टुरेन्ट खोल्नु आफैँमा जोखिमपूर्ण थियो। तीमध्ये ठेलाघरकी सञ्चालक हुन् अनिता भट्टराई। “कहीँकहीँ त सम्साँझै लुटिने डर थियो। राति मान्छे हिँड्न पनि डराउँथे,” भट्टराई भन्छिन्।
हार्दिकका ठकुरीजस्तै भट्टराईलाई पनि खोला किनारमा रेस्टुरेन्ट खोल्न निरुत्साहन गर्नेको कमी थिएन। हाल दोभान पुलबाट मनोहरा खोला भएर बालकुमारी पुल निस्कने बाटोमा रहेको ठेलाघर यसअघि विश्व निकेतन स्कुल जाने बाटामा थियो। भट्टराई सुनाउँछिन्, “हामीले रेस्टुरेन्ट खोल्ने भनेको ठाउँमा फोहोरको थुप्रो थियो। मान्छेहरूले मलाई फोहोरको थुप्रोमा पैसा खन्याइस् समेत भने। पुल नजिकैका ठाउँमा अलिअलि चहलपहल भए पनि हाम्रो अलि कुनामा पर्थ्यो। मान्छेहरू किनारमा हिँड्न पनि डराउँथे, मान्छे मारेर फाल्ने ठाउँसमेत भन्थे।”
फास्ट फुड तर स्वस्थकर खाजा ठेलामा खुवाउने उद्देश्यले सुरु भएको ठेलाघरमा भट्टराई सुरुमा चप, पकौडा, मम आदि बेच्थिन्। तर दुई महिनामै कोभिड महामारी फैलियो। अलिकति खुकुलो वातावरण बनेपछि उनले सेकुवा पनि थपिन्। सेकुवा खान ग्राहक ह्वारह्वार्ती आइदिए। “पोलेको सेकुवा हाइजेनिक हुँदैन भनेर तावा सेकुवा बेच्यौँ। एकदमै चल्थ्यो,” भट्टराई भन्छिन्।
ठेलाघर अहिलेको ठाउँमा सरेपछि तावा सेकुवाको ठाउँमा आगोको रापमा पकाइने सेकुवा बेचिरहेकी छिन् उनी। ठाउँ सरे पनि सेकुवा खाने ग्राहक धेरै थपिएको देख्दै आएकी भट्टराई काठमाडौँमा सेकुवा ममजस्तै लोकप्रिय भइरहेको बताउँछिन्।

बागमती करिडोरजस्तै धोबीखोला करिडोरमा पनि सेकुवा विशेष धेरै रेस्टुरेन्ट सञ्चालनमा छन्। पहेँलोपुलपारिको तरेबा सेकुवा कर्नर, रातोपुल नजिकैको झिर, सेतोपुल नजिकैका राँप र सुनगाभा सेकुवा कर्नर केही चल्तीका सेकुवा कर्नर हुन्।
राँपका सञ्चालक राजेश श्रेष्ठ दुई दशकदेखि रेस्टुरेन्ट व्यवसायमा छन्। वेटर, क्याप्टेन, म्यानेजर हुँदै तीन वटा रेस्टुरेन्ट चलाउने उनी तीन वर्षयता उपत्यकामा सेकुवाको ‘ट्रेन्ड’ बढेको बताउँछन्। त्यही बुझेर तन्दुरी र बर्गर बेच्ने दुई फरक रेस्टुरेन्ट खोलेका श्रेष्ठले सेकुवा कर्नर पनि खोले। सेतोपुल करिडोरमा खुलेको राँपमा मनग्गे ग्राहक आइरहेकामा उनी प्रसन्न छन्।
एउटा समय थियो, काठमाडौँमा झिरमा सेकेको सेकुवा मात्र पाइन्थ्यो। तर, पछिल्लो समय माटाको चुलोमा दुईतिर आगोको रापमा पोलिएको सेकुवाको ‘ट्रेन्ड’ बढेको छ।
‘चिन्चा पिरो’ का सञ्चालकको अनुभवले पनि सेकुवाको नयाँ ट्रेन्ड पुष्टि गर्छ। सिनामंगल खोला किनारमा तीन वर्षअघि खुलेको चिन्चा पिरोले फास्टफुड र बिरयानीलाई प्राथमिकता दिए पनि सोचेजति ग्राहक तान्न सकेको थिएन। त्यसपछि झिरको सेकुवा बेच्न थाले। त्यसले पनि काम गरेन। गएको माघदेखि उनले रेस्टुरेन्टकै पछाडि प्रिय चियाका नाममा चियाघर खोले र त्यसको केही समयपछि सेकुवा पनि थपे।
“चियाघर खोल्ने बेला नै त्यहीँ कतै भट्टी चुलोमा सेकुवा बनाउने ठाउँ थप्ने सोचेर नयाँ ठाउँ लिएको थिएँ। चिया र सेकुवा थपेपछि अचेल ग्राहकको चिन्ता छैन,” उनी भन्छन्।

उनका अनुसार चिया र सेकुवाका ग्राहक फरक छन्। चिया पूरै कलेज र होस्टलका विद्यार्थीले खपत गरिरहेका छन् भने सेकुवा जागिर र व्यवसायमा लागेका वयस्कहरूले धानेका छन्।
काठमाडौँ, भक्तपुर, ललितपुर र कीर्तिपुर चारै शहरलाई जोड्ने करिडोर उपत्यकाका मुख्य सडकका जाम छल्ने वैकल्पिक सडक बनेकाले दैनिक यही बाटो प्रयोग गर्नेहरू प्रशस्त छन्। गोकर्णदेखि बल्खु जान होस् वा कीर्तिपुरदेखि पेप्सीकोला पुग्न करिडोरकै बाटो धेरैको रोजाइमा पर्छ। त्यही भएर बेलाबेला करिडोरमै ट्राफिक जाम भइदिन्छ।
सहज पार्किङ करिडोरको अर्को विशेषता हो। अफिसबाट फर्केकाहरूले धानेकैले करिडोरका धेरै सेकुवा कर्नरमा प्रायः बेलुका भीड बढ्ने सञ्चालकहरू बताउँछन्। करिडोरका धेरैजसो सेकुवा कर्नर बिहान ८ बजेदेखि खुल्छन् र ढिलोमा राति ११ बजे बन्द हुन्छन्। धेरैले दिउँसो १ बजेसम्म चिया, कफी, खाजा, खाना आदि बेच्छन्। १ बजेपछि मात्र सेकुवा पोल्न सुरु हुन्छ। धेरैजसो ग्राहक अफिसबाट फर्कंदा पायक पर्ने ठाउँमा सेकुवा खान आउँछन्।
सेकुवा खाने ग्राहक दुईथरीका छन्– सेकुवा मात्र खाने र मदिरासहित सेकुवा खाने। सेकुवा कर्नरमा मदिरा बेच्ने पनि दुई खालका छन्। एक अधिकतम खुद्रा मूल्य (एमआरपी)मा मदिरा बेच्ने र मेनुअनुसारको मूल्यमा मदिरा बेच्ने।
जुनसुकै मूल्यमा बेचे पनि करिडोरका लगभग सबै सेकुवा कर्नरमा शुक्रबार साँझ मदिरासँगै सेकुवा खानेहरूको लर्को लाग्छ। सबैजसो सेकुवा कर्नरका सञ्चालकलाई बढी ग्राहक कुन दिन आउँछन् भनेर सोध्दा आउने जवाफ हो– शुक्रबार।

बेच्ने त सबैले सेकुवा नै हो, तर यसमा पनि विविधता छ। कोही कुखुराका सेकुवा मात्र बेच्छन् त कोही खसी, सुँगुर, बंगुर र राँगाका। सबैभन्दा बढी भने सुँगुरकै सेकुवा बिकिरहेको देखिन्छ।
ठेलाघरकी सञ्चालक भट्टराई औसतमा दैनिक पाँचदेखि सात केजीसम्म सेकुवा बिक्री हुने बताउँछिन्। हार्दिकका सञ्चालक ठकुरी शुक्रबार र शनिबार १० केजीभन्दा बढी सेकुवा बेच्छन्।
सेकुवा बेच्ने सबैको आफ्नै सोच, रणनीति र शैली छ।
राँपका सञ्चालक श्रेष्ठ भन्छन्, “हामीले रसिलो, स्वादिलो झिरमा उनेको सेकुवा बनाउँछौँ। ग्राहकले मन पराइदिनुभएको छ।”

चिन्चा पिरोका सञ्चालकले भने अन्य ठाउँमा एक हजार रुपैयाँ केजी पर्ने कुखुराको सेकुवामा छुट दिएर आठ सय ५० मा बेचिरहेका छन्।
एकपटकको स्वाद मन परेपछि ग्राहकहरू उही स्वाद खोज्दै रेस्टुरेन्टमा फर्कनेबारे सबैजसो सञ्चालक सचेत देखिन्छन्। यसका लागि उनीहरू अनुभवी सेफ र कुक राखेको बताउँछन्। यसबाहेक मासु किन्ने ठाउँलाई पनि केहीले विशेष महत्व दिएका छन्।
चित्रकारसमेत रहेकी व्यवसायी भट्टराई ठेलाघरको ‘एम्बियन्स’ र स्वस्थकर खाना दुवैका कारण ग्राहक दोहोर्याएर आउने बताउँछिन्। ४० वर्ष पुरानो मासु पसलबाट खसीको मासु किन्ने उनीकहाँ सेकुवा पोल्ने काममा दुई दशक बिताइसकेका कुक छन्। हार्दिकका ठकुरीका अनुसार उनीकहाँ ग्राहकले सबैभन्दा मन पराएको सुँगुरको मासुको सेकुवाको स्वाद हो। उनी भन्छन्, “सुरुदेखि नै ताल्छीखेलबाट पोर्कको मासु ल्याइरहेको छु। ग्राहकहरू पनि पहिलाकै स्वाद लिन आएको भन्नुहुन्छ।”

रेस्टुरेन्ट सञ्चालकहरूले सेकुवा बेच्ने मात्रै नभई यसको गुणस्तर, रुचि, स्वाद र ग्राहकमैत्री वातावरणलाई पनि ध्यान दिएको देखिन्छ। करिडोरका यात्रुलाई सेकुवा कर्नरतिर घरीघरी तान्नुको आकर्षण यो पनि हो।
एक त गर्मीमा शीतल हावा चल्ने र जाडोमा पारिलो घाम ताप्न पाइने करिडोरको वातावरण। धुवाँ-धुलो र जामबाट मुक्ति पाउन एकछिन प्रकृति नजिकको विश्राम। त्यसमाथि आँत हरहर बनाउने सेकुवाको मीठो बास्ना। किन नबनोस् त सेकुवाको नयाँ ट्रेन्ड!