अनुभूति
लाउन्जमा पुगेर बाहिरका दृश्य हेरिरहँदा मनमा हुर्हुरी कुरा खेल्यो, ‘को थिए मैले सिकागोमा भेटेका भगवान्? राही, किरण, नवपरिचित, मेक्सिकेली केटी, ह्विट्नी, डबलडेकरको ड्राइभर, ट्याक्सी ड्राइभर या अरू कोही?
अमेरिकाका विभिन्न सहरहरूको नाउँ सुन्नुभन्दा पहिलोपल्ट मैले सुनेको नाउँ हो सिकागो। चर्चा त न्युयोर्कको होला, टोकियो र लन्डनको पनि होला, तर कुनै जमानामा सिकागो पनि कम थिएन। सन् १९५० को दशकमा सिकागो आठौँ नम्बर थियो संसारका चर्चित सहरहरूमा। विश्वमै पहिलो स्काइस्क्रेपर बनेको सिकागो, इलेक्ट्रिक ब्ल्युजको जन्मघर पनि हो।
अमेरिकाको करिब करिब पुछारतिर पर्ने डलासबाट लगभग सिरानतिर पर्ने ल क्रस रेलबाट जाँदै थिएँ। सिकागोको युनियन स्टेसन पुगेपछि केही घण्टाको ट्रान्जिट थियो। मेरी साथी पल्पसा किरण छोराहरू राही, रुबन र सबिनसँग सिकागोमै बस्दछिन्। उनीसँग मेरो परिवारझैँ आत्मीय सम्बन्ध थियो। त्यसैले उनलाई म आउँदै छु भनेर खबर गरेको थिएँ। राहीसँग उनी आइन्, हामी केहीबेर एउटा रेस्टुराँमा बस्यौँ र भलाकुसारी गर्यौँ। कुनै बेला केही दिन सँगै बस्ने गरी आउने निम्तो दियो राहीले र हामी छुट्टियौँ।
फर्किनुपर्छ मान्छे, जहाँ पुग्दछ। ओर्लिनुपर्छ आरोही, जसले आरोहण गर्छ। ६ महिना जतिपछि म पनि फर्किएँ रेड विंगबाट डालस, सिकागो हुँदै। पुग्नुअघि नै पल्पसा र राहीलाई फोन गरेको थिएँ। सम्पर्क भइरहेको थिएन। त्यसैले होटल बुक गरेँ। डालसको रेल भोलिपल्टको ३ बजे छुट्नेवाला थियो। युनियन स्टेसनमा ओर्लिंदा दिउँसै थियो। त्यसैले एकछिन स्टेसनमै बसेर राहीसँग सम्पर्कको प्रयास गरेँ। उसकै सहारामा होटलसम्म जाने निधो गरेको थिएँ। आफ्नो सहारा आफैँ हुनुपर्छ भन्छन् पाकाहरू, तर म बटुवालाई राहीको सहाराको आस थियो।
युनियन स्टेसनको विशाल प्रतीक्षालय बीचमा रहेको बेन्चमा राहीलाई कुरेर बसिरहेको थिएँ। अचानक कसैले ‘एक्स्क्युज मी’ भन्यो र छेउमा टुसुक्क बस्यो। परिचय लेनदेन गर्यो। ऊ मसँग त्यति नै छिटो अन्तरंग बन्न खोजिरहेको थियो, जति छिटो कोही कसैको करिबी बन्न सक्दैन। कुरैकुरामा उसले मसँग दी अन्टचेबल्स फिल्मको प्रसंग निकाल्यो। रबर्ट डे निरो र केभिन कोस्नरअभिनीत त्यो फिल्म मैले हेरिसकेको थिएँ। मेरो मन पर्ने फिल्मको सूचीमा पर्थ्यो यो फिल्म। उसले प्रतीक्षालयको दक्षिणतिर रहेको लामो भर्याङ देखाउँदै भन्यो, ‘यही त्यो भर्याङ हो, जहाँ गोलाबारीको अविस्मरणीय दृश्य खिचिएको थियो। भर्याङबाट प्य्राम गुल्टिरहेको ऐतिहासिक दृश्य यहीँ खिचिएको थियो।’
फर्किनुपर्छ मान्छे, जहाँ पुग्दछ। ओर्लिनुपर्छ आरोही, जसले आरोहण गर्छ। ६ महिना जतिपछि म पनि फर्किएँ रेड विंगबाट डालस, सिकागो हुँदै।
कहिलेकाहीँ इच्छा नै नगरिएको जानकारी कसैले दिँदा पनि रमाइलो लाग्दो रहेछ। म उसका कुरा ध्यानले सुन्न थालेँ। अनि म कसैलाई पर्खिरहेको जानकारी थुत्न पनि भ्यायो। मैले होटल बुक गरिसकेको कुरा पनि उसले थुत्यो। अनि भन्यो, “मेरी बहिनीकहाँ पनि बस्ने ठाउँ छ। बसेको तिर्नु पर्दैन, खाएको मात्र तिरे हुन्छ। अनि भोलि त्यहीँबाट सीधै स्टेसन आए भइहाल्यो।”
म हतपती नाइँ भन्न नसक्ने मान्छे। तर, उसको प्रस्ताव सुन्नेबित्तिकै मेरो दिमागमा निभेको चिम हठात् बल्यो। अनुहारमा सकेसम्म कुनै प्रतिक्रिया नल्याउँदै मैले भनेँ, “हेरुँ, मैले इन्तजार गरेको मान्छे आएन भने विचार गर्नुपर्ला।”
नवपरिचितको कुरा सुनेपछि र हठात् आत्मीय बन्ने उसको व्यवहार देखेपछि कताकता शंकाहरू मगजमा जाग्न थाले। दिमागले फटाफट योजनाहरू बुन्न थाल्यो। सबै योजना अस्वीकृत भए र अन्तिम योजना दिमागले पारित गर्यो। म बसेको पछिल्तिर दक्षिण थियो भने देब्रेपट्टि रेल बिसौनी थियो। त्यहाँसम्म पुग्नुअघि देब्रेतिरै लहरै रेस्टुराँ, कफी सप र सोभिनियर सपहरू थिए। मैले उसलाई केही खान मन छ भनेर सोधेँ। उसले छैन भन्यो। “त्यसो भए म केही खाएर आउँछु,” म सुटकेस गुडाउने तयारी गर्न थालेँ।
“लगेज किन लैजानुपर्यो र? म यहीँ छु, हेरिदिइहाल्छु नि।”
उसको कुरा नसुनेझैँ रेस्टुराँतिर हान्निएँ। उसको हेरिदिइहाल्छु नि भन्ने शब्दले मेरो शंका थपियो। किनभने, अमेरिकाका सहरहरूमा कसैलाई कसैको चासो राख्ने फुर्सद र बानी दुवै हुँदैन।
सुटकेस गुडाउँदै म रेस्टुराँभित्र छिरेँ। छिर्नेबित्तिकै काउन्टरको दाहिनेतिर एक जना मान्छे देखेँ– पक्का नेवार युवक। देब्रेतिर– खाँटी नेवार युवती। मनले राहत महसुस गर्यो। आश्वस्त भयो। म सही ठाउँमा आएछु भन्ने लाग्यो।
मैले नेवारी भाषामा मद्दत मागेँ युवतीसँग। सोधेँ, “यता पूर्वतिर युनियन स्टेसनबाट बाहिर सडकमा निस्किने बाटो छ होला?” उसले नजिक आएर भनी, “पुयदिस रेपेतिर्लो?” अब पर्यो फसाद। मयजु भन्ठानेको युवती त मेक्सिकोकी परिछन्। तुरुन्तै अंग्रेजीमा सवाल दोहोर्याएँ। उनले आँखा, ओठ र औँलाका सहाराले इशानतिर देखाइन् अर्थात् पूर्व र उत्तरको बीचमा। त्यही बेला यसो पछाडि फर्केर हेर्न पुगेछु। उही अघिको नवपरिचितसँग मेरो आँखा जुध्यो। ऊ उठेर आएको रहेछ चियो गर्न। केही गडबड छ भन्ने मेरो अनुमान यथार्थमा बदलिँदै थियो। मसँग आँखा जुध्नेबित्तिकै मुसुक्क हाँस्दै र मलाई आश्वस्त तुल्याउँदै ऊ आएकै बाटो फर्कियो।
युवतीलाई धन्यवाद भनेर म सीधै इशानतर्फ हान्निएँ। फर्किएर नवपरिचिततर्फ हेरेँ, हामी बसेको बेन्चसम्म ऊ पुग्न पचास कदम जति बाँकी थियो। म विश्वस्त थिएँ, पुगेपछि ऊ म भएतिर फर्किनेछ, तर दृश्यमा म देखिनेछैन।
अलि अगाडि पुगेपछि भर्याङ देखियो र द्वार पनि। मैले सुटकेस हातले उचालेँ र करिब करिब एकै सासमा ढोकासम्म उक्लिएँ। अब म सडकको पेटीमा थिएँ। लस्करै ट्याक्सीहरू अडिएका थिए। एउटा खाली ट्याक्सी ड्राइभरले मेरो सुटकेस लियो र डिक्कीमा राख्यो। म पछाडिको सिटमा बसेँ। ६ मिनेटपछि आफूले बुक गरेको होटलमा पुगिसकेको थिएँ।
रेलबाट ओर्लिएपछि नै सरासर आए हुने, म किन पर्खिएँ होला? पैसा जोगाउन या आत्मविश्वास कमीका कारण। खास, राही आत्मीय भएकाले उसलाई एकैछिन भए पनि भेटूँ न भन्ने मनसाय थियो। तर, किरण र राही दुवै मुलुक बाहिर गएको समय परेछ।
सीधा र सम्म बाटाहरूमा हिँड्नु एकछिनको रमाइलो भए पनि केही समयपछि त्यो नीरस हुन्छ। चुनौती, चक्कर र घुम्ती आए यात्रा सम्झनाको सिंगो तस्बिर बन्दो रहेछ। जिन्दगीमा सबै रोचक मोडहरू आनन्ददायी वा ओठमा मुस्कान ल्याउने खालका हुन्छन् भन्ने जरुरी हुँदैन। तर, कहानीमा रोचक मोडको खोजीमा हुन्छन् पढ्नेहरू। जीवनमा रोचक मोड आउँदा किन आत्तिन्छन्, रुचाउँदैनन् मानिसहरू? जीवनमा यस्ता मोडहरूको उत्सव मनाउन चाहिँ कसरी सक्ने र सिक्ने होला– यही विचारहरू दिमागमा खेलाउँदाखेलाउँदै कतिखेर निदाएँ, पत्तै पाइनँ।
भोलिपल्ट ९ बजे बिउँझिएँ। ११ बजे थियो, चेक आउट समय। नुहाएँ र म होटलबाट सुटकेस गुडाउँदै निस्किएँ दाहिनेतर्फ। मैले ‘रिसर्च’ गरेअनुसार दुई ब्लकपछि हिल्टन होटल थियो। हिल्टनसँगै सडकमा एउटा बुथ थियो, जहाँबाट डबलडेकर बस छुट्थ्यो र दुई घण्टा सिकागो सयर गराएर यही बुथमै ल्याएर छाडिदिन्थ्यो। रेल छुट्न चार घण्टा बाँकी नै थियो। यसबीचमा म सिकागो ट्रान्जिटको लुफ्त लिन चाहन्थेँ।
काउन्टरमा एउटी अफ्रिकी–अमेरिकी युवती थिइन्। मैले टिकटको दाम सोधेँ। २५ डलर रहेछ। बस आइपुग्न केही समय बाँकी नै थियो। युवती मित्रवत् थिइन्। बस्न स्टुल दिइन्। एकछिनपछि बस आयो। युवतीसँग बिदा मागेर ड्राइभरको सिट पछिल्तिर सुटकेस बिसाएर म दोस्रो तल्लामा चढेँ। हावाले मेरो कपाल फर्फरायो। केश सम्याउँदै गर्दा सिकागोलाई ‘विन्डी सिटी’ पनि भन्छन् भन्ने सम्झनामा झुलुक्क आयो।
एउटा खाली सिट ओगटेँ। सामुन्ने नेपाली बनोटका मान्छेहरू देखेँ। ‘नेपालबाटै आउनुभयो नि’ भनेर किल्किलेसम्म आएको वाक्य फुटाइनँ, निलिदिएँ। हिजो मयजु भनेर झुक्किएको बासी भइसकेको थिएन। लेक मिसिगन मेरो दाहिनेपट्टि थियो र टाढा टाढासम्म यसरी फैलिएको थियो कि मानौँ त्यो समुद्र हो।
एकछिनमा नेभी पिए भन्ने एम्युजमेन्ट पार्क आइपुग्यो। बस रोकियो। भोँपु टाइपको स्पिकरमा केके भन्यो। अस्पष्ट आवाजलाई बुझ्ने कोसिस गरिनँ। मानिसहरू ओर्लिन थाले। म पनि लहैलहैमा ओर्लिएँ, सोचेँ यहाँ एकछिन रोकिनेछ बस। चुरोट सल्काएँ।
बस मेरो पृष्ठभागमा थियो। भर्खरै द फाइभ पिपल यु मिट इन हेभन उपन्यास पढेको थिएँ। त्यसमा काल्पनिक एम्युजमेन्ट पार्कको नाउँ रुबी पिए थियो। नेभी पिएको साइनबोर्ड देख्दा यही याद आयो, पुस्तककै पात्र मनमा खेलाउँदै म वरिपरि आँखा डुलाउन थालेँ। लामो कश तानेर धुवाँ उडाउँदै जब बस भएतिर मेरो दृष्टि गयो, मेरो त सातो नै गएझैँ गयो। बस त गुडिसकेको थियो।
‘एस्क्युज मी’, ‘स्टप स्टप’ भनेर कराउँदै म बस पछिपछि दौडिएँ। तर, बस रोकिएन। छालाको जुत्ता लगाएको कारण तेज कुद्न सकिनँ, जुत्ता फुकालेर कुद्ने विचार आउन पनि ‘अमिग्दुला’ लाई होस थिएन। मगज स्थिर थिएन, सामान बसमै थियो। डबलडेकरको बुथसम्म पुग्ने बाटो खोजूँ त कसरी खोजूँ? यस्तो हुन्छ र फर्किनुपर्छ भन्ने अनुमान भए पो आएको बाटो हेक्का राख्नु। यताउति गर्दै ट्रेन छुट्ने त्रास पनि झुल्कियो मनमा।
तर, कहानीमा ट्विस्ट आयो। बस रोकियो। अरे वाह, भएन त गजब? नाइटोको बल लगाएर कुदेँ। म बस नजिक पुग्दै थिएँ।
तर, फेरि अर्को ट्विस्ट आयो कहानीमा। निष्ठुरी बस फेरि चलायमान भयो। अब कुदेर फाइदा थिएन। बस मेरा निम्ति होइन ट्राफिक लाइटका कारण रोकिएको रहेछ। म छुटूँ वा चढूँ उसलाई चासो छैन रहेछ। तैपनि अन्तिम प्रयास भनेर मरेर कुदेँ। मानौँ म बाघ हुँ र बस मृग हो। आफूभन्दा ठूलो साइजको सिकार गर्दा जनावरहरू फेल खाएको देखेको छु मैले। म पनि फेल खाएँ।
अब कुद्न छाडेर म सामान्य गतिमा हिँड्न थालेँ। मेरो हिँडाइ देख्दा एकैछिनअघि म कुन अवस्थामा थिएँ भन्ने पत्ता लगाउन मुस्किल हुन्थ्यो। मगज पनि पुरानै लयमा आइसकेको थियो। सबथोक शान्त। चरो, मुसो पनि नहिँडेको सडकमा गाडी मात्र गुडिरहेको थियो। अगाडि चौबाटो थियो।
बाटोपारि पुग्नु थियो मैले। किनभने, लेफ्टह्यान्ड ड्राइभ भएकाले ट्याक्सी उता रोकिन्थ्यो। बाटो काटेर पल्लोतिर पुग्नेबित्तिकै एउटा खाली ट्याक्सी पनि आयो। लाग्यो, अब सबै कुरा ठीक ठीक गइरहेको छ, मैले ट्याक्सी लिने काम सही हो।
तर, झट्का लाग्न अझै बाँकी रहेछ।
मलाई हिल्टन होटल लैजाऊ– मैले भनेँ। ‘यहाँ तीन वटा हिल्टन छन्, कुनमा पुर्याऊँ,’ उसले भन्यो। मैले म बसेको होटलछेउको हिल्टन भनेँ। उसलाई त्यो होटलको नामै थाहा रहेनछ। परेन फसाद।
दिमागले काम गर्यो। मैले एकै सासमा भनेँ, “लेक मिसिगनको छेउमा, डबलडेकरको बुथ नजिकैको हिल्टन।” उसले ‘हुन्छ’ भन्ने भावमा टाउको हल्लायो।
हिल्टन आइपुग्यो। साढे ६ फुटको विशालकाय व्यक्तिले ट्याक्सीको ढोका खोल्यो। उसले ठान्यो हिल्टनको ग्राहक हो। ट्याक्सी ड्राइभरले पनि त्यही ठानेको हुनुपर्छ। ६ डलर उठेको थियो, मैले चार डलर टिप थपिदिएँ। बाहिर निस्केपछि म अगाडि बढेँ। उनीहरूलाई लाग्दो हो म हिल्टनभित्र छिर्दै छु। पछिल्तिर हेरेँ, दरबानको नजर मतिर थिएन। म स्वाट्ट देब्रे मोडिएँ।
जहाँ भेटिएका मानिस पनि मलाई भगवान् लाग्छन्। मेरो बिगार गर्नेले पनि मलाई सपार गरिरहेका हुन्छन्। यो मेरो विश्वास मात्र होइन, दृढविश्वास हो।
कसैले आफ्नो स्टेटसलाई उँभो अनुमान गरेको छ भने त्यसलाई कायम राख्न चाहन्छ या त्यस्तो गर्ने म मात्रै पनि हुन सक्छु। उँभो हेर्दै मैले हिल्टनको द्वार पार गरेँ।
हिल्टनको द्वारबाट बुथ पुग्न ३० सेकेन्ड पनि लाग्दैनथ्यो। मलाई देख्नेबित्तिकै ती युवतीका आँखा आश्चर्यले चौडा भए। मैले बेलिबिस्तार लगाएँ। उनले मेरो मजाक उडाइनन्। बरु, तुरुन्तै ड्राइभरलाई फोन गरिन्। ड्राइभरलाई म छुटेको पनि याद रहेनछ। लगेज त त्यहीँ छ भन्यो रे।
“बस दुई घण्टामा मात्र आइपुग्छ,” युवतीले भनिन्। मैले उनको नाउँ सोधेँ। ह्विट्नी भनिन्। म गद्गद् भएँ। ‘नाइस टु मिट यु ह्विट्नी ह्युस्टन।’ मेरो मन पर्ने गायिका सम्झिएर मुसुक्क हाँस्दै भनेँ। मेरो अद्भुत अवस्था देखेर होला ह्विट्नी केवल स्नेहले मुस्कुराइन्।
दुई घण्टाको उपयोग त गर्नुपर्यो। म केहीबेरमा फर्किन्छु भनेँ ह्विट्नीलाई र हिल्टनको देब्रेपट्टिको सडक समातेँ। दुई ब्लकपछि सामुन्ने एउटा रेस्टुराँ थियो। त्यहाँ पुगेर एउटा पुन्टे बियर र बर्गर आरामसाथ खाएँ। बिल तिरेँ। नजिकैको स्टोरमा पुगेर आफ्ना लागि बेन्सन एन्ड हेजेज हन्ड्रेड र ह्विट्नीका लागि न्युपोर्ट किनिदिएँ। मैले अघि नै सोधिसकेको थिएँ उनको ब्रान्ड।
फेरि बुथ पुग्नु थियो। तर, यसपल्ट अर्कै बाटो लिएँ। यहाँनेर मेरो सेन्स अफ डाइरेक्सनले काम गरेको। बुथ आयो। ह्विट्नीलाई न्युपोर्ट दिएँ। उनी दंग परिन्।
एकछिनमा बस आयो। उनले कसैलाई मेरो सामान ओराल्न अह्राइन्। ड्राइभरले ‘तिम्रो बोयफ्रेन्डको सामान सहीसलामत ल्याइदिएको छु’ भनेर मजाक गर्न पनि भ्यायो। सामान लिएपछि मैले ह्विट्नीसँग बिदा मागेँ। उनले मलाई ‘स्टेसनसम्म छाड्न लगाइदिउँ? मेरो मान्छे छ’ भनिन्। मैले अनुगृहीत हुँदै ‘पर्दैन’ भनेँ। मलाई उनीप्रति विश्वास थियो। तर, हिजोको घटना पनि ताजै थियो। शंकाको बिरुवा ओइलाइसकेको थिएन।
म हिल्टनको द्वार हुँदै अगाडि बढेँ। अघिको द्वारपालले सुटकेससहित मलाई देखेको भए ‘साहेबले चेकआउट गरेछन्’ भन्ने सोच्थे होलान्। एक ब्लक पर पुगेर ट्याक्सी रोकेँ। ओर्लिएपछि टिपसहित १० डलर दिएँ।
भित्र छिरेपछि भर्याङ ओर्लिंदै स्टेसनको विशाल परिसरमा पुगेँ। एक नजर दी अन्टचेबल्सको सुटिङस्थल हेरेँ। भनिन्छ, सिनेमामा गोलाबारीको त्यो अन्तिम दृश्य रुसी निर्देशक सेर्गेई आइन्जेस्टाइनको ब्याटलशिप पोटमकिन फिल्मलाई ट्रिब्युट गरिएको हो। त्यसपछि मयजु टर्न्ड इन्टु मेक्सिेकेली लेडीको रेस्टुराँ हेरेँ र अगाडि बढेँ। टिकट काउन्टरमा गएर चेक इन गरेँ।
रेल हिँड्न तयार भइसकेको रहेछ। केकसो गर्दा ३ बजिसकेछ। टीटीले छिटो चढ्न भने। सुटकेस सामानकक्षमा राखेर लाउन्जमा जान भर्याङ के चढ्दै थिएँ, रेल अघि बढिहाल्यो। धन्न छुटेन रेल।
लाउन्जमा पुगेर बाहिरका दृश्य हेरिरहँदा मनमा हुर्हुरी कुरा खेल्यो, ‘को थिए मैले सिकागोमा भेटेका भगवान्? राही, किरण, नवपरिचित, मेक्सिकेली केटी, ह्विट्नी, डबलडेकरको ड्राइभर, ट्याक्सी ड्राइभर या अरू कोही?
जवाफ पनि ह्वारह्वार आयो– सिकागो मात्र होइन, जहाँ भेटिएका मानिस पनि मलाई भगवान् लाग्छन्। मेरो बिगार गर्नेले पनि मलाई सपार गरिरहेका हुन्छन्। यो मेरो विश्वास मात्र होइन, दृढविश्वास हो।