काठमाडौँ। सवारी परीक्षण कार्यालय इटहरीका प्रमुख र लेखापाललाई जिम्मेवारीबाट हटाइएको छ।
कार्यालय प्रमुख मेकानिकल इन्जिनियर रोशन कुमार देव र लेखापाल चन्द्र बहादुर बस्नेतलाई जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानिएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री कुलमान घिसिङको सचिवालयले जानकारी दिएको छ।
सेवाग्राहीसँग घुस माग्ने, अनावश्यक दुःख हैरानी दिनेलगायतका उजुरी परेपछि १२ असोजमा भौतिक उनीहरुलाई मन्त्रालयमा तानिएको छ।
कार्यालय प्रमुख र लेखापालको मिलेमतोमा कार्यालयमा अनियमिता भइरहेको प्रमाणसहितको गुनासो सेवाग्राहीबाट मन्त्री घिसिङसमक्ष प्राप्त भएपछि दुवै जनालाई जिम्मेबारीबाट हटाएर छानबिन समिति गठन गर्न निर्देशन दिएका थिए।
अनियमिततामा संलग्न कर्मचारीमाथि छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रशासन महाशाखा प्रमुख बलराम रिज्यालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको छ।
छानबिन समितिलाई १० कार्य दिनभित्र प्रतिवेदन बुझाउन भनिएको सचिवालय स्रोतले बताएको छ।
छानविन समितिलाई आरोपित तथा अन्य कर्मचारीसँग बयान लिने, सेवाग्राहीसँग बुझ्ने, गरिएका निर्णयका कागजात अध्ययन/अनुसन्धान गर्ने र कारबाहीका लागि सिफारिस गर्ने लगायतका कार्यदेश तोकिएको छ।