काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

दसैँमा चंगाले ढाकिने उपत्यकाको आकाशमा देखिन्न उत्सवको रङ

१४ आश्विन २०८२
चोभारमा चंगा उडाउँदै युवाहरू। तस्बिर : बिक्रम राई/नेपालन्युज।
अ+
अ-

हट्यो सारा हिलोमैलो

हरायो पानीको वर्षा

भवानीको भयो पूजा

चल्यो आनन्दको वर्षा।

 

जता जाऊँ सबै भन्छन्

दसैँ आयो दसैँ आयो

यही आनन्द चर्चाले

सबै संकट बिर्सायो।

कविशिरोमणि लेखनाथ पौड्यालले दसैँको रमाइलो यस्तै देखेका थिए– वर्षा र हिलोमैलोबिनाको स्वच्छ मौसम, गाउँटोल गुन्जिने दसैँको चर्चा, चंगा उडाउँदै र पिङ खेल्दै रमाउनेहरूको उमंग।

तर, पछिल्ला वर्षहरूमा दसैँको बेला आकाशमा चंगा खासै देखिँदैन। कुनै समय थियो, दसैँ आउनु कैयौँ दिनअगाडिदेखि नै काठमाडौँ उपत्यकामा चराको बथानझैँ चंगाहरू फरफराउँथे। रंगीबिरंगी चंगाले सजिएको आकाशले नै बताउँथ्यो, उत्सव आएछ!

असनमा चंगा बिक्री गर्दै राकेश श्रेष्ठ। तस्बिर : बिक्रम राई/नेपालन्युज।

तर, अचेल आकाश रित्तो देखिँदा विगतमा चंगा–तामझाम देखेर आएका मानिसहरूलाई चाडमा के नपुगेझैँ खल्लो लाग्छ। यस्तै भएको छ, काठमाडौँको फर्पिङ भन्ज्याङका राम कुँवरलाई। चंगा संस्कृति मासिँदै गएको देख्दा उनलाई दसैँ नै फिका लाग्छ। परम्परा मेटिने हो कि भन्ने चिन्ता पनि लाग्छ।

५१ वर्षीय कुँवर आफ्नो बाल्यकाल सम्झन्छन्, “पहिले हामी असार सकिएसँगै चंगा किन्न पैसा जम्मा गर्न थाल्थ्यौँ र साउनमै चंगा, धागो किन्थ्यौँ।” अहिलेका बालबालिका मोबाइलमा झुन्डिएको देख्दा उनीहरूले चाडबाडको असली स्वाद छुटाइरहेको उनलाई लाग्छ।

बालापनमा कुँवरका टन्नै साथी थिए। उनीहरूसँग चंगा किन्न फर्पिङबाट असनसम्म धाउँथे। लट्टाई भने आफैँ बनाउँथे। “पाँच रुपैयाँ भयो भने आफूसँग के के नै भएजस्तो लाग्थ्यो। त्यसले दसैँभरिलाई चंगा किन्न पुग्थ्यो,” उनले रमाइलो मान्दै सुनाए।

करिब ३५ वर्षको उमेरसम्म उनले यसरी नै चंगा उडाउँदै दसैँ मनाए।

बिस्तारै फर्पिङ भन्ज्याङमा उनको साथी सर्कल हरायो। त्योसँगै चंगा उडाउने लहर पनि हराउँदै गयो। यसबीचमा भन्ज्याङका खेत–खलियान घरघडेरीले भरिए। खुला मैदान भेट्न अहिले मुस्किल छ। नयाँ पुस्ता टेलिभिजन, मोबाइलजस्ता प्रविधिको रामरमाइलोमै खुम्चियो। यसरी चंगाको संस्कृति हराउँदै जाँदा कुँवर आफ्नो स्मृतिमा फर्कन्छन् र बाल्यकालीन मिठास चाखेर चित्त बुझाउँछन्।

आफ्नो समुदायमा मात्र होइन, घरमै पनि नयाँ पुस्ताले चंगा, पिङजस्ता परम्परा भुलेर डिजिटल दुनियाँमा डुबेकामा उनी दिक्क रहेछन्। “मेरै छोरो मोबाइलमा व्यस्त हुन्छ। आज चाहिँ उसलाई कर गरेर चंगा उडाउन ल्याएको हुँ,” चोभारमा भेटिएका उनले डाँडामा चंगा उडाइरहेका छोरालाई देखाउँदै भने, “अहिले बरु बूढापाकाले चंगा उडाउँछन्, बालबालिका र युवा भेट्न त मुस्किल छ।”

धेरै ठाउँमा चंगालाई रमाइलो खेल मानिए पनि काठमाडौँ उपत्यकाभित्रको कुरा गर्दा चंगा संस्कृति दसैँसँग जोडिएको छ। यो नेवार समुदायको शरदकालीन संस्कृति मानिन्छ।

असोजतिर धानका बोटमा बाला झुलिसकेको हुन्छ र पानीको आवश्यकता गर्दैन। यस्तोमा वर्षा र सहकालका देवता इन्द्रलाई अब वर्षा पुग्यो है भनेर सन्देश पठाउन चंगा उडाउने लोकपरम्परा रहेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग: बताउँछन्। त्यो सन्देश सुनेर इन्द्रले वर्षा रोकिदिन्छन् भन्ने जनविश्वास छ। “यही कुरालाई कविशिरोमणि पौड्यालले कवितामा ‘हट्यो सारा हिलोमैलो, हरायो पानीको वर्षा’ भनेका छन्। यसपछि दसैँको चटारो हुन्छ, मौसम खुलेर आकाश नीलो भएको र शीतल मौसममा आँगन, कौसी र खुला ठाउँमा चंगा उडाइन्थ्यो,” उनी भन्छन्।

ग्वंग:लाई चंगा जीवनकै एक अंशजस्तो लाग्छ। ९२ वर्ष लागिसकेका उनी सम्झँदै भन्छन्, “पहिले गाउँभर चंगा उडाउन कौसी, आँगन र चौरतिर बालबालिकाको भिड हुन्थ्यो। अहिले आफूले उडाउन नसके पनि अरूले उडाएको देख्दा मन रमाउँछ।”

चंगालाई नेपालभाषामा ‘भुटीमाली’ भनिन्छ। यो बनाउन कागज वा प्लास्टिकको प्रयोग हुन्छ। ग्वंग:को स्मृतिमा धागोमा माझा लगाएर चंगा काट्न प्रतिस्पर्धा गरेका बाल्यकालका ती दिन ताजा छन्। सिसा, माड र लस्सा लगाएर धारिलो पारेको चंगाको धागोले अरूको चंगा काट्दा ‘चेट’ भन्दै केटाकेटीहरू विजेता भावमा टोल नै थर्काउने गरी चिच्याउँथे। कहिलेकाहीँ दाजुभाइकै चंगा जुध्थ्यो। काटिँदा झगडा पर्थ्यो। काटिएर हराएको चंगा खोज्न दुवै भाइ जान्थे। यी सम्झनाले देखाउँछन्, चंगा खेल नभई सम्बन्ध र भावनाको गाँठो पनि हो।

तर अहिले उत्सवको त्यो रङ र भावनाको तन्तु दुर्लभ भएको छ। सहरमा खुला ठाउँको कमी र मनोरञ्जनका विकल्पका कारण बालबालिका र युवायुवतीलाई चंगाले तान्न सकेको छैन। काठमाडौँमा केही वर्षअघिसम्म पर्यटनसँग जोडेर चंगा प्रतियोगिता हुन्थ्यो। तर, अहिले त्यो पनि हराएको छ।

परम्परा हराउँदै जाँदा कतिपय युवा भने फुर्सद निकालेर र योजना नै बनाएर चंगा उडाउनकै लागि उपत्यकाका डाँडापाखा पुग्ने गरेका छन्। गत बिहीबार नेपालन्युजको टोली चोभार पुग्दा साथीभाइको समूह बनाएर गएका केही युवा भेटिए। तीमध्ये कपनबाट आएका आयुष खत्रीले मध्यसहरमा घना बस्तीका कारण खाली ठाउँ नहुँदा चंगा उडाउनकै लागि चोभारतिर उक्लिएको बताए। “चंगा उडाउन हत्तपत्त साथीभाइ नै भेटिँदैनन्, अर्कातिर राम्रो खालको चंगा, लट्टाई र धागो किन्न कम्तीमा ६/७ हजार पर्छ, त्यसैले धेरैले चासो दिँदैनन्,” उनले भने।

थरीथरी चंगा

चंगा त्रिकोण, चौकोण र पानको पात आकारमा बनाइन्छ। यसलाई उडाउन धागो र लट्टाईको प्रयोग गरिन्छ। बालबालिकाले उडाउने चंगा र धागो सामान्य हुन्छ। पारखीले उडाउने चंगा र धागो भने विशेष खालको हुन्छ।

चंगा उडाउने धागोको गुणस्तर र नाम फरक फरक हुन्छ। धागोमा सिसा पिसेर माड मिसाएर माझा लगाइएको हुन्छ। माझा जति राम्रो हुन्छ, धागो उत्ति महँगो पर्छ। त्यस्तै, लट्टाई भने काठ र बाँसबाट बनाइन्छ। यो पनि फनफनी घुम्ने र कस्न मिल्ने दुई किसिमका हुन्छन्।

कालिमाटीमा रहेको चंगा पसलमा विभिन्न प्रकारका चंगा। तस्बिर : बिक्रम राई/नेपालन्युज।

चोभारमा भेटिएका आयुष घुम्नेवाला ठूलो लट्टाई र पानबुट्टे चंगा लिएर आएका थिए। “चंगा त ७० रुपैयाँको हो, लट्टाईको मूल्य चाहिँ दुई हजार र खुकुरी धागो ५५ सय रुपैयाँ पर्‍यो,” उनी भन्छन्, “चेट भयो भने चंगा गयो, धागो लत्रिएर बिग्रिन्छ।”

चारपाँच वर्षअघिसम्म काठमाडौँका हरेक किराना पसलमा चंगा, लट्टाई र धागो बेच्न राखिएको देखिन्थ्यो। अहिले सीमित ठाउँमा मात्रै राखिएको पाइन्छ। असनस्थित चंगाका थोक र खुद्रा विक्रेता राकेश श्रेष्ठले चंगाको व्यापार निकै खस्किएको बताए। “केही वर्षअघिसम्म चंगा किन्न आउनेको भीड लाग्थ्यो, पिसाब फेर्न जानेसम्मको समय हुँदैनथ्यो। अहिले त फाट्टफुट्ट मात्र आउँछन्,” उनले भने।

श्रेष्ठका अनुसार पाँच वर्षअघि दैनिक करिब पाँच हजार चंगा, पाँच सयको हाराहारीमा लट्टाई बिक्री हुन्थ्यो। अहिले दिनमा सात सय वटा चंगा बिक्री हुन पनि गाह्रो छ।

उनका अनुसार नेपालमा उडाइने चंगा प्रायः भारतका कलकत्ता, लखनउ र पटनाबाट आयात गरिन्छ। पछिल्लो समय चीनबाट पनि ल्याइने गरेको छ। केही भने नेपालमै बन्छन्। चंगाको मूल्य आकार र प्रकारअनुसार फरक हुन्छ। चंगाका सोखिनले प्रायः कागजका र ठूला चंगा रोज्छन्। धेरैजसोले भने प्लास्टिकका र साना आकारका चंगा खोज्छन्।

धागो भने भारतसँगै पाकिस्तानबाट आयात हुन्छ। यस्तै, धागोमा माझा नेपालमा पनि हालिन्छ।

आफ्नो पसलका लागि चंगा किन्न असन पुगेकी भक्तपुर, लोकन्थलीकी प्रशंसा श्रेष्ठले पनि चंगा व्यापार निराशाजनक रहेको बताइन्। एक वर्षअघिसम्म उनी दुई हजार वटा चंगा लैजान्थिन्, जुन एक सातामै बिक्री हुन्थ्यो। तर, अहिले एक सय वटा बिक्न पनि गाह्रो भएको उनले सुनाइन्। “२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनपछि विद्यालय बन्द हुँदा केही मात्रामा चंगा बिक्री भएका थिए, तर पछि विद्यालय खुल्यो र लगत्तै दसैँको छुट्टी भएर बालबालिका गाउँ फर्किन थालेपछि व्यापार ठप्प भयो,” उनले भनिन्।