काठमाडौं। मुग्लिन-नारायणगढ सडक खण्डको तुइनखोलामा खसेको पहिरो हटाउन कम्तीमा ६ घन्टा लाग्ने भएको छ।
मध्यान्ह १२ बजे मंगलबार इच्छाकामना गाउँपालिका-६ तुइनखोलामा सुख्खा पहिरो जाँदा दुईतर्फी बाटो बन्द भएको थियो।
सडक डिभिजन कार्यालय चितवनका प्रमुख नारायणप्रसाद लामिछानेले तुइनखोलाको पहिरो हटाउन कम्तीमा ६ घन्टा लाग्ने बताए। अहिले खसेको पहिरो करिब ७० मिटर लामो छ। “पहिरो हटाउनका लागि आवश्यक तयारी गरिरहेका छौं,” लामिछानेले भने, “फिल्डमा टोली खटिइसकेको छ।”
उनका अनुसार पहिरो हटाउन ४ वटा एक्साभेटर मेसिन सञ्चालन गरिएको छ। “एक्साभेटर हिँडाइसकिएको छ, २ बजेपछि पहिरो पन्छाउन थालिने छ,” लामिछानेले भने।
तुइनखोलामा गत भदौ २७ देखि निरन्तर सुख्खा पहिरो जान थालेको थियो। ९ असोजको राति पहिरो पन्छाएपछि आवागमन सुरू भएकोमा पुन: पहिरो गएको हो। पहिरो गएसँगै बडादसैं मनाउन घर हिँडेकाहरू बाटोमै रोकिएका छन्।