काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच भेटवार्ता भएको छ।
आज मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री खनाल र जापानी राजदूत तोरुबीच नेपालको हालको परिवर्तित अवस्था, नेपाल–जापान ऐतिहासिक सम्बन्ध र जापानले नेपालको आर्थिक सामाजिक विकासमा पुर्याइरहेको सहयोगका विषयमा छलफल भएको छ।
छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य काम तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको बताए । यो अवधिमा पुनर्निर्माण लगायत आर्थिक सामाजिक विकासका कामलाई निरन्तरता दिइने उनले बताए।
उक्त अवसरमा निर्माणाधीन नागढुंगा टनेल मार्ग परियोजना, तनहुँ जलविद्युत् आयोजना लगायत सहयोगका क्षेत्रबारे छलफल भएको छ।
निकट भविष्यमा सम्झौता हुन गइरहेको कोटेश्वर इन्टरसेक्सन सुधार परियोजना, बीपी राजमार्ग पुननिर्माण सहित परियोजनाबारे समेत छलफल भएको छ।
बैठकमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखा सहसचिव धनीराम शर्मा समेत उपस्थित थिए।