१५ आश्विन २०८२
अ+
अ-

काठमाडौं। नेपालबाट यस वर्ष मनसुन बाहिरिने समय लम्बिने भएको छ। नेपालबाट  मनसुन बाहिरिने औषत मिति २ अक्टोबर (यसपटक १६ असोज) हो । तर पछिल्लो केही वर्षको जस्तै यसपटक पनि मनसुन बाहिरिने दिन पछि सर्न लागेको हो । जल तथा मौसम विज्ञान विभागले तीन दिनको पूर्वानूमान सार्वजनिक गर्दै देशको विभिन्न प्रदेशमा भारीदेखि अति भारीसम्म वर्षाको प्रक्षेपण गरेको छ ।

बंगालको खाडीमा उत्पन्न भएको न्युन चापिय रेखा उडिसा हुँदै भारतको मध्यभागतर्फ सरेकाले कोशीदेखि लुम्बिनी प्रदेशसम्म् शुक्रबार, शनिबार र आइतबार भारीदेखि अति भारीसम्म हुने भन्दै  पूर्वानूमान विभागको विशेष बुलेटिन निकालेको छ ।

‘तीन दिनको हामीले पानी पर्ने पूर्वानूमान गरिहाल्यौ । त्यसपछिको केही दिन अझै वर्षाको संभावना छ । अहिलेसम्मको संकेतहरु हेर्दा अक्टोवरको पहिलो साता मनसुन बाहिरने देखिदैन’ विभागका मौसमविद् सञ्जिव अधिकारी भन्छन्, ‘अक्टोवरको दोस्रो सातातिर बाहिरन सक्ने संभावना छ  ।’ “नेपालमा जलवाष्फ युक्त मनसुनी वायु प्रवेश गरी १७ असोज  अर्थात् एकादशीका दिन बाट देशको खास गरी कोशी, मधेश, बागमती, गण्डकि र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ। तसर्थ, नेपालमा यस वर्षको दशै अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने देखिन्छ” विभागको बुलेटिनमा भनिएको छ।

यस वर्ष नेपालमा मनसुन प्रवेश पनि इतिहासकै सबैभन्दा चाँडो भएको थियो । नेपालमा मनसुन प्रवेश गर्ने औषत मिति १३ जुन हो । बाहिरिने मिति अक्टोबर २ हो । तर यसपटक नेपालमा मौसम मापन गर्ने थालेपछि पहिलो पटक सबैभन्दा चाँडै २९ मे का दिन मनसुन नेपाल प्रवेश गरेको थियो । ९ अक्टोबरसम्म पनि नेपालबाट मनसुन नबाहिरिए यसपटक सबैभन्दा लामो मनसुन अवधीको पनि नयाँ कीर्तिमान बन्ने छ । यसपटक असोज १५ सम्म नेपालमा मनसुन सुरु भएको १ सय २६ दिन भइसकेको छ । नेपालमा सबैभन्दा लामो मनसुन अवधी १९७९ मा थियो । त्यस सयममा १ सय ३४ दिन मनसुनी नेपालमा रहेको थियो ।

मौसमविद् अधिकारी पछिल्लो समयमा ट्रेन्ड हेर्दा नेपालबाट मनसुन बाहिरिने समय पछि धकेलिँदै गएको बताउँछन् । “पछिल्लो केही वर्षदेखि मनसुन प्रवेश गर्ने समयमा खासै तलमाथि नभए पनि बाहिरिने समयमा भने ढिलो हुन थालेको छ” अधिकारी भन्छन्, “नयाँ प्रवृत्ति स्पष्ट रुपमा देखिन्छ ।”

२०१३ यता नेपालबाट मनसुन बाहिरिने मिति औषत भन्दा पछि सरेको छ । गत वर्ष ९२०२४०मा पनि १० दिन ढिलो गरि मनसुन नेपालबाट बाहिरिएको थियो । त्यसको २०२३ मा औषत भन्दा १३ दिनपछि मनसुन बाहिरिएको थियो ।

मनसुन ढिलो गरि बाहिरिँदा त्यसले हाम्रो खेतिपाती, चाँडपर्वसहित जनजीवनलाई प्रभावित गर्ने गरेको छ ।