काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

नेपाल–वेस्ट इन्डिज टी–२० शृंखला

नेपालसँग पहिलो खेल हारिसकेको अवस्थामा दुईपल्टको विश्वविजेता वेस्ट इन्डिज दबाबमा

१३ आश्विन २०८२
अ+
अ-

नेपाली क्रिकेट समर्थकका लागि शनिबारको दिन यादगार रह्यो। नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिजलाई १९ रनले हराउँदै पहिलो पटक टेस्ट मान्यताप्राप्त राष्ट्रविरुद्ध टी–२० मा जित निकाल्यो। यो ऐतिहासिक जितको पछाडि कप्तान रोहितकुमार पौडेलको अलराउन्ड प्रदर्शन प्रमुख कारण बन्यो।

उनले ब्याटिङमार्फत सर्वाधिक ३८ रन बनाउँदै टोलीलाई मजबुत स्थितिमा पुर्‍याएका थिए भने वेस्ट इन्डिजलाई १२९ रनमा रोक्न एक विकेट लिए। सत्य कुरा के हो भने, तीन साताअघि अस्ट्रेलियाको डार्विनमा भएको टप इन्ड टी–२० सिरिजमा नेपाली टोली सामान्य क्लबसँग पनि पराजित भएको थियो। त्यो परिस्थितिमा वेस्ट इन्डिजजस्तो दुईपल्टको विश्वकप विजेतासँग खेल्नुअघि रोहितको कप्तानी इनिङ्सले सबैलाई चकित तुल्यायो।

सारजहा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार रोहितको ब्याटिङ र बलिङको योगदानका कारण नेपालले जित मात्र निकालेन, तीन खेलको सिरिज आफ्नै पोल्टामा पार्ने आशा पनि जगाएको छ। “हामीले पहिलो खेलमा जसरी खेल्यौँ, यसले सिरिज जित्ने सम्भावना उच्च बनाएको छ। तर, हामी सामान्य नै रहनेछौँ र यही प्रक्रिया पछ्याउनेछौँ,” उनी भन्छन्।

नेपालले सोमबार राति ८:१५ बजे सुरु हुने दोस्रो खेलमा जित हात पारे एक खेलअगावै सिरिज आफ्नो पक्षमा पार्नेछ। हार नै बेहोरे पनि मंगलबार हुने अन्तिम खेल नेपालका लागि अर्को मौका हुनेछ। तर, नेपाल हतारमा छ। यो सिरिज सकिनेबित्तिकै नेपाली टोली ओमानमा हुने आईसीसी टी–२० विश्वकप खेल्न जानेछ। भ्रमणअघि नेपाली टोली आफ्नै क्रिकेट संघले बनाएको ट्रफी लिएर चुम्दै जाने लक्ष्यमा हुनेछ।

त्यसैले दोस्रो खेलअघि टोलीमा केही सुधार गर्नुपर्ने रोहित बताउँछन्। “पिच राम्रो थियो। यहाँ १५०–१६० को स्कोर सामान्य हो। अघिल्लो सिरिजमा पहिले ब्याटिङ गर्ने टोलीले लगभग त्यही स्कोरमा जितिरहेका थिए। त्यसैले हामी कडा चुनौती दिन १५०–१६० रनको खोजीमा थियौं। हामीले ८०–९० प्रतिशत राम्रो गरेका छौं। तर, अझै सुधारको खाँचो छ,” उनी भन्छन्।

समस्या ओपनरको

ब्याटिङ ‘पावर प्ले’ आक्रमण गर्ने समय हो। तर, नेपाली खेलाडीले वेस्ट इन्डिजविरुद्ध सुरुका ६ ओभरमा अपेक्षित गतिमा रन बनाउन सकेनन्। त्यसैकारण वेस्ट इन्डिजले सजिलै नेपाललाई दबाबमा पारेको थियो। नेपालले पहिलो पावर प्लेमा ३५ रन बनाउँदा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखलाई गुमाइसकेको थियो। यी दुई ब्याटरले क्रमशः ६ र ३ रन मात्र बनाउन सके।

यस्ता खेलमा ओपनर टिकेर खेले तेस्रो नम्बरमा आउने ब्याटरलाई सहज हुन्छ। तर, दुवै ओपनर सस्तैमा आउट हुँदा रोहितले मात्र होइन, चौथो नम्बरमा आएका कुशल मल्लले पनि दबाब थेग्नुपरेको थियो। त्यसैले यी दुईले आक्रामक इनिङ्स खेल्न सकेनन्। रन जोड्नेभन्दा पनि उनीहरू विकेट टिकाउन सक्रिय रहे। ४५ बलमा ५८ रनको सुस्त साझेदारी गर्दै मल्लले नेपालको स्कोर १०.४ ओभरमा ३–७० को स्थितिमा पुर्‍याएपछि टोलीले पुनरागमन गरेको थियो। अघिल्ला खेलहरूमा निकै आक्रामक ब्याटिङ गर्ने मल्ल लगातारको खराब प्रदर्शनपछि केही समय टिम बाहिर थिए। त्यसैले उनलाई टोलीमा स्थान बनाइराख्न भए पनि यस्तै योगदान दिनुपर्ने बाध्यता थियो। मल्लले २१ बलमा दुई चौका र दुई छक्कासहित ३० रनको इनिङ्स खेले।

उनीसँगै साझेदारी गरिरहेका रोहित पनि १२.४ ओभरमा ३८ रनमा क्याच भए। नेपाली टोली फेरि सुस्तायो। त्यसपछि क्रिजमा आएका उपकप्तान दीपेन्द्रसिंह ऐरी र गुलसनकुमार झाले २९ रनको साझेदारी गर्दा नेपाल १४८ रनमा रोकिएको थियो।

नेपालले पछिल्लो समय हङकङमा सम्पन्न टी–२० त्रिकोणात्मक सिरिजअन्तर्गत कुवेतविरुद्ध सानदार सुरुआत गरेको थियो। उक्त खेलमा भुर्तेल र शेखको ओपनिङ जोडीले पहिलो विकेटका लागि १२७ रनको विशाल साझेदारी गर्‍यो। तर, त्यसपछिका ६ खेलमा यी ओपनरले त्यो प्रदर्शन दोहोर्‍याउन सकिरहेका छैनन्। त्यसैले केही खेलमा नेपाली प्रशिक्षकले नयाँ विकल्प पनि खोजेका थिए।

नियमित ओपनर आसिफलाई आराम दिँदै लोकेश बमलाई पनि परीक्षण गरिएको थियो। तर, उनी पनि जम्न सकेनन्। अहिले मुख्य प्रशिक्षक स्टुअर्ट लले आसिफलाई पुनः ओपनिङको जिम्मेवारीमा फर्काएका छन्। तर, आसिफ र भुर्तेलले २४ रनमाथि साझेदारी गर्न सकेका छैनन्। भुर्तेल स्वयम् ब्याटिङमा योगदान दिन नसकेपछि बलिङमा निर्भर हुन थालेका छन्। “ब्याटिङमा राम्रो गर्न नसके पनि बलिङमार्फत योगदान दिन पाउँदा खुसी लाग्छ। टिममा जे आवश्यक पर्छ, त्यही दिन्छु भनेर बसेको थिएँ। सन्दीप (लामिछाने) भएनन्, त्यो स्थान लिँदै जित निकाल्न पाउँदा खुसी छु,” उनी भन्छन्।

वेस्ट इन्डिज लयमा फर्किने डर

क्रिकेटको सबैभन्दा रोमाञ्चक पक्ष भनेको जित–हारमा सीमित नभई त्यसले दिने अनुभव हो। दुवै टोलीले यस खेलबाट केही राम्रा र केही चुनौतीपूर्ण अनुभव बटुलेका छन्। नेपालका लागि यो अनुभव ऐतिहासिक र गौरवपूर्ण रह्यो। वेस्ट इन्डिजका लागि यो आत्मपरीक्षण गर्ने अवसर बन्यो।

तर, नेपालका मुख्य प्रशिक्षक स्टुअर्टले यस जितलाई सतही रूपमा मात्र लिन चाहँदैनन्। उनी भन्छन्, “वेस्ट इन्डिज बलियो टोली हो। म यो टोलीको प्रशिक्षकसमेत भइसकेकाले सोमबार खेलमा फर्किनेछ भन्ने आशा गर्दछु। त्यसैले हामीले अझ राम्रो खेल्नुपर्छ।”

स्टुअर्ट त्यसबारे सचेत हुनु स्वाभाविक पनि हो। सन् २०१८/१९ मा उनले नै वेस्ट इन्डिजलाई प्रशिक्षण दिएका थिए। त्यसैले उनी यो टोलीसँग जिते पनि हारे पनि फेरि छिटै लयमा फर्किन सक्ने खुबीबारे जानकार छन्। खासगरी वेस्ट इन्डिजजस्तो टोलीमा कहिल्यै प्रतिभा र क्षमताको कमी देखिएको छैन। त्यसैले एक खेल जित्दैमा उसलाई कमजोर ठान्नु आफैँमा जोखिम हुन सक्छ।

पहिलो खेलमा वेस्ट इन्डिजले चार नयाँ खेलाडीलाई मौका दिएको थियो। पहिलो खेलमा यो अनुभवहीन टिम देखिएको छ। तर, यो रणनीति आफैँमा खतरनाक पनि हुन सक्छ।

यस्ता अवसरमा नयाँ खेलाडीहरू आफूलाई साबित गर्न दोब्बर जोसका साथ मैदानमा उत्रिन्छन्। नेपालले पहिलो खेलमा यी खेलाडीलाई दबाबमा राख्दै जित हात पारेको छ। तर, प्रशिक्षक स्टुअर्टलाई यी उदीयमान खेलाडीहरूले दोस्रो वा तेस्रो खेलमै प्रतिफल दिन सक्छन् भन्ने पनि थाहा छ।

यसरी हेर्दा वेस्ट इन्डिज हाल पराजयपछि पुनः लयमा फर्किने अवस्थामा छ। नेपालका लागि चुनौती भनेको पहिलो जितलाई उपलब्धि मानेर ढुक्क नहुने हो। बरु त्यसको निरन्तरता बुद्धिमता हुन सक्छ। वेस्ट इन्डिजले आफ्नो स्वाभाविक आक्रामक शैली पक्रियो भने खेल पल्टाउने कुरामा दुईमत छैन। यस्तो भएमा सिरिज १–१ को बराबरीमा आइपुग्नेछ।

वेस्ट इन्डिजसँग नेपालविरुद्ध टी–२० खेल खेलेको अनुभव नै थिएन। तर, पहिलो खेलमै नेपालले फिल्डिङ र बलिङमा देखाएको धारिलोपनले क्यारेबियन टोलीलाई चकित मात्र पारेन, दबाब पनि झेल्न बाध्य बनायो।

त्यसैले स्टुअर्ट आफ्ना खेलाडीलाई शान्त राख्न चाहन्छन्। “कार्डियाक किड्स भन्ने ट्याग हटाउनुपर्छ। उत्कृष्ट खेलाडीहरूले आधारभूत कुरा दोहोर्‍याएर उत्कृष्ट निर्णय लिन्छन्। त्यसका लागि मन शान्त राख्नुपर्छ। सास फेर्ने तरिका र मुटुको गति नियन्त्रण गर्ने कुरा पनि सिकाउँदै छु। हामी अझै युवा टिम हौँ, तर प्रत्येक खेलमा सुधार देखिएको छ, जसले मलाई गर्व महसुस गराउँछ,” उनी भन्छन्।

स्टुअर्टले भनेझैँ वेस्ट इन्डिज पहिलो खेल सकिएलगत्तै आत्मालोचनामा उत्रिसकेको छ। त्यसैले सोमबार सारजाहमै हुने दोस्रो खेललाई लिएर कप्तान अकिल हुसैन गल्ती नदोहोर्‍याउने पक्षमा देखिन्छन्। “मलाई लाग्छ, १४८ रन यो पिचमा पर्याप्त स्कोर थियो। तर, हामीले सायद १५ रन बढी दियौँ। त्यसबाहेक पनि त्यो लक्ष्य पछ्याउन सक्ने विश्वास हामीसँग थियो। तर, नेपालले उत्कृष्ट फिल्डिङ गर्दै दुई विकेट निकाल्यो,” हुसैनले खेलको मूल्यांकन गर्दै भनेका छन्।

वेस्ट इन्डिजसँग नेपालविरुद्ध टी–२० खेल खेलेको अनुभव नै थिएन। तर, पहिलो खेलमै नेपालले फिल्डिङ र बलिङमा देखाएको धारिलोपनले क्यारेबियन टोलीलाई चकित मात्र पारेन, दबाब पनि झेल्न बाध्य बनायो। वेस्ट इन्डिजले ओपनर काइल मेयर्सलाई पाँच रनमै गुमायो। मध्यक्रमका केस्सी क्यार्थी पनि १६ रनमै आउट भए।

तर, हुसैनलाई डेब्यु गरेका चार खेलाडीप्रति निकै विश्वास छ। “हामीसँग क्षमता र सीप दुवै छ। कुरा अब त्यसलाई मैदानमा लागु गर्ने हो। अझ राम्रो सुरुआत गर्नैपर्छ, त्यसले पछि आउने खेलाडीलाई खेल्ने मौका दिन्छ। तर, सुरुआत बिग्रियो र गलत समयमा विकेट गुमायौँ भने टोली सधैँ दबाबमा रहन्छ र लक्ष्य पछ्याउँदा गाह्रो हुन्छ,” उनी भन्छन्।

अब हेरौँ, सोमबारको खेलमा नेपालले सोही जितलाई निरन्तरता देला कि वेस्ट इन्डिजले गल्ती सुधार्दै पुनरागमन गर्ला?