काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१५ आश्विन २०८२
अ+
अ-

दसैँमा हलमा गएर सपरिवार सिनेमा हेर्ने नेपाली चलन नै छ। तर घरको बिस्तारामा पल्टेर फिल्म हेर्नुको मजा नै बेग्लै! तपाईं पनि घरमै बसीबसी कुन फिल्म हेर्ने भनेर सोचिरहनुभएको छ कि?

छ भने, दसैँ बिदामा मनोरञ्जन र कला दुवै पक्षको संयोजन भएका यी ७ सिनेमा तपाईंकै लागि हुन्।

अन्धाधुन (२०१८), निर्देशक : श्रीराम राघवन

थ्रिलर मन पर्छ भने छुटाउनै नहुने रोमाञ्चक फिल्म हो अन्धाधुन। पियानोवादन र गायनमा अब्बल आकाश जीविका चलाउन आँखा नदेख्ने अभिनय गरेर आफैँलाई प्रेरित गर्छन्। सिमी (तब्बु)को जन्मदिनमा उनको घरमा पियानो बजाउन गएका आकाशले एक जना अभिनेताको हत्या भएको देख्छन्। यो कुरा कसैलाई बताउन नसके पनि त्यही घटनाले उनलाई पछ्याउन भने छोड्दैन।

तब्बु र आयुष्मानको अभिनय र केमेस्ट्रीले हायलकायल पार्छ। साउन्ड डिजाइनदेखि संगीतसम्मले कथालाई बाँधेको छ। कथामा आउने उतारचढाव यति रोचक छ कि फिल्म सकिएपछि पनि यसको असर रहिरहन्छ।

लन्च बक्स (२०१३), निर्देशक : रितेश बत्रा

कहिलेकाहीँ गल्तीले पनि सुन्दर कथाहरू रचिन्छन्। इला (निमरत कौर)ले आफ्नो श्रीमान्‌का लागि पठाएको लन्च बक्स भुलवश अपरिचित साजन (इरफान खान)को टेबलमा पुगेपछि रचिने कथा यस्तै सुन्दर छ। यी दुई पात्रले लन्च बक्सभित्रै चिठी राखेर भावना आदानप्रदान गर्न थालेपछि भावनात्मक सम्बन्धमा बाँधिन्छन्।

साजन श्रीमतीको निधनपछि एक्लो र उदास हुन्छन्। इला श्रीमान्‌कै समीप रहेर पनि रित्तो महसुस गरिरहेकी हुन्छिन्। यी दुईले कसरी आफूभित्रको एक्लोपन मेटाउने प्रयत्न गर्छन्, यसकै सेरोफेरोमा लन्च बक्सको कथा बुनिएको छ। यस कथाले स्वादिलो परिकारले मन तृप्त बनाएजस्तै दर्शकको मनलाई तृप्त बनाउँछ।

प्रत्यक्ष भेट नभई आत्मीय सम्बन्धमा गाँसिने अपरिचित पात्रहरूबीचको कथा बुन्ने शैली हृदयस्पर्शी छ। सशक्त अभिनय, कसिलो पटकथा,  छायांकन, मन छुने संवाद, चुस्त सम्पादन भएको फिल्मको छायांकन पनि तारिफयोग्य छ।

उडान (२०१०), निर्देशक : विक्रमादित्य मोटवानी

फिल्मको कथालाई रोचक बनाउन परिस्थितजन्य द्वन्द्वको ठूलो भूमिका हुन्छ। द्वन्द्व बलियो रूपमा स्थापित भएका फिल्म हेर्दा दर्शकको आँखा पर्दाबाट हट्दैन। उडान त्यस्तै फिल्म हो जसको द्वन्द्व पक्ष अत्यन्तै शक्तिशाली छ। यो बुबा-छोराबीचको विचारको द्वन्द्व हो।

आमाको निधन भइसकेपछि रोहन (रजत बर्मेचा) होस्टलमा बसेर पढ्छन्। आठ वर्षसम्म स्कुलमा आफूलाई भेट्न नआएका बुवा (रौनित राय)सँग बस्नुपर्ने कल्पनाले उसको मन आत्तिएको छ। बुवाले दोस्रो विवाह गरेको र छोरा पनि भएको कुराले ऊ झनै दुःखी हुन्छ।

बुवा रोहनलाई फ्याक्ट्रीमा काम गराउँदै इन्जिनियरिङ पढाउन चाहन्छन्। रोहनको सपना भने लेखक बन्ने छ। बुवा माया गर्न नजान्ने रूखो पात्र हो। छोरा मायाको भोकले छटपटाउने कोमल पात्र।

मुख्य पात्रहरूको मनोविज्ञानको सूक्ष्म चित्रण भएको यो फिल्ममा रौनितको अभिनय जबर्जस्त छ। रोहनको आक्रोश उस्तै शक्तिशाली छ। त्यसमाथि अमित त्रिवेदीको संगीतले फिल्मलाई नयाँ उडानमा पुर्‍याउँछ।

सि अफ थिसस (२०१२), निर्देशक : आनन्द गान्धी

यो अंगदानबाट नवजीवन पाउने तीन पात्रहरूको कथा हो। पहिलो- आँखा नदेख्ने युवती, दोस्रो- साधु र तेस्रो- स्टक ब्रोकर। तीनै जना पात्र जीवनको अस्तित्व र तत्त्वज्ञानको खोजीमा हिँडेका छन्। ती पात्रसँगै दर्शकलाई पनि ध्यानपूर्वक हिँडाउनु फिल्मको उद्देश्य हो।

दार्शनिक भावभूमिमा बुनिएको फिल्मको कथ्य शैली प्रयोगात्मक छ। त्यस्तै, यसको दृश्य बनोट विम्बात्मक छ। आहा भन्ने खालको छायांकन, सशक्त अभिनय र घोत्लिन बाध्य बनाउने विषयवस्तुले सिप अफ थिसस अन्य भारतीय सिनेमाभन्दा बेग्लै लाग्छ।

माझी : द माउन्टेन म्यान (२०१५), निर्देशक : केतन मेहता

सानदार, जबर्जस्त, जिन्दावाद!

यो फिल्म हेरेर तपाईंले सबैभन्दा पहिले यही भन्नुहुनेछ। किनभने, यो साहसको कथा हो। २२ वर्ष लगाई पहाड फोडेर बाटो निकाल्ने साहसको कथा।

कथा काल्पनिकजस्तो लाग्छ, तर सत्य हो। बिहार गेलोरका दशरथ माझीको गाउँ र अस्पतालबीचमा पर्ने पहाडले गाउँकै जनजीवनलाई कष्टकर बनाएको थियो। दशरथले आफ्नी श्रीमतीलाई अस्पताल लैजाने बेला त्यही पहाड बाधक बनेर समयमा उपचार हुन सकेन र मृत्यु भयो।

श्रीमतीको निधनपछि दशरथ टुट्नुपर्ने, तर उल्टै पहाड तोडे। अझ यसो भनौँ-पहाडसँग श्रीमतीको मृत्युको बदला लिए। तर, यो काम सहज थिएन। यसका लागि दशरथलाई झन्डै २२ वर्ष लाग्यो। बाटो खुलेपछि पूरै गाउँको दिनचर्यामा ठूलो हेरफेर आयो। दशरथको यही अविश्वसनीय कथामा बनेको हो, माझी द माउन्टेन म्यान

दशरथको भूमिकामा नवाजुद्दिन र उनकी श्रीमतीको भूमिकामा राधिका आप्टेको अभिनय छ। नवाजुद्दिनको अभिनय र डायलग डेलिभरी यो फिल्मको प्राण हो।

लायर्स डाइस (२०१३), निर्देशक : गितु मोहनदास

साना सहरबाट ठूला सहर आउनेहरू कहिलेकाहीँ यसरी हराउँछन् कि उनीहरू किन, कहाँ हराए भन्ने भेउ नै पाइन्न। सुदूर हिमाली गाउँ चिटकुलकी आदिवासी महिला कमला (गीताञ्जली थापा)का श्रीमान् पनि यसरी नै हराएका छन्। श्रीमान्‌को खोजीमा कमला सानी छोरीसहित सिमलातर्फ निस्किन्छिन्।

यात्राका क्रममा कमलाले भोग्ने चुनौती नै फिल्मको मुख्य कथा हो। कमलाको यात्रामा साथ दिने नवाजुद्दिन यस कथाका मुख्य पात्र हुन्। लायर्स डाइसमा गीताञ्जली र नवाजुद्दिनले गरेको सशक्त अभिनय रहेको थ्रिलर–सस्पेन्स शैलीमा बुनिएको कथा रोचक छ भने प्रस्तुति कलात्मक।

डोर (२००६), निर्देशक : नागेश कुकुनुर

दुई महिला हिरो भएको डोर संवेदनशील विषयमा बनेको मर्मस्पर्शी फिल्म हो।

जिनत (गुल पनाग)का श्रीमान्‌लाई साउदी अरबमा हत्याको अभियोग लागेको छ। मृतककी पत्नीले क्षमा दिए मात्रै उसको ज्यान बच्न सक्छ। क्षमाका लागि गुहार माग्दै उनी श्रीमान्‌द्वारा हत्या गरिएका व्यक्तिकी श्रीमती मिरा (आयसा टिकिया)लाई भेट्न गाउँ पुग्छिन्।

असहज परिस्थितिले भेट गराएका यी दुई महिलाको सांस्कृतिक मूल्यमान्यता भिन्न छ। मुस्लिम समुदायकी जिनत जीवनको निर्णय आफैँ लिने स्वतन्त्र पात्र हुन्। उता, राजस्थानकी मिरा भने सम्झौतामा बाँच्न अभ्यस्त पात्र।

तैपनि, यी दुईबीच अनौठो मित्रता सुरु हुन्छ। तर यो मित्रताको अन्त्य यति अप्रत्याशित र रोमाञ्चक छ कि दर्शकले अनुमान गर्न सक्दैनन्।

डोरको ‘ये हौसला कैसे झुके’ गीत पनि विशेष छ।