दसैँ विशेष
१५८ वर्षदेखि निरन्तर हुँदै आएको नेपालगन्जको रामलीला
नेपालगन्जको भेरी अस्पतालबाट रंगशाला जाने बाटोमा खुला मैदान छ। मैदानको बीच सडकको दायाँ–बायाँ चिया पसल छन्। मैदानमा मोटरसाइकल सिक्नेदेखि ममफली बेच्नेसम्मको चहलपहल हुन्छ। रंगशालामा खेलकुद प्रतियोगिता हुँदा गाडी पार्किङ गर्ने ठाउँ पनि यही हो। बेलाबखत हुने आमसभा पनि यही मैदानमा हुन्छ।
यस मैदानलाई रामलीला मैदान पनि भनिन्छ। यहाँ दसैँमा भारतबाट कलाकारहरू बोलाएर रामलीला देखाइन्छ। रामलीला हेर्न नेपालगन्ज मात्र नभएर छिमेकी गाउँ र सीमावर्ती भारतीय बस्तीहरूबाट समेत हजारौँ मानिस आउँछन्। आफैँ पनि एक–दुई पटक साथीहरूसँग राति यहाँ गएको छु। ठूल्ठूला टेन्टभित्र हजारौँ भक्तजन। माइकको चर्को आवाज। राम, लक्ष्मण, सीता, रावण, हनुमान्को भेषमा सजिएका दर्जनौँ कलाकार। ओहो गजबको तामझाम र रौनक!
रामलीला मैदानको छेउमा बदाम (ममफली), मिठाई, चटपटेदेखि बेलुन बिक्री गर्नेसम्मको भिड लाग्छ। बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म आफ्नै सुरमा रमाइरहेका हुन्छन्।
रामायणबारे खासै ज्ञान नभएको र बाल्यकालमा महाभारतलगायत धार्मिक सिरियल नहेरेका कारण रामलीला हेर्दा म कहिल्यै रमाउन सकिनँ, जबकि मेरा साथीहरू उत्पात रमाउँथे। तैपनि, साथीहरूको आग्रह टार्न नसकेर हेर्न जान्थेँ। झन्डै तीन दशकदेखि नेपालगन्जमा बसोबास गर्दै आए पनि दसैँ सुरु हुनासाथ घर फर्कने चटारो उत्तिकै हुन्थ्यो। सुरुका वर्ष दसैँ मनाउन पुर्ख्यौली घर प्युठान र पछिल्ला वर्षहरूमा बर्दिया जान्थेँ। त्यसैले मलाई रामलीलाको ऐतिहासिक पक्ष, जनस्तरबाटै गरिँदै आएको व्यवस्थापनबारे खासै जानकारी थिएन।
रामलीलाबारे छोरीलाई जानकारी दिनुपर्छ भन्ने सोचेर पछिल्ला दुई–तीन वर्षयता नियमित रूपमा रामलीला मैदान सपरिवार जाने गरेको छु। छोरीले रामलीलाबारे अनेकौँ जिज्ञासा राख्न थालेपछि मैले थप सोधखोज गरेर बुझ्न थालेँ। जसका कारण अहिले रामलीलाप्रति मेरो आकर्षण बिस्तारै बढ्दै गएको छ।

समाजमा रामलीलाको महत्त्व कति रहेछ, १५८ वर्षदेखि जनस्तरबाट निरन्तर हुँदै आएको महोत्सव सञ्चालनले नै देखाउँछ। महोत्सवको तयारी नयाँ वर्षदेखि नै सुरु हुन्छ। सञ्चालक समितिको अगुवाइमा महोत्सवका लागि आर्थिक सहयोग संकलन, कलाकारसँग सम्झौता, प्रचारप्रसार, सुरक्षा प्रबन्धका लागि प्रहरी प्रशासनसँग समन्वय र नागरिक समाजका अगुवासँग सहकार्य गरिन्छ। रामलीलाका लागि जनस्तरबाटै रकमको जोहो हुन्छ।
१५८औँ रामलीला महोत्सवको तयारी अन्तिम चरणमा पुगेका बेला गत २४ भदौमा नेपालगन्ज तनावग्रस्त बन्यो। जेन–जी समूहको आन्दोलनका कारण राति निषेधाज्ञा जारी भयो। शान्ति–सुरक्षाको संवेदनालाई दृष्टिगत गरी सञ्चालक समितिको २८ भदौमा बसेको बैठकले यसपालिको रामलीला स्थगन गर्ने निर्णय गर्यो। यो निर्णयबाट स्थानीयहरू निकै दुःखी भए। विसं १९२५ देखि अनवरत मञ्चन हुँदै आएको रामलीला यसपालि नहुने खबरले सीमावर्ती भारतीय क्षेत्रका बासिन्दासमेत निराश भए।
तर, दुई साताअघि देखिएको तनाव र त्रास बिस्तारै हट्दै गएपछि सञ्चालक समितिले एक दिन भए पनि विजयादशमीको दिन (१६ असोज) रामलीला अन्तर्गत रावणवध महोत्सव आयोजना गर्ने जानकारी दियो। यस खबरले हामी सबैलाई उत्साह थपेको छ।
हरेक वर्ष दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीसम्म साँझ ७ देखि मध्यराति १२ बजेसम्म रामलीला मञ्चन हुँदै आएको छ। यसका लागि करिब एक बिघा खुला मैदानमा मञ्च र भवन निर्माण गरिएको छ।
नेपालगन्जमा आयोजना हुने रामलीला हिन्दु मात्र नभएर मुस्लिम र शिख समुदायले पनि उत्तिकै श्रद्धाका साथ हेर्छन्। यो हेर्न आउने दर्शकमध्ये २० प्रतिशत त मुस्लिम समुदायकै मानिस हुन्छन्। उनीहरूले रामलीला सञ्चालनका लागि आर्थिक सहयोगदेखि मैदानमा टेन्ट लगाउने, साउन्ड सिस्टम जडान गर्ने र रावणको पुतला बनाउने कामसमेत गर्दै आएका छन्।

रामलीलाको विशेषताबारे मैले नेपालगन्जका मुस्लिम अगुवा मोहम्मद सरिफ बागबानसँग सोधेको थिएँ। उनले बाल्यकालमा हेरेका रामलीला दिमागमा अझै ताजा रहेको बताए। तर, अहिले मोबाइल र इन्टरनेटका कारण रामलीला हेर्न जाने युवाको संख्या घट्दै गएकामा उनी खिन्न छन्।
मोहम्मदले भनेजस्तै रामलीलाप्रतिको आकर्षण पुरानो पुस्तामा जस्तो नयाँ पुस्तामा देखिँदैन। धर्म–संस्कृतिप्रति नयाँ पुस्ताको रुचि र चासो घट्दै गएको छ। दुई दशकअघिसम्म रामलीलामा अभिनय गर्ने अधिकांश कलाकार नेपालगन्जकै हुन्थे। अहिले स्थानीय कलाकारको संख्या पातलिँदै गएको छ। भारतको वृन्दावनबाटै कलाकारको समूह ल्याएर रामलीला मञ्चन गर्नुपर्ने अवस्था छ। रामलीला सञ्चालक समितिले अभिनयका लागि स्थानीय कलाकारलाई पटक पटक आह्वान गर्दै आएको छ। तर, स्थानीय कलाकार भेट्न समितिलाई हम्मे परेको छ।
हिन्दु धर्मावलम्बी भए पनि नयाँ पुस्तामा रामलीलाका ऐतिहासिक र धार्मिक महत्त्वबारे जानकारी नै छैन। कलाकारितामा रुचि भएका युवाहरूलाई आफ्नो धर्म, संस्कृति र परम्पराबारे जानकारी नहुँदा अभिनय गर्न गाह्रो पर्ने गरेको छ।
भगवान् रामले आफ्ना मातापिता, भाइहरू, पत्नी र समाजका लागि निर्वाह गरेको भूमिका अनुकरणीय छ। आजको युवा पुस्ताले रामलीलाबाट जीवनोपयोगी शिक्षा ग्रहण गर्न सकोस् भन्ने उद्देश्य रामलीला सञ्चालक समितिको छ। तर, त्यसले सार्थकता पाउन सकेको छैन। २००९ देखि २०२८ सालसम्म नियमित रूपमा रामलीला महोत्सव हेरेका साहित्यकार सनत रेग्मी नयाँ पुस्ताले रामको जीवनचरित्रबाट शिक्षा लिन सक्ने बताउँछन्।

नेपालगन्जमा रामलीला महोत्सवको सुरुआत स्थानीय रामगोपाल टण्डन, भाइलाल हलवाईलगायत समाजसेवीले गरेका थिए। यो महोत्सव यतिबेला नेपालभन्दा बढी सीमावर्ती भारतीय अवधीभाषी समुदायमा लोकप्रिय छ।
रावणलाई दैत्य शक्तिको प्रतिविम्ब मानिन्छ। तर, आजकाल रावणकै पुत्ला अगाडि उभिएर सेल्फी लिने युवायुवतीको भिड भेटिन्छ। अभिभावक पनि रावणको पुत्लाअगाडि उभिएका आफ्ना छोराछोरीको फोटो खिचेर रामलीलाको सम्झना गाढा बनाइरहेका हुन्छन्। पहिले इन्टरनेट र मोबाइलको सहज पहुँच नहुँदा युवायुवतीदेखि ज्येष्ठ नागरिक दसैँताका रामलीलामा झुम्मिन्थे। अहिले घरमै मोबाइलमा मनोरञ्जन र सूचना सहजै पाउन थालेपछि युवा पुस्तामा रामलीलाप्रतिको आकर्षण घट्दै गएको छ।