जापान र नेपालका चाडपर्वहरूले सांस्कृतिक भिन्नता भए पनि मानवीय मूल्यहरूमा एकता
जापान, जहाँ प्राचीन परम्परा र आधुनिकताको संगमले हरेक पाइलामा नयाँ अनुभव दिन्छन् । जापान आफ्नो जीवन्त संस्कृति र रंगीन चाडपर्वहरूले विश्वभरि परिचित छ। नेपालको दसैँले जसरी हाम्रो मनमा परिवार, समुदाय र उत्सवको उमंग जगाउँछ, जापानी चाडपर्वहरूले पनि त्यस्तै भावनात्मक र सामुदायिक जोडलाई प्राथमिकता दिन्छन्।
दसैँको पूर्वसन्ध्यामा म जापान यात्रामा थिएँ । त्यसक्रममा मैले संयोगवश टोकियोको सिन्जुकुमा आयोजित इसा फेस्टिभलमा सहभागी हुने अवसर पाएँ । रंगीचंगी वेशभूषामा सजिएका नर्तकहरू, ताइको ढोलको गहिरो ध्वनि र सान्सिनको मधुर तालले मलाई नेपालको दसैँको रौनक सम्झायो।
जापानी संस्कृति : परम्परा र आधुनिकताको मेल
जापानी संस्कृति अनुशासन, सम्मान र सामुदायिक भावनाको सुन्दर मिश्रण हो। सिन्जुकुको व्यस्त सडकहरूमा स्मार्टवाच र क्यूआर कोड प्रयोग गरेर रेल चढ्ने मानिसहरू देख्दा लाग्छ, यो देश प्रविधिको शिखरमा छ। तर सिन्जुकु इसा फेस्टिभलमा पुग्दा, ताइको ढोलको ताल र युकातामा नाच्ने नर्तकहरूले मलाई नेपालको तिहारमा मादल घन्काउँदै खेलिने देउसीको कल्पनामा पुर्याए। सँगै हाम्रो महान् चाड दसैँको याद ताजा भयो। दसैँमा हामी नयाँ लुगा लगाएर, मालश्री धुनमा रमाउँदै, टीका र जमरासँगै आशीर्वाद थाप्न आफन्तको घर जान्छौँ। गाउँलेहरू मिलेर लिंगेपिङ हाल्छौँ।

जापानी चाडपर्वहरूले प्रकृति, पूर्वजहरू र समुदायलाई सम्मान गर्ने भावनालाई जीवन्त बनाउँछन्। दसैँमा हामी टीका र जमराले परिवारको सुख-समृद्धिको कामना गर्छौँ; जापानमा ओबोन, हनामी र अन्य चाडपर्वले यस्तै भावना उजागर गर्छन्। सिन्जुकु इसा फेस्टिभलमा मैले देखेको सामूहिक नृत्य र उत्साहले दसैँको फूलपाती भित्र्याउन गरिने बढाइँको अनुभूति गरायो ।
सिन्जुकु इसा फेस्टिभल : ओकिनावाको सांस्कृतिक रङ
जापानको सिन्जुकु स्टेसनको पूर्वी एक्जिटबाट सडकमा निस्कँदै गर्दा सडकभरि रंगीचंगी वेशभूषामा स्थानीय बासिन्दाहरू चाड मनाउन जम्मा भएका थिए। इसा फेस्टिभल रहेछ त्यो। त्यहाँ पुग्दा मलाई लाग्यो, म कुनै जादुमय संसारमा प्रवेश गरेको छु। यो फेस्टिभल ओकिनावाको परम्परागत इसा नृत्यमा आधारित रहेछ, जुन बोन उत्सवसँग जोडिएको रहेछ। सडकहरू रंगीचंगी हाचीमाकी र परम्परागत पोसाकमा सजिएका नर्तकहरूले भरिएका थिए। ताइको ढोलको गहिरो ध्वनिले मेरो मनको तार छोयो र सान्सिन (त्रितारा वाद्ययन्त्र)को मधुर तालले वातावरणलाई जीवन्त बनायो।
फेस्टिभलमा युवा नर्तकहरूको प्रस्तुति जोसिलो थियो। उनीहरू रंगीन सर्ट र हाचीमाकी लगाएर सामूहिक रूपमा नाचिरहेका थिए, जसरी नेपालका जात्रा तथा अन्य चाडपर्वमा गाउँका युवाहरू मादल र ढोलमा नाच्छन्। जापानमै मेरो गाइडजस्तै बनेकी स्थानीय आइकोले मलाई बताएअनुसार यो फेस्टिभल सन् २००१ मा सुरु भएको थियो र हाल यो टोकियोको सबैभन्दा ठूलो ग्रीष्मकालीन उत्सवहरूमध्ये एक हो। यसमा १० लाखभन्दा बढी दर्शकले भाग लिन्छन् र २० भन्दा बढी इसा नृत्य टिमहरूले आफ्नो कला प्रस्तुत गर्छन्।

एक नर्तक समूहले प्रदर्शन समाप्त गरेपछि सडकभरि दर्शकको तालीको गडगडाहट सुनियो। त्यो क्षणमा मलाई लाग्यो, यो उत्साह नेपालका चाडपर्वमा गाउँघरमा हुने सामूहिक रमाइलोसँग कति मिल्दोजुल्दो छ! फेस्टिभलमा ओकिनावाका परम्परागत खानाहरू साता अन्दागी (मीठो डोनट), गोया चम्पुरु (तीते करेलाको व्यञ्जन) र ताकोयाकीको स्वाद लिँदा तिहारमा सेलरोटी, अनरसा र दसैँमा खसीको मासुका परिकार सम्झिएँ। आइकोले मलाई ओकिनावाको सांस्कृतिक इतिहास र इसा नृत्यको महत्त्वबारे बताइन्। उनको आतिथ्यले मलाई दसैँ-तिहारलगायत चाडबाडमा एकअर्काको घरमा आउने पाहुनालाई स्वागत गर्ने परम्परा सम्झायो। फेस्टिभलमा रंगीन झन्डाहरू वरपर नाचिरहेका युवाहरू देख्दा साँच्चै मन प्रफुल्लित भयो ।
जापानी चाडपर्व
जापानका चाडपर्वहरूले सांस्कृतिक गहिराइ र सामुदायिक एकताको सन्देश बोकेका रहेछन्। तीमध्ये केही चाडपर्व यस्ता छन्-
ओबोन (अगस्त मध्यतिर): यो चाडमा परिवारहरू गाउँ फर्कन्छन्, चिहानहरू सफा गर्छन् र बोन नृत्य (बोन ओदोरी)मा भाग लिन्छन्। नर्तकहरू युकाता लगाएर रातमा टर्चलाइट (चोचिन)को उज्यालोमा नाच्छन्। गाउँहरूमा आगो बालेर पूर्वजहरूलाई स्वागत गर्छन् र नदीमा कागजका लालटिन बगाएर आत्माहरूलाई बिदाइ गर्छन्। टर्चलाइट र लालटिनहरूले पूर्वजको आत्मालाई मार्गदर्शन गर्छन् भन्ने विश्वास गरिँदो रहेछ। यो चाडले जीवन र मृत्युको चक्रलाई सम्मान गर्छ।
हनामी (मार्च-अप्रिल): साकुरा फूलको सौन्दर्य मनाउन पार्कहरूमा पिकनिक, चिया समारोह र सांस्कृतिक कार्यक्रमहरू हुन्छन्। ‘योझाकुरा’ (रातको हनामी)मा साकुरालाई उज्यालोमा हेर्ने परम्परा छ। मानिसहरू साकुरामुनि बसेर कविता लेख्छन् र गीत गाउँछन्। साकुराले जीवनको सौन्दर्यको प्रतीक बोकेको छ।

गियोन मात्सुरी (जुलाईमा, क्योटो): विशाल यमाहोको (रथ)लाई सजाएर सहरभरि घुमाइन्छ। परम्परागत संगीत, नृत्य र किमोनोमा सजिएका कलाकारहरूले सांस्कृतिक प्रदर्शन गर्छन्। यो चाड क्योटोको यासाका स्राइनसँग जोडिएको छ। यस चाडले समुदायको एकता, स्वास्थ्य र समृद्धिको प्रार्थना गर्छ। नेपालमा मत्स्येन्द्रनाथको रथ तान्ने परम्परासँग गियोन मात्सुरीको परेड तुलनीय छ।
तानाबाता (जुलाई ७): मानिसहरू रंगीन कागज (तान्झाकु)मा इच्छाहरू लेखेर बाँसको रूखमा झुन्ड्याउँछन्। सडकमा रंगीन सजावट, परेड र आतिसबाजी हुन्छन्। यो चाड ओरिहिमे र हिकोबोसीको प्रेमकथामा आधारित छ। यस चाडलाई प्रेम, आकांक्षा र एकताको उत्सवको प्रतीक मानिन्छ।
नेपाली चाडसँग सांस्कृतिक समानता
नेपाली चाड र जापानी चाडपर्वमा गहिरो समानता रहेछन्:
• परिवार र समुदाय : दसैँमा टीका र जमराले परिवारलाई जोड्छ; ओबोन र इसा फेस्टिभलले पनि सामुदायिक एकता देखाउँछ।
• परम्परागत पोसाक : दसैँमा ढाकाटोपी र नयाँ लुगा; जापानमा युकाता र हाचीमाकी।
• संगीत र नृत्य : दसैँमा मालश्री र मादल; सिन्जुकुमा ताइको र सान्सिन।
• खानपान : दसैँमा मासु, तिहारमा सेलरोटी, भाइसमला; सिन्जुकुमा साता अन्दागी र गोया चम्पुरु।
• पिङ र रमाइलो : नेपालमा रथ तान्नेजस्तै परम्परा जापानमा पनि देखिन्छ।
• आध्यात्मिकता : नेपालमा चाडबाडमा देवीदेवताको पूजा र जापानमा स्राइनमा प्रार्थनाले आध्यात्मिक समानता देखाउँछ।
सिन्जुकु इसा फेस्टिभलमा पुग्दा मलाई नेपालका विभिन्न चाडबाडको रौनक सम्झना अयो। एक वृद्ध महिलाले आफ्नी नातिनीसँग नाचिरहेको देख्दा नेपालमा राई समुदायले नाच्ने साकेला, गौरा पर्वमा गरिने देउडा नृत्यको सम्झना आयो।

नेपालका गाउँघरमा चाडबाडमा गरिने रमाइलोसँग जापानी संस्कृति धेरै मिल्दोजुल्दो रहेछ। आइकोले मलाई ओकिनावाको सांस्कृतिक इतिहास र इसा नृत्यको महत्त्वबारे बताइन्, जसले दसैँमा परिवारसँग बसेर रमाइलो गर्ने परम्परा सम्झायो।
नेपाल र जापान : सांस्कृतिक सेतु
जापान र नेपालका चाडपर्वले सांस्कृतिक भिन्नता भए पनि मानवीय मूल्यहरूमा एकता देखाउँछन्। सिन्जुकु इसा फेस्टिभलको सामुदायिक जोस र दसैँको पारिवारिक मेलमिलापले मलाई एउटै सन्देश दियो, चाडपर्वहरू समुदायलाई जोड्ने सेतु हुन्। जापानको अनुशासित र सम्मानपूर्ण संस्कृतिले मलाई नेपालको आतिथ्य र सामुदायिक भावनाको महत्त्व सम्झायो। सिन्जुकुको सडकमा देखिएको एकताले दसैँमा गाउँमा सबै मिलेर रमाउने परम्पराको याद दिलायो।
सिन्जुकु इसा फेस्टिभलले जापानको सांस्कृतिक गहिराइको अनुभव गरायो। जापानी चाडपर्वहरू ओबोनको आध्यात्मिकता, हनामीको सौन्दर्य र गियोन मात्सुरीको भव्यताले मलाई नेपाली चाडहरूका विविध पक्ष सम्झाए। जापानको चाडबाड रौनकमा सहभागी भएर फर्कंदै गर्दा नेपालमा दसैँको चटारोले छोपिसकेको छ।
सबैलाई विजयादशमीको शुभकामना!