काठमाडौं। अत्याधिक खराब शटका कारण नेपालले पहिलो टी-२० आई सिरिजअन्तर्गत पहिलो खेलमा वेस्ट इन्डिजसामु १४९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
शारजाह क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतीमा १४८ रन बनाएको हो।
पावर प्लेमा कमजोर ब्याटिङ गरेको नेपाललाई डेढ सय रननजिक पुर्याउन कप्तान रोहितकुमार पौडेल र हार्ड हिटर कुशल मल्लले ५८ रनको अर्धशतकीय साझेदारी गरे।
रोहितले सर्वाधिक ३८ रन बनाए। ३५ बल खेलेका उनले तीन चौका र एक छक्का प्रहार गरे। कुशलले भने २१ बलमा समान दुई चौका र छक्कासहित ३० रनको योगदान दिए। यी दुईबीच तेस्रो विकेटका लागि ५८ रनको साझेदारी भएको हो।
पाँचौं नम्बरमा आएका गुल्सनकुमार झा २२ र उपकप्तान दीपेन्द्रसिंह ऐरी १७ रनमा आउट भए। अन्य ब्याटरले भने ब्याटिङमा योगदान दिन सकेनन्।
वेस्ट इन्डिजका जोसन होल्डरले सर्वाधिक चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले २० रन खर्चिए। समान ओभरमा नवीन बिदाइसीले तीन विकेट लिए। कप्तान अकिल हुसैनले एक विकेट राख्दै नेपाललाई सस्तैमा समेटे।