काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१४ आश्विन २०८२
अ+
अ-

काठमाडौं। दक्षिण भारतीय अभिनेता विजय थलपतिले तमिलनाडु घटनाको दुई दिनपछि मंगलबार पहिलोपल्ट मुख खोलेका छन्। उनले प्रतिक्रिया दिँदै राज्यका मुख्यमन्त्री स्टालिनले आफूसँग बदला भाव राखेको आरोप लगाएका छन्।

तमिल स्टार विजय हालै राजनीतिमा उत्रिएका हुन्। तीन दिनअघि २७ सेप्टेम्बरमा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा भागदौड हुँदा ४१ जनाको ज्यान गएको थियो। यो घटनाका ५१ जना घाइते अझैं आइसीयूमा उपचारार्थ छन्।

विजय छुट्टै राजनीतिक पार्टी टिभिके गठन गर्दै अभिनयबाट राजनीतिमा हाम्फालेका थिए। उनले मंगलबार भने, ‘हामीले गल्ती गरेका छैनौं। के मुख्यमन्त्री स्टालिन बदला भावमा उत्रिएका हुन्? बदला नै लिनुछ भने मसँग कुरा गर्दा भइहाल्छ नि। घर वा कार्यालय दुवै ठाउँमा भेट्न उपलब्ध छु।’

दुई दिनअगाडिको घटनामा नवनिर्मित पार्टीका पदाधिकारीहरूलाई पक्राउ गर्न थालिएपछि विजय असन्तुष्ट भएका हुन्। ‘म मुख्यमन्त्रीलाई आग्रह गर्न चाहन्छु, मेरो पार्टीका पदाधिकारीलाई नोक्सानी नपुर्‍याउनुहोस्।’

उनले घटनाको विषयमा सत्यतथ्य विस्तारै बाहिर आउने पनि बताए। उनले भने, ‘घटनाप्रति दुःखी छु। हामी राजनीतिक यात्रामा छौं। अझ ठूलो आत्मविश्वासका साथ अगाडि बढ्ने छौं।’

यो घटनामा तमिलनाडु प्रहरीले ३ जनालाई पक्राउ गरिसकेको छ। जसमा टिभिके पार्टीका जिल्ला सचिव विपी माथिय्यालगन र एक पदाधिकारी पौनराज, अर्को पत्रकार समावेश छन्। मंगलबार अदालतले पौनराज र माथिय्यालगनलाई १४ दिन न्यायिक हिरासतमा राख्न प्रहरीलाई स्विकृति प्रदान गरेको छ। पौनराजमाथि घटनाका मुख्य अभियुक्त मानिएका माथिय्यालगनलाई शरण दिएको आरोप छ। युट्युबर तथा पत्रकार फेलिक्स गेराल्डलाई पनि मंगलबार बिहान पक्राउ गरिएको थियो।

गेराल्डमाथि गलत सूचना फैलाएको आरोप छ। घटनालाई लिएर अभिनेता विजयमाथि पनि उजुरी परेको छ। उनीमाथि भिड जुटाउन जानीजानी सभामा ढिलो पुगेको आरोप लगाइएको छ। यस बाहेक उनीमाथि अनुमति बिना रोड शो गरेको आरोप पनि छ। उजुरीमा भनिएको छ, विजय दिउँसो ४ बजेर ४५ मिनेटमै करुर पुगिसकेका थिए। तर, उनको टोली साँझ ७ बजेमात्र सभा भएको ठाउँमा पुगेको थियो। जसका कारण भिड नियन्त्रणभन्दा बाहिर गयो।

प्रहरीले सुरूमै आयोजक र विजयका नजिकका व्यक्तिलाई स्थिति नियन्त्रणभन्दा बाहिर गइसकेको जानकारी गराएका थिए। तर, उनीहरूले प्रहरीको चेतावनीलाई वेवास्था गरे। यति हुँदाहुँदै पनि प्रहरीले उनीविरूद्ध अहिलेसम्म कुनै मुद्दा दर्ता गरेको छैन।

यो घटनाको छानवीनका लागि उच्च न्यायालयका पूर्वन्यायाधीस अरुणा जगदीशनको अध्यक्षतामा छानबिन कमिटी गठन भइसकेको छ।