काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

टिप्पणी

काठमाडौँको सिंहदरबारदेखि गाउँको सिंहदरबारसम्मका शासक र तिनका आसेपासेको चुरीफुरी असह्य भइसकेको कारण जेन–जीले आम नेपालीको साथ पाए

१४ आश्विन २०८२
अ+
अ-

आधा संसार युद्धमा रुमल्लिरहेको बेला अचानक दुई ढुंगाबीचको तरुल मानिएको नेपालमा जेन–जीको उदय भयो। पूर्वसरकारको इतिहास नै कलंकित बनाउने आततायी नरसंहारपछि दुखेका क्रुद्ध मनसँगै सडकमा उत्रिएका जेन–जीलाई कसैले रोक्ने आँटसम्म गरेनन्। उल्टै मौन समर्थन दिए। यस अर्थमा यो तीन दशकपछि जनता जागेको दिन थियो। एकैदिन २२ होनहार युवाको बलिदान लिइएको यो कालो दिन इतिहासमा समेत कालै अक्षरले लेखिनेछ।

परिवर्तनका लागि मेचीकाली एक भएको यस दिनले भविष्यको होमवर्क भने गरेको छैन। त्यसैले यो देश अहिले इतिहासमा पहिलोपटक शून्यताको कालखण्डमा प्रवेश गरेको छ। यो अवस्था कुनै पनि सार्वभौम मुलुकका लागि राम्रो हुँदै होइन। सबैभन्दा छोटो समय चलेको मानिएको आन्दोलनले सत्ता त फाल्यो, तर देशलाई ठूलो अन्योलमा धकेल्यो।

जेन–जी पुस्ताले ३६ घण्टामै एक सार्वभौम मुलुकको तख्तापलट गर्नु विश्वका लागि आश्चर्यको विषय भएको छ। सोसल मिडिया बन्द गरिएपछि सल्किएको आगो पनि उनीहरूको पुनरागमनसँगै निभेको छ। एकथरीले यसलाई चीनको टिकटक र अमेरिकाको गुगलबीचको युद्धका रूपमा देखाउन खोजेका छन्।

आम नेपालीले भने बितेका तीन दशकमा फेरिरहने उनै अनुहारका कारण देश चिथोरिँदै गर्दा केही परिवर्तन होला कि भनेर युवाप्रति आशा देखाएका हुन्, जेन–जी स्पष्ट हुन आवश्यक छ।

सन् २०२२ मा श्रीलंकामा अचानक जनता सडकमा ओर्लिए। मूल्यवृद्धि, बेथिति र विदेशी मुद्रा भण्डारण रित्तो भएपछि खपिनसक्नुभएका उनीहरूले राष्ट्रपति भवनदेखि संसद् भवनसम्म तोडफोड गरेर उद्दण्डता मच्चाएपछि राष्ट्रपति गोडवाया राजापाक्षे राजीनामा दिन बाध्य भए। यो घटना भएको दुई वर्षपछि बाङ्लादेशमा त्यहाँको स्वतन्त्रता आन्दोलनमा सहभागी विशेष समुदायलाई आरक्षण दिने कानुन बनेपछि असहमत युवा विद्यार्थीले आन्दोलन गरे, लगभग नेपालजस्तै।

हिमालपारिको छिमेकीले कुनै दह्रो प्रतिक्रिया दिएको छैन। पश्चिम र दक्षिणको नेपाललाई हेर्ने दृष्टिकोणमा यो परिवर्तनले नयाँ धरातल खोजी गर्न बाध्य हुनेछ। दुई विशाल छिमेकीबीचको समृद्ध नेपालको परिकल्पना साकार गर्न कूटनीतिको बलियो जग आवश्यक छ।

अन्तत: ५ अगस्ट २०२४ देखि प्रधानमन्त्री शेख हसिना भारतमा शरणार्थी जीवन बिताइरहेकी छन्। आन्दोलनका कारण यी दुवै ठाउँमा सरकारका मठाधीश भाग्नुपर्‍यो। दक्षिण एसियाका तीनवटै देशमा लगातार भएका एकैखाले युवा आन्दोलनले यहाँ रहेको चरम गरिबी, भोकमरी, बेरोजगारी, परिवारवाद, भ्रष्टाचार र बेथितिको बयान गर्न बाँकी विश्वलाई बल मिलेको छ। यसै समयमा अर्का दुई छिमेकी पाकिस्तान र अफगानिस्तानमा पनि तख्तापलट नभएको हैन। यी देशमा जनताका समस्या नेपालकै जस्तै भए पनि फरक शासकीय शैलीका कारण नेपालसँग मेल खान्नन्। यस अर्थमा पूरै दक्षिण एसियाले अहिले परिवर्तन खोजेको छ। बेलाबेला आन्तरिक जातीय हिंसामा परिरहने भारत भने पाकिस्तानसँग जोरी खोज्दै विश्वको चौथो अर्थतन्त्र बन्ने दौडमा छ।

श्रीलंका र बाङ्लादेशपछि नेपालमा भएको सेप्टेम्बर आन्दोलनमा एउटा कुरा भने समान छ, त्यो हो– जेन–जी।

आखिर के हो त, जेन–जी। कम्प्युटर र स्मार्टफोनको जमानामा यो धर्तीमा आँखा खोलेको पुस्ता आफूलाई जेन–जी भन्न रुचाउँछ। प्रविधिको अनुपम आनन्द यो पिँढीले लिएको मानिन्छ। सन् १९९७ देखि २०१२ सम्म जन्मिएको पुस्तालाई जेन–जी भनिन्छ। जन्मनेबित्तिकै इन्टरनेट, कम्प्युटर, फोन र सोसल मिडिया पाएको यो पुस्ताको ठूलो हतियार नै मोबाइल हो। यस पुस्तालाई ‘जेनेरेसन बेस्ट’ पनि भनिन्छ।

नेपालको सन्दर्भमा फोन र सोसल मिडियामार्फत नै जेन–जी एकत्रित भएको मानिन्छ। सोसल मिडिया यो पुस्ताको निद्रा, भोक र धड्कन हो। यो फास्ट र फरवार्ड पनि छ। जेन–जीपछाडि पनि अर्को पुस्ता हुर्कंदै गएको छ। जसलाई ‘जेनेरेसन अल्फा’ भनिन्छ। २०१३ बाट अहिलेसम्म हुर्कंदै गरेको पुस्ता अल्फा हो। अत्यन्त चतुर दिमाग भएको अल्फाले प्रविधिको प्रयोग र दुरुपयोग सबै जानेको छ। संसारका सारा प्रविधि र आधुनिकताको उपभोग यो पुस्ताले गरिरहेको छ।

जेन-जी आन्दोलनका दौरान बानेश्वरमा जम्मा भएका युवा। तस्बिर : बिक्रम राई/नेपालन्युज

जेन–जीको आन्दोलन किन सफल हुन्छ? यो बुझ्न पछिल्ला सात पिँढीलाई बुझ्न जरुरी छ। १९०१ देखि १९२७ सम्म जन्मिएको पुस्ता ‘ग्रेटेस्ट जेनेरेसन’ हो। गरिबी, भोकमरी, संघर्ष, बिरामी र युद्धमा हुर्किएको यो पुस्ताको जीवन कठिन भएर पनि आफूलाई जीवित राख्यो। सन् १९२८ देखि १९४५ सम्म जन्मिएको अर्को पुस्ता हो, ‘साइलेन्ट जेनेरेसन’। यो समयमा जन्म लिएको पुस्ताको ठूलो तप्काले बढी दासता झेल्नुपर्‍यो। विश्वयुद्धको यो समयमा धर्ती अस्तव्यस्त थियो। बेलायती साम्राज्यमा सूर्य अस्ताउँदैनथ्यो। मानिसहरू बाध्यतामा मौन थिए, त्यसैले यो पुस्ताले यही नाम पायो। सन् १९४६ देखि १९६४ सम्म जन्मेको अर्को पुस्ता हो– बेबी बुमर। आफ्ना सारा समस्या बिर्सेर आविष्कार र प्रविधि विकासको यो समयमा मानिसले प्रविधिमा विशाल फड्को मारेर जीवन सहज मात्र बनाएनन्, आफैँले बनाएको विनाशक एटम बमको क्रूरतासमेत देख्न भ्याए। आजको विश्व परिवर्तनको श्रेय बेबी बुमरलाई जान्छ।

सन् १९६५ देखि १९८० सम्मको अर्को पुस्ताको हो– ‘जेनेरेसन एक्स’। पछिल्लो समय भएका आविष्कारमा थप मिहिनेत गरी आधुनिक विश्वको परिकल्पना यो समयले सम्भव गर्‍यो। जेनेरेसन एक्स आजको आधुनिक विश्वको परिकल्पनाकार पुस्ता हो। यो पुस्ताले पछिल्ला पुस्तालाई प्रविधि हस्तान्तरण गर्न पुलको समेत काम गरेकाले एक्स फ्याक्टर पुस्ता मानिन्छ।

सन् १९८१ बाट १९९६ बीच जन्मिएको पछिल्लो जेनेरेसन हो– ‘मिलेनियल्स’। शताब्दीको अन्त्य भइरहेको बेला हुर्किएको यो पुस्ताले विश्वमा आएका अधिकांश बदलावको पहिचान गर्‍यो। यो समय विश्वमा सबैभन्दा बढी परिवर्तन भए।

परिवर्तनको नाममा कहालीलाग्दो अनिश्चित भविष्यहीन भुमरीको चेपुवामा परेको अहिलेको जेन–जी पुस्ताले आखिर सिंहदरबार पोलेरै छाड्यो। त्यो सिंहदरबार जहाँ उनीहरूको नजरमा ‘स्यालको रजाइँ’ थियो। मौलाउँदो भ्रष्टाचार र बेथितिका कारण आजित यो पुस्तालाई खाडीमा भविष्य खोज्न बाध्य पारिएको छ। श्रीलंका र बाङ्लादेशमा आएका परिवर्तनबाट पनि जेन–जी पुस्ता प्रभावित छ।

खासगरी पछिल्लो समय मुलुकमा कथित ठूलाबडाका सन्तानले सोसल मिडियामा देखाएको चुरीफुरी पनि जेन–जी आन्दोलनको महत्त्वपूर्ण कडी मानिएको छ। सोसल मिडिया एक्समा जसविरुद्ध ‘नेपो किड्स’ ट्रेन्डिङमा थियो। पछिल्लो समय इन्डोनेसिया र फिलिपिन्समा त्यहाँका शासकका सन्तानको देखावटीपन र विलासी जीवनशैलीविरुद्ध ‘नेपो बेबिज’ ट्रेन्डिङमा ल्याएका थिए। यो ट्रेन्डले त्यहाँको सत्ता परिवर्तन गराइछाड्यो। ‘नेपो बेबिज’ नेपालमा पनि जेन–जी आन्दोलनमा ट्रेन्डिङमा थियो।

जेन-जी आन्दोलनका क्रममा नयाँ बानेश्वरमा प्रदर्शनकारी। तस्बिर : बिक्रम राई/नेपालन्युज

नेपालको कुल जनसंख्याको ७३ प्रतिशतले मोबाइल फोन प्रयोग गर्छ। यहाँका २५ देखि ३४ वर्षका ५१ प्रतिशत युवासँग स्मार्टफोन छ। मुलुकमा ६२ लाख युवा १५ देखि २४ वर्ष उमेर समूहका छन्। आधा जनसंख्या सोसल मिडियामा आबद्ध छ। जेन–जी आन्दोलनमा मोबाइल नै युवाको सबैभन्दा ठूलो हतियार बन्यो। घटनाको प्रत्येक पलको भिडियो अपलोडसँगै जनताको आक्रोशमिश्रित समर्थन उनीहरूलाई मिल्यो।

काठमाडौँको सिंहदरबारदेखि गाउँको सिंहदरबारसम्मका शासक र तिनका आसेपासेको चुरीफुरी असह्य भइसकेको कारण जेन–जीले आम नेपालीको साथ पाएका हुन्। भारतीय सञ्चारमाध्यमले एमाले नेता महेश बस्नेतको छोरीको विवाहमा सोसल मिडियामा देखाइएको तडकभडक र विवाहका दिन सडक जाम गरेर यात्रुलाई सास्ती दिएपछि जेन–जी रुष्ट भएर सडकमा आएको दाबी गरेका छन्। भ्रष्ट सरकारका यस्तै बेथिति सोसल मिडियामा आउन थालेपछि सरकारले सोसल मिडियालाई प्रतिबन्ध लगाएको पनि उनीहरूले जोडेका छन्।

जेन–जीका कारण शून्यतामा झरेको मुलुकलाई पार लाउने जिम्मा अब नेपाली आफैँले छानेका वास्तविक हिरोहरूले पाए, नयाँ इतिहास कोर्न सहज होला। अधिकांश नेपाली रनभुल्ल परेको यो समयमा देशलाई यी सोसल हिरोहरूको पनि उत्तिकै खाँचो छ।

कुनै देशका लागि संसद् जनताको सर्वोच्च स्थान हो। जेन–जीको हमला पनि त्यहीँ भएकाले अन्तर्राष्ट्रिय समुदायको चासो चुलिएको छ। कुनै देशको संसद् जलाइनु, सर्वोच्च अदालतदेखि मिडिया हाउसमा आक्रमण हुनु, पूर्वप्रधानमन्त्री र मन्त्रीका भौतिक सम्पत्ति तोडफोड र परिवारलाई सांघातिक आक्रमण हुनु, पूर्वप्रधानमन्त्रीपत्नी आगोमा पोलिनु, मन्त्रीहरूलाई लखेट्दै कुट्नु उनीहरूका लागि अचम्मको विषय र समाचार बनेको छ। सगरमाथा र बुद्धको देशमा कस्तो अचम्म– विश्वले हेरेको छ, लेखेको छ र फलो पनि गर्दै छ। मुलुकमा आगामी दिनमा हुने परिवर्तनको चासो दक्षिणलाई बढी भए पनि उत्तर र पश्चिम चुप लागेर बस्नेवाला छैनन्। आखिर सबैलाई सगरमाथाको देशमा आफ्नो उपस्थिति चाहिएको छ।

जेनजी आन्दोलनका क्रममा प्रतिनिधिसभा भवनअगाडि भएको अश्रुग्यास प्रहार। तस्बिर: बिक्रम राई/नेपालन्युज

यो आमूल परिवर्तनपछि नेपाली सेनाले देशको जिम्मेवारी लिएको थियो। अहिलेसम्म विवादमा नआएको सेनालाई इतिहासले यो चुनौतीपूर्ण जिम्मेवारी दिएको छ। आशा छ– गोर्खाली सेनाले आफ्नो सान उच्च राखेर यो कठिन समयमा मुलुकलाई निकास दिनेछ। ताकि, फेरि जेन–जीले आफ्नो आलो रगत बगाउन नपरोस्।

मुलुकलाई सरकारविहीन शून्य अवस्थामा पुर्‍याएर थिलथिलो बनाउने पर्दापछाडिका खेलाडीलाई चिन्ने मौका सायद समयले देला। अन्तत:  यो अघोषित ‘सैन्य कु’ को श्रेय तीन दशकयताका मुख्य सत्ताधारीले लिनैपर्छ। लास पर्दा सबैभन्दा पहिला जुम्राले शरीर छाडेजस्तै सबै मतियारहरू शिवपुरीमा लुकेका छन्, सुरक्षाकर्मीको सहयोगमा।

उनीहरूले गुम्सिएर रहेका जेन–जीलाई उठाएर यो देशलाई अझ चिथोरिनबाट भने बचाएका छन्। जेन–जीलाई कम आँक्नु उनीहरूको मूर्खता साबित भएको छ।

युद्ध र अमेरिकी ट्यारिफका कारण नयाँ ध्रुवीकरणमा अल्झिरहेको विश्वशक्तिमाझ यो विषय झन् अचम्मको छ। विश्वको दक्षिण एशियालाई हेर्ने ‘साउथ ब्लक’ झ्यालभित्र एक किसिमको अन्योल देखिएको छ। आखिर यी जेन–जी को हुन्? साउथ ब्लक हैरान भएर नै होला, नेपालमा आएको नसोचेको यो परिवर्तनपछि उसले प्रतिक्रिया दिएको छ।

हिमालपारिको छिमेकीले कुनै दह्रो प्रतिक्रिया दिएको छैन। पश्चिम र दक्षिणको नेपाललाई हेर्ने दृष्टिकोणमा यो परिवर्तनले नयाँ धरातल खोजी गर्न बाध्य हुनेछ। दुई विशाल छिमेकीबीचको समृद्ध नेपालको परिकल्पना साकार गर्न कूटनीतिको बलियो जग आवश्यक छ। पुराना छिमेकी अहिले विश्वशक्ति बन्ने दौडमा छन्। यस्तोमा नेपाल सरकारविहीन शून्य अवस्थामा पुग्नु कदापि स्वीकार्य छैन।

भर्खर सकिएको संघाई सहयोग संगठनको बैठकमा देखिएको पुटिन, सी चिनफिङ र मोदीको निकटताबाट पनि जेन–जी आन्दोलन प्रभावित भएको मान्ने तप्का पश्चिमालाई हेर्ने दृष्टिकोण परिवर्तित गर्न बाध्य भएको छ। विश्वका दुई ठूला अर्थतन्त्र र जनसंख्याबीचको सानो देशमा यो परिवर्तनले सबैका आँखा नेपालतिर अडिएका छन्।