वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमा निर्मित फिल्ममा पनि सतप्रतिशत कर लगाउने घोषणा गरेका छन्। उनको विदेशी फिल्ममा १०० प्रतिशत कर लगाउने निर्णयले नेपाललगायत भारतीय सिनेमामा नराम्रो असर पुग्ने पक्का छ।
ट्रम्पले भारतलाई मध्यनजर राखेर विदेशमा निर्मित फिल्ममा कर लगाउन लागे पनि यसको असर सबै देशको फिल्ममा पर्नेछ। ट्रम्पले सोमबार ट्रुथ सोशलमा एउटा समाचार पोस्ट गर्दै यसको जानकारी दिएका हुन्। पोस्टमा भनिएको छ, ‘जसरी एउटा बच्चाबाट उसको चकलेट खोस्ने काम भएको छ, यसरी नै हाम्रो फिल्म उद्योग अन्य देशबाट अमेरिकामै ठगिएको छ।’
उनले क्यालिफोर्नियाका मेयरको अक्षमताका कारण यो समस्याबाट हलिउडको फिल्म प्रभावित बनेको आरोप पनि लगाएका छन्। उनले भनेका छन्, ‘लामो समयदेखि चलिरहेको यो समस्याको समाधानका लागि विदेशमा निर्मित सबै फिल्ममाथि सय प्रतिशत ट्यारिफ लागु गर्छु।’ अमेरिकामा नेपाली फिल्मको कारोबार कति छ, त्यसको कुनै तथ्यांक सार्वजनिक भएको छैन। तर, गत वर्ष १८ नेपाली फिल्म अमेरिकामा रिलिज भएको थियो। जसमा पूर्णबहादुरको सारङीले १० लाख डलर आम्दानी गरेको बताइएको छ।
नेपाली फिल्मको अमेरिकामा प्रबद्र्धन गर्दै आइरहेका सेभेन सिस इन्टरनेशनलका प्याट्रिक सुवेदीले ट्रम्पको नयाँ घोषणाले नेपाली फिल्मलाई ठूलो असर पर्ने प्रतिक्रिया दिएका छन्। ‘राष्ट्रपति ट्रम्पको घोषणा लागु भएमा नेपाली फिल्म उद्योगलाई ४० देखि ५० प्रतिशत असर पर्नेछ,’ उनी भन्छन्।
उनका अनुसार विदेशी फिल्ममा ट्यारिफ लागु भएको खण्डमा अमेरिकामा नेपाली फिल्म रिलिजको संख्या घट्ने छ। त्यो भनेको वर्षमा १०–११ वटा फिल्म मात्र रिलिज हुनेछन्।
अमेरिकामा भारतीय फिल्मको कारोवार ठूलो छ। गत वर्ष मात्र अमेरिकामा भारतीय फिल्मको बजार २० मिलियन डलरको थियो। कोरोना महामारीभन्दा अगाडि अमेरिकामा भारतीय सिनेमाको कारोवार ८ मिलियन डलर मात्र थियो। तर, यसपछि तीब्र रूपमा बढिरहेको बताइएको छ।