काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१५ आश्विन २०८२
अ+
अ-

शिकागो फायरले लुइस सुआरेजको उत्कृष्ट प्रदर्शनसहित आएको इन्टर मियामीको कमब्याक प्रयासलाई रोक्दै बुधबार बिहान ५–३ को जित हात पारेको छ।

यस जितसँगै शिकागोले सन् २०१७ पछि पहिलो पटक अमेरिकन मेजर सकर लिग (एमएलएस) प्लेअफमा प्रवेश पक्का गरेको छ। पूर्वी कन्फरेन्सको अंकतालिकामा पनि आठौँ स्थानमा उक्लिएको छ।

लिओनल मेसी लगातार दोस्रो खेलमा गोलविहीन रहे। इन्टर मियामी पहिले नै प्लेअफमा पुगे पनि यस हारले सपोर्टर्स’ शिल्ड जित्ने सम्भावनामा ठूलो धक्का पुगेको छ। अब फिलाडेल्फिया युनियनले न्युयोर्क सिटी एफसीविरुद्ध जित निकाल्न सके नियमित सिजनको उपाधि जित्नेछ।

“यो हारको पूर्ण रूपमा म जिम्मेवारी लिन्छु। गल्ती खेलाडीहरूको होइन, मैले रोजेको रणनीतिको हो,” खेलपछि इन्टर मियामीका मुख्य प्रशिक्षक जाभियर मास्केरानोले भने।

खेलको ११औं मिनेटमै जेडि आभिलाले हेडरमार्फत गोल गर्दै शिकागोलाई अग्रता दिलाए। ३१औँ मिनेटमा जोनाथन डिनले काउन्टर–अट्याकमा गोल गर्दै अन्तर दोब्बर बनाए।

३९औँ मिनेटमा तोमास आविलेसले इन्टरका लागि गोल गर्दै अन्तर घटाए। तर, पहिलो हाफको अन्त्यतिर रोमीङ कुवामेले शिकागोका लागि तेस्रो गोल गर्दै ३–१ को स्थितिमा पुर्‍याए।

दोस्रो हाफमा सुआरेज चम्किए। उनले ५७औँ मिनेटमा गोल गर्दै अन्तर घटाए र ७४औँ मिनेटमा जोर्डी आल्भाको पासमा बराबरी गोल गर्दै खेललाई ३–३ बनाए।

तर, शिकागोले अन्त्यतिर पुनः खेलमा नियन्त्रण लियो। ८०औँ मिनेटमा जस्टिन रेयनोल्ड्सले क्लोज–रेन्जबाट गोल गर्दै टोलीलाई ४–३ मा अगाडि बढाए। ८३औँ मिनेटमा ब्रायन गुटियरेजले बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहारसँग खेल ५–३ मा टुङ्गियो।

यो खेल मूलतः अगस्ट ३० मा खेलिने तालिका थियो। तर, इन्टर मियामी लिग्स कप फाइनल पुगेपछि स्थगित भएको हो। उक्त फाइनलमा इन्टर मियामी सिएटलसँग ३–० ले पराजित भएको थियो।

शनिबार टोरन्टोसँग १–१ को बराबरी खेल्दा प्रयोग गरिएको टोलीबाट इन्टर मियामीले यस खेलमा पाँच परिवर्तन गरेको थियो, जसमा जोर्डी आल्भाबाहेक सबै डिफेन्डर थिए। लगातार तीन जितपछि टोरन्टोसँग बराबरी खेलेको इन्टर मियामी यस पटक हारबाट जोगिन सकेन।