काठमाडौं । पाकिस्तानमा एक जना युवकले पब्जी गेममा आफ्नो टार्गेट पूरा गर्न नसकेको झोकमा आफ्नै परिवारका सदस्यहरूलाई गोली हानेर हत्या गरेका छन्।
१७ वर्षीय यी युवाले आमा, भाई र दुई जना बहिनीको हत्या गरेको न्युज एजेन्सीहरूले बताएका छन्। पाकिस्तानको लाहौर जिल्ला अदालतले यो हत्या काण्डका दोषी जैन अलीलाई सय वर्षको जेल सजाय सुनाएको छ । पब्जीको लतमा डुबेका ती युवकलाई गेम खेल्नबाट धेरै पल्ट परिवारका सदस्यले रोक्न चाहेका थिए।
इस्लामावादका मनोचिकित्सक मोहम्मद अली खानले वाइस वल्र्ड न्युजलाई दिएको अन्तर्वार्तामा ती युवामा मानसिक समस्याबाट जुधिरहेको हुनसक्ने तर्फ आशंका गरेका छन्।
पाकिस्तानी अखबारहरूका अनुसार उनले परिवारका सदस्यहरूको हत्या गर्दा उनको उमेर १४ वर्ष थियो। तीन वर्ष पूरानो मुद्दामा भर्खरै अदालतले फैसला सुनाएको हो । नाबालिक भएका कारण मृत्युको सट्टा ४ जनाको हत्याको सजाय ४ पल्ट जन्मकैदको समय निर्धारण गरिएको हो । पाकिस्तानमा हत्याको सजाय २५ वर्ष भुक्तान गर्नुपर्ने कानुन छ।
जैन अलीको पब्जीको नराम्रो लत थियो। उनलाई आमा नाहिद मुबारकले धेरै पल्ट सम्झाउनका लागि गाली गरेकी थिइन । प्रहरीको रिपोर्टमा उल्लेख छ– हत्याको दिन अलीले गेममा आफ्नो टार्गेट पूरा गरेका थिएनन्।
आमाले गेम खेलेर फर्किएका छोरालाई सम्झाउन फेरि गाली गरेकी थिइन । तर, रिसले चुर अलीले आफ्नै आमाको लाइसेन्स भएको पेस्तोलले सबैको हत्या गरेका थिए । आमाको उमेर ४५, दाजु तैमुरको २०, बहिनीहरू माहनुरको १५ र जन्नतको १० वर्ष थियो।