झापा। झापाको बिर्तामोडमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान ९:३० बजे बिर्तामोड-६ स्थित बुट्टाबारीमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०११–००१ ख ४४५९ नम्बरको सगरमाथा यातायातको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट पाँच मिटर तल्तिर पल्टिएको थियो। दुर्घटनामा परी अरू १३ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सुनसरी, इटहरी उपमहानगरपालिका–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र मोरङ, रंगेली नगरपालिका–२ का ४२ वर्षीय बस कन्डक्टर राजकुमार चौधरी रहेका छन् । दुर्घटनामा परी अरू १३ जना घाइते भएका छन् ।
घाइते हुनेहरूमा इटहरी–११ का ३८ वर्षीय गुलसनराज शर्मा, उनकी श्रीमती ३६ वर्षीया अंकिता शर्मा, ६ वर्षीया छोरी मनसुइ शर्मा र ३७ वर्षीया बिनु शर्मा छन् । प्रहरीका अनुसार मनसुइ र बिनुको टाउकोमा चोट लागेको छ ।
त्यस्तै, मोरङको विराटनगर–२ का ४२ वर्षीय सहचालक सोमकुमार भुजेल, पाँचथर कुम्मायक–६ की २८ वर्षीया गंगा लिम्बू, झापा कमल–७ का ८ वर्षीय लोजिहाङ लावती, २३ वर्षीया सुहाना लिम्बू र ५ वर्षीय भतिजा मेङ्सो लिम्बू पनि घाइते भएका छन् ।
यस्तै, विराटनगर–१ की १७ वर्षीया अनुषा भट्टराई, ३६ वर्षीया मञ्जु खतिवडा, झापा दमक–१ की ६० वर्षीया राधिका खतिवडा र ताप्लेजुङ, फाक्तालुङ–१ का राकेश लिम्बू छन् ।
उक्त बस विराटनगरबाट काँकडभिट्टा जाँदै थियो। बस आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो। सवारीचालक बने फरार रहेको प्रहरीले जनाएको छ ।