काठमाडौँ। तीन वर्ष लामो पर्खाइपछि मोहम्मद आदिल अन्सारी फेरि नेपाली राष्ट्रिय क्रिकेट टिममा फर्किएका छन्। मैदानभन्दा टाढा बिताएको त्यो समय उनका लागि करिअरको अवरोध मात्र थिएन, जीवनकै ठूलो परीक्षा थियो।
प्रत्येक दिन उनी मन भित्रभित्रै एउटै कुरा दोहोर्याउँथे– ‘एकदिन फेरि नेपालको जर्सी लगाएर मैदानमा उत्रनुपर्छ।’ संयुक्त अरब इमिरेट्स (यूएई)मा भइरहेको टी–२० सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिजविरुद्धको मौका नै उनको सपना पूरा गर्ने क्षण बन्यो।
पुनरागमनको पहिलो खेलमै चार विकेट झार्दै उनी टिमको ऐतिहासिक जितको टर्निङ पोइन्ट बने। खेलपछि मुस्कुराउँदै उनले भने, “तीन वर्ष धेरै लामो समय हो, कमब्याक गर्दा निकै खुसी लागेको छ। फेरि आफूमाथि कन्ट्रोल पनि महसुस भइरहेको छ।”
तर, यो यात्रा सजिलो थिएन। २०२२ मा स्पट फिक्सिङको आरोप लागेपछि उनी मैदानबाहिर थिए। करिअरमै पूर्णविराम लाग्ने डर थियो। तर, आदिलले हार मानेन्। प्रतिबन्धको समयमा पनि उनले दिनहुँ अभ्यासलाई निरन्तरता दिए, बलिङ सुधार गरे र ब्याटिङमा नयाँ तरिका सिके। फिटनेसमा ध्यान दिएर आफूलाई खेलमै व्यस्त राखे। जब राष्ट्रिय टिमले उनलाई बोलायो, उनी शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि तयार भइसकेका थिए।

यो सिरिजमा सुरुमा उनलाई खेल्ने अवसर मिलेको थिएन। पहिलो खेलमा उत्कृष्ट लयमा रहेका नन्दन यादवलाई उनले परिवर्तन गर्न सकेनन्। तर, पेसर बलर नन्दनले ढाडको चोट बोकेपछि दोस्रो खेलमा आदिललाई मौका दिइएको हो। यही संयोगले उनको कमब्याकलाई स्वर्णिम बनाइदियो।
नेपालले टस जितेर ब्याटिङ रोज्दा अन्तिम ओभरतिर बल्ल उनले ब्याटिङको अवसर पाए। पाँच बल खेल्न पाएका उनले दुई चौका प्रहार गर्दै ११ रन जोडे। उनी हाँस्दै भन्छन्, “पाँच बलमा जे गर्न सकिन्छ, त्यो गर्नुपर्छ भन्ने सोच थियो। अर्को खेलमा चाहिँ मेरो ब्याटिङ नै नआओस् भन्ने चाहन्छु, त्यसो भयो भने टप अर्डरले राम्रो खेलेको अर्थ हुन्छ।”
तर, उनको असली चमक बल्ल बलिङमा देखियो। १७४ रनको विशाल लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको वेस्ट इन्डिजलाई उनले कलात्मक बलिङको जालमा अल्झाए। काइल मेयर्सलाई ६ रनमा रोके, एकिम अगस्टे १७ रनमै समेटिए, अमिर जांगु १६ रनमा धराशायी भए भने अघिल्लो खेलमा अलराउन्ड प्रदर्शन गरेका नवीन बिदाइसी त जम्मा दुई रनमा आउट भए।
चार ओभरमा २४ रन खर्चिंदै चार विकेट लिएको उनको प्रदर्शन नेपाली क्रिकेटकै चम्किलो पंक्तिमा दर्ज भयो। यसअघि सात इनिङ्समा जम्मा पाँच विकेट लिएका आदिलको उत्कृष्ट बलिङ फिगर २१ रनमा दुई विकेट मात्र थियो, त्यो केन्याविरुद्ध हो।
तर, सोमबारको प्रदर्शनले त्यो कीर्तिमानलाई तोड्यो। वेस्ट इन्डिजजस्तो बलियो टोलीविरुद्ध उनले देखाएको आत्मविश्वास र योजनाबद्ध बलिङले नेपाली टिमलाई ९० रनको ऐतिहासिक जित मात्र दिलाएन, एक खेलअगावै सिरिज पनि उठायो। “हामी खेल सुरु हुनुअघि नै हेर्छौं, कुन ब्याटर कस्तो खेल्छ। त्यसैअनुसार फिल्ड प्लान बनाउँछौँ। आज त्यही प्लान मिल्यो, त्यसैले सफलता हात पर्यो,” उनले टिमवर्कको महत्त्व जोड्दै भने।

आदिल अन्सारी। तस्बिर : बिक्रम राई/नेपालन्युज
अस्ट्रेलियन प्रशिक्षक स्टुअर्ट लले उनलाई ‘युटिलिटी प्लेअर’ का रूपमा हेरिरहेका छन्। आवश्यक परे ब्याटिङमा छिटो रन बनाउन सक्ने, बलिङमा विकेट झार्न सक्ने उनको गुण टिमका लागि अमूल्य सम्पत्ति हो। आदिल पनि आफूलाई एक खेलको नायक होइन, निरन्तर योगदान दिने खेलाडीका रूपमा देखाउन चाहन्छन्।
“मलाई जे जिम्मेवारी दिइन्छ, त्यही पूरा गर्ने प्रयास गर्छु। ब्याट समातेको बेला ब्याटबाट, बल समातेको बेला बलबाट,” उनी भन्छन्। तीन वर्षपछिको कमब्याक व्यक्तिगत सफलताको कथा होइन, यो दोस्रो अवसरले कस्तो अर्थ दिन सक्छ भन्ने सन्देश पनि हो।
आदिलको अनुशासन, धैर्य र मिहिनेतले उनलाई फेरि राष्ट्रिय जर्सीमा फर्काएको छ। अब उनको नजर निरन्तरतामा छ। त्यसैले राष्ट्रिय टिमले देखाएको विश्वासलाई जित र प्रदर्शनमार्फत प्रमाणित गर्नुपर्ने चुनौती उनलाई थपिएको छ।
याे पनि पढ्नुहाेस्
आदिलको घातक बलिङमा नेपाललाई सिरिज