१५ आश्विन २०८२
अ+
अ-

कञ्चनपुर। थारु समुदायमा दसैँ पर्वको विशेष अवसरमा घोर्वा (माटोको घोडा) पूजाको अनौठो परम्परा मनाइन्छ । यो परम्परा केवल देवी–देवताको आराधना मात्र नभई पितृ श्रद्धासँग पनि जोडिएको छ ।

किवदन्तीअनुसार द्वापर युगमा राजा दंगीशरणले घोर्वा पूजाको चलन सुरु गरेका थिए । कथाअनुसार राजा दंगीशरण आफ्नो फौजसहित शिकार खेल्न जंगल गएका बेला सुन्दर एक घोडी देखे । घोडीलाई पछ्याउँदै गर्दा दिनभरी लाग्यो र अन्ततः समातेर दरबारमा ल्याइयो । त्यो घोडी दिउँसो साधारण घोडी जस्तै देखिन्थ्यो तर राति अप्सरा रानीमा परिणत हुन्थ्यो ।दाङ्ग–सुर्खेतविच कालिकिच (कालिमाटी) क्षेत्रम युद्धभै रहेको समयमा अप्सरा रानीको दरबारमा मृत्यु भएपछि राजा दंगीशरणले स्मरणस्वरूप

आफ्ना भारदार र प्रजालाई घोर्वा (माटोको घोडा) बनाई पूजा गर्न आदेश दिएको किवदन्ती छ । त्यही समयदेखि दसैँसँगै घोर्वा पूजाको परम्परा सुरु भएको थारु बुद्धिजिवी विरबहादुर राजवंशीले बताउँछन् ।

“फुलपातीको दिन दहित थरका थारु समुदायले काँचो माटोको घोर्वा बनाएर पितृलाई आव्हान गर्छन”, उनले भने, “विभिन्न ठाउँ र चलन अनुसार माटोको घोडा  वा भेडाको प्रतीक घरको मरुवामा राखिन्छ, जहाँ माइतीतर्फका पितृ देवताको पूजा गरिन्छ, त्यस्तै, ससुराली पितृ देवताको सम्झनामा डेहुरार वा ढुरखम्बामा पुज्ने प्रचलन छ ।”

उनका अनुसार यसरी माइती र ससुराली दुवै पक्षका पुर्खालाई सम्झने संस्कार कायम छ । बाँकी रहेको माटो प्रयोग गरी भुँरुको घोर्वा बनाइन्छ र त्यसमा कुखुरा वा अन्य बलि दिने परम्परा रहेको छ ।

यो परम्परा विशेष गरी दहित थरका महिलाले पालन गर्ने गर्छन् । महिलाले माइतीबाट ल्याएको घोर्वा ससुराली घरमा राखेर पूजा गर्छन । यसरी दसैँमा दुर्गा भवानीको आराधनासँगै घोर्वा पूजाले थारु समुदायमा पितृ श्रद्धा, धार्मिक आस्था र सांस्कृतिक एकताको प्रतिविम्ब दिएको देखिन्छ ।

आजको आधुनिक समयमा पनि कञ्चनपुर, दाङ, देउखुरीलगायतका क्षेत्रमा यो परम्परा निरन्तरता पाइरहेको छ ।