काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

नेपाल–वेस्ट इन्डिज टी–२० शृंखला

१३ आश्विन २०८२
अ+
अ-

काठमाडौं। तीन वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका मोहम्मद आदिल अन्सारीको घातक बलिङसँगै नेपालले वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिज एक खेलअगाबै जितेको छ।

सोमबार सम्पन्न खेलमा नेपालले पाहुना टोलीलाई ९० रनले पराजित गरेको हो। जारी सिरिजमा नेपालको यो दोस्रो जीत हो। यसअघि नेपालले १९ रनको जीत हात पारेको थियो।

नेपालले पहिलोपल्ट टेस्ट टोलीसँग सिरिज खेलेको हो। तर, सानदार प्रदर्शन गर्दै ऐतिहासिक जीतसँगै सिरिज पनि आफ्नो पोल्टामा पारेको हो। अब नेपालले मंगलबार वेस्ट इन्डिजसँग अन्तिम खेल खेल्दै यो सिरिज सकाउने छ।

नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १७.१ ओभरमा सबै विकेट गुमाउँदै ८२ रन मात्रै बनाउन सक्यो। वेस्ट इन्डिजलाई कम रनमै रोक्न आदिलले सर्वाधिक चार विकेट लिए।

उनले २४ रन खर्चिए। कुशल भुर्तेलले दुई विकेट लिँदा दीपेन्द्रसिंह ऐरी, करण केसी र ललितनारायण राजवंशीको नाममा समान एक विकेट रह्यो।

वेस्ट इन्डिजका जेसन होल्डरले सर्वाधिक २१ रन बनाए। १५ बल खेलेका उनले दुई छक्का प्रहार गरे।

अकिम अगुस्टेले २१ बल खेलेका उनले एक चौका र एक छक्कासहित १७ रन बनाए। अमीर जोन्गु १६ रनमा आउट हुँदा अन्य ब्याटर चल्न सकेनन्।

त्यसअघि शारजहा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले आसिफ शेख र सन्दीप जोराको शतकीय साझेदारीसँगै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनाएको थियो।

शेखले सर्वाधिक ६८ रन बनाए। ४७ बल खेलेका उनले आठ चौका र दुई छक्का प्रहार गरे। यस्तै, सन्दीपले ३९ बलमा तीन चौका र पाँच छक्कासहित ६३ रन बनाए। यी दुईबीच चौथो विकेटका लागि शतकीय साझेदारी भएको थियो।

सन्दीप १७.४ ओभरमा क्याच भए। यी दुईबाहेक आदिलले ११ रन बनाए। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।

वेस्ट इन्डिजका अकिल हुसैन र कायल मेयर्सले समान दुई विकेट लिए।

यो पनि पढ्नुहोस् 

आदिलको ‘यु–टर्न’

‘कार्डियाक किड्स’ बाट ‘जायन्ट किलर’ बनेको नेपाल