त्यो काण्ड
हाँस्दै बिदाबारी भएका श्रीमान् शहीद भएको खबर सुनेपछि निलादेवीलाई आकाश खसेझैँ लाग्यो। निलादेवी भन्छिन्, “राति सपनामा आधा शरीरमा आगो लागेको र तिलहरी खरानीमा झरेको देखेकी थिएँ।” नभन्दै, भोलिपल्ट बिहानै एक जना हवल्दारकी श्रीमती कोठामा पसिन् र चुरा फुटाउन हात छामछुम गर्न थालिन्।
खम्पा काण्डमा मारिने नेपाली सेनाका पहिलो सदस्य हुन्, बमप्रसाद बाँस्कोटा। १६ असार २०१६ मा चिनियाँ सेनाले मुस्ताङस्थित नेपाल–चीन सीमामा उनको हत्या गर्यो। त्यतिबेला सो हत्याको अन्तर्राष्ट्रियकरण हुनै लागेको थियो। तर, नेपाल र चिनियाँ सरकारले यसलाई गुपचुप गराए।
बमप्रसादको जन्म पूर्वी पहाडको ओखलढुंगास्थित थाम्ले गाउँमा भएको थियो। उनी २००५ सालमा सेनामा भर्ना भएका थिए। निम्न आय भएको परिवारमा जन्मिएका बमप्रसाद सुबेदार पदमा बढुवा भइसकेका थिए। जतिबेला मुस्ताङमा उनको हत्या भयो, त्यतिबेला उनले अधिकृत क्याडेटको तालिम सकिसकेका थिए र पुनः बढुवाको सूचीमा थिए।
बमप्रसाद त्योबेला पोखरास्थित महेन्द्र गणमा कार्यरत थिए। एकदिन आदेश आयो– मुस्ताङमा खम्पाहरूले उपद्रो मच्चाइरहेका छन्। तिमीहरू तुरुन्त जानुपर्यो। माथिको आदेशसँगै बमप्रसाद १६ जना सिपाहीसहित मुस्ताङ हिँडेका थिए। हिँड्नुअघि श्रीमतीसँग वाचा गरेका थिए– अपरेसन सकिनेबित्तिकै फर्किहाल्छु।
जोमसोममाथि नीलगिरि हिमालपारि नेपाल–चीन सीमानजिक खम्पाहरूले उपद्रो मच्चाएका छन् भन्ने सूचनाका आधारमा उनीहरूलाई सेनाले खटाएको थियो। सर्च अभियानअन्तर्गत पोखराको भिरालो छिचोल्दै मुस्ताङ पुग्न उनीहरूलाई १४ दिन लागेको थियो। सरकारी कर्मचारीको रोहबरमा निरीक्षणका लागि गाउँलेको घरमा जाँदा खम्पाहरूले अन्नपात लुटेको, च्यांग्रा, चौरी र घोडाहरूसमेत लिएर भागेको सेनाले थाहा पायो। खम्पा पछ्याउँदै नेपाल–चीन सीमानजिक पुग्दा चिनियाँ सेनाले कुरै नबुझी एक्कासि गोली चलायो।
त्यतिबेला चिनियाँ सेना नेपालको सीमाभित्रै प्रवेश गरेको थियो। यो अन्तर्राष्ट्रिय नियमको उल्लंघन थियो। त्यो घटनामा आफ्नै सीमाभित्र खम्पाहरूको खोजी गरिरहँदा चिनियाँ सेनाको गोली लागी बमप्रसादले वीरगति प्राप्त गरे। अर्का एक जना जवान घाइते भए।
चिनियाँ सेनाले त्यस घटनामा सबै नेपाली सैनिकलाई बन्धक बनायो। घुँडामा गोली लागेका एक स्थानीय दोभासेको कुरा नसुन्दा त्यो घटना भएको थियो। खम्पा विद्रोही भनेर कुरै नबुझी चिनियाँ सेनाले अन्धाधुन्ध गोली प्रहार गरेको घटनामा संलग्न सेनाका जवानले बयानमा बताएका थिए।
बमप्रसाद लेखपढ र खटनपटनमा अब्बल थिए। त्यसैले महेन्द्र गणका तत्कालीन बटालियन कमान्डर गुणशमशेर राणाले उनलाई अपरेसनमा नजान छुट दिएका थिए। तर, उनले मानेनन्।
१५औँ दिनमा त्यो घटना भयो। हाँस्दै बिदाबारी भएका श्रीमान् शहीद भएको खबर सुनेपछि निलादेवीलाई आकाश खसेझैँ लाग्यो। हाल छोरीसँग सुनसरी, इनरुवामा बसिरहेकी निलादेवी भन्छिन्, “श्रीमान् मारिएको रात सपनामा आधा शरीरमा आगो लागेको र तिलहरी खरानीमा झरेको देखेकी थिएँ।”

राजा वीरेन्द्र र खम्पा कमान्डर वाङदी। तस्बिर संकलन : राजेन्द्र कुँवर
नभन्दै भोलिपल्ट बिहानै एक जना हवल्दारकी श्रीमती उनी बसेको कोठामा पसिन् र चुरा फुटाउन हात छामछुम गर्न थालिन्। “त्यतिवेलासम्म मलाई अत्तोपत्तो थिएन। बटालियनका अन्य सदस्यहरू कोठाबाहिर जम्मा हुन थालेपछि गुणशमशेरले सबै कुरा सुनाउनुभयो। म त मुर्छा परेछु,” ६६ वर्षअघिको कुरा सम्झिँदै उनी भन्छिन्।
श्रीमान्को मृत्युपछि निलादेवीले पटक पटक मर्ने प्रयास गरिन्। १३औँ दिनको काम सकेर काठमाडौँ आउने क्रममा उनले प्लेनबाटै हाम फालेर मर्ने प्रयास गरेकी थिइन्। प्लेनको सिसा फुटाउने उद्देश्यले सारीमा ढुंगा पनि बेरिन्। ‘प्लेन चढेपछि थाहा भयो, प्लेनको सिसाबाट मान्छे छिर्न गाह्रो रहेछ। काठमाडौँ एअरपोर्टमा झरेपछि ढुंगा फ्यालेँ,” उनी भन्छिन्, “सेती नदीमा हाम फालेर मर्न पनि हिँडेँ। तर, शरीर कमजोर रहेकाले बाटोमै मुर्छा परेँ।”
काठमाडौँमा उनको बास गाउँकै चिनजानकी एक महिलाकहाँ भयो, जो राणाजीको घरमा भान्से थिइन्। उनलाई सान्त्वना दिने र अर्ती दिने त थुप्रै थिए। तर, ती सबले न उनको पेट भरिन्थ्यो, न मन बुझ्दथ्यो। उजाडिएको सिउँदो र सेतो साडीमा उनी प्रधानमन्त्री बीपी कोइरालालाई भेट्न त्रिपुरेश्वरस्थित प्रधानमन्त्री क्वार्टर पुगिन्। त्यतिबेला बीपीले सान्त्वना दिएको स्मरण गर्दै उनी भन्छिन्, “नहुनु भैहाल्यो नानी। देशले एउटा होनहार सपुत गुमाएको छ। ऊ तिम्रो श्रीमान् मात्र नभएर देशको छोरा पनि हो। चित्त नदुखाऊ। उनको शहादतको सरकारले उचित सम्मान गर्नेछ।”
बीपीले थप सोधेछन्, “तिम्रो उमेर कति भयो? बुवा (माइती) के गर्नुहुन्छ? बुवाले अर्को बिहे गर्नुभएको छ कि छैन?”
बुवाले अर्को बिहे पनि गरेको उनले बताइन्। बीपीले भनेछन्, “तिमी दुःखी रहेछौ, नानी। म सहयोग गर्छु।”
बमप्रसादको परिवारको न्यायका लागि विपक्षी दलका नेता भरतशमशेरले पनि सदनमा जोडदार आवाज उठाएका थिए।
त्यतिबेला चिनियाँ सरकारले मृतकको परिवारलाई ५० हजार रुपैयाँ प्रदान गरेको खबर सार्वजनिक भएको थियो। तर, त्यो पैसा उनले पाइनन्। पोखरा बस्दा बीपीका सुरक्षागार्ड क्याप्टेन नगेन्द्रबहादुरलाई चिनेकी थिइन्। उनैको प्रयासपछि बीपीले १५ हजार रुपैयाँ उपलब्ध गराइदिएका थिए। तर, त्यो पैसा पनि उनले राम्रोसँग चलाउन पाइनन्। तत्कालीन शाही नेपाली सेना प्रमुख नीरशमशेर राणाले सो रकम ब्याजमा लगाउन अर्ती दिँदै उद्योगी कमल राणालाई उपलब्ध गराएका थिए। तर, राणाले उनलाई झुलाए मात्र। उनी बाध्य भएर माइती फर्किइन्।
२०२२ सालमा सुरेन्द्रबहादुर शाह प्रधानसेनापति नियुक्त भएपछि ४ वर्षकी छोरी च्यापेर पैसा माग्न उनी फेरि काठमाडौँ आइपुगिन्। उनले भद्रकालीस्थित आर्मी मुख्यालय पुगेर शाहसमक्ष दुःख बिसाएकी थिइन। दुःख सुनेर शाह खुब रिसाए। र, त्यतिबेलै खल्तीबाट आठ सय रुपैयाँ दिए। “पछि उहाँकै कारण कमल राणाले पैसा फिर्ता गरे,” उनी भन्छिन्।
निलादेवीले राजा महेन्द्रसँग पनि सहयोगको याचना गरेकी थिइन। तर, उनको फाइल सेनाबाट रक्षा मन्त्रालय, रक्षाबाट अर्थ मन्त्रालय वरिपरि मात्र घुमिरह्यो। “गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा २०५१ सालमा आमाले ५० हजार प्राप्त गर्नुभयो। पुरानो इतिहास बताएपछि उहाँलाई उपदान शीर्षकमा त्यो रकम उपलब्ध गराइएको थियो। यही वर्ष आमाले पेन्सन पनि प्राप्त गर्नुभयो। तर, यसका लागि लामो कानुनी लडाइँ लड्नुपर्यो,” छोरी गीता भन्छिन्।
गीताको जन्म चैत २०१७ मा नीलादेवीको माइती ओखलढुंगामै भएको थियो। मावलीले नै उनको पढाइलेखाइको सम्पूर्ण व्यवस्था मिलाए। शिक्षण पेसामा आबद्ध विवाहित ६३ वर्षीया गीता र ८४ वर्षीया आमा अहिले एउटै छहारीमा छन्।
(कुँवर ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ का लेखक हुन्।)