काठमाडौं। चार स्पिनरको सानदार बलिङसँगै नेपालले युनिटी कप टी-२० आई सिरिजमा वेस्ट इन्डिजलाई पराजित गर्दै इतिहास रचेको छ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा संयुक्त अरब इमिरेट्समा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको हो।
नेपालले प्रस्तुत गरेको १४९ रनको सामान्य योगफल पछ्याएको वेस्ट इन्डिज निर्धारित ओभरमा नौ विकेट गुमाउँदै १२९ रनमै समेटियो। नेपालले क्रिकेट इतिहासमा पहिलोपल्ट वेस्ट इन्डिजसँग जित हात पारेको हो। योसँगै नेपालले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ। अब नेपालले सोमबार दोस्रो खेल खेल्नेछ।
वेस्ट इन्डिजका नवीन बिदाइसीले अलराउन्डर प्रदर्शन गरेपनि जित दिलाउन सकेनन्। बलिङमा तीन विकेट लिएका उनले ब्याटिङमा पनि सर्वाधिक २२ रनको योगदान दिएका थिए। २५ बल खेलेका उनले एक चौका र एक छक्का प्रहार गरे। अमिर जान्गु १९, केस्सी क्यार्थी १६ र अकिम अगुस्टे १५ रनमा आउट हुँदा अन्य ब्याटर जम्न सकेनन्।
नेपालका पार्ट टाइम स्पिनर कुशल भुर्तेलले सर्वाधिक दुई विकेट लिए। कप्तान रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरी, नन्दन यादव र करण केसीले समान एक विकेट हात पारे। रोहित पनि पार्ट टाइम स्पिनर हुन्।
त्यसअघि शारजाह क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतीमा १४८ रनको योगफल तयार गरेको थियो।
पावर प्लेमा कमजोर ब्याटिङ गरेको नेपाललाई डेढ सय रननजिक पुर्याउन कप्तान रोहितकुमार पौडेल र हार्ड हिटर कुशल मल्लले ५८ रनको अर्धशतकीय साझेदारी गरे।
रोहितले सर्वाधिक ३८ रन बनाए। ३५ बल खेलेका उनले तीन चौका र एक छक्का प्रहार गरे। कुशलले भने २१ बलमा समान दुई चौका र छक्कासहित ३० रनको योगदान दिए। यी दुईबीच तेस्रो विकेटका लागि ५८ रनको साझेदारी भएको हो।
पाँचौं नम्बरमा आएका गुल्सनकुमार झा २२ र उपकप्तान दीपेन्द्रसिंह ऐरी १७ रनमा आउट भए। अन्य ब्याटरले भने ब्याटिङमा योगदान दिन सकेनन्।
वेस्ट इन्डिजका जोसन होल्डरले सर्वाधिक चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले २० रन खर्चिए। समान ओभरमा नवीन बिदाइसीले तीन विकेट लिए। कप्तान अकिल हुसैनले एक विकेट राखे।