काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले आगामी शनिबारदेखि सोमबारसम्म कोशी, मधेश र बागमती प्रदेश हुँदै बग्ने नदीहरुमा आकस्मिक बाढीको सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन सचेत गराएको छ।
विभागले जारी गरेको विज्ञप्तिमा कोशी, कमला, बागमती र नारायणी र त्यसको सहायक नदीहरुमा बहाब उल्लेख रुपमा बढ्ने र खतरा तह आसपास पुग्ने देखिएको जनाएको छ।
“कोशी,मधेश, बागमती, गण्डकी, लुम्बनी प्रदेशका महाभारत, चुरे हुदै बग्ने स-साना नदीनालाहरुमा अकस्मात बहाब हुन सक्ने सम्भावना रहेको छ,” विज्ञप्तीमा भनिएको छ।
विभागले काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशको संखुवासभा, ताप्लेजुङ, इलाम, झापा र मोरङ, मधेश प्रदेशको बारा, पर्सा, रौतहट, सर्लाही र आसपासका जिल्ला भई बग्ने स-साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेको भन्दै शनिबारदेखि सोमबारसम्म विशेष सतर्कता आपनाउन अनुरोध गरेको छ।
बाढी, पहिरो, भुक्षय र डुबानको संभावना रहेकाले सडक तथा हवाई यातायात यात्रा गर्दा जोखिम न्युनिकरणका लागि विशेष सतर्कता आउन भनेको छ। दसैं मानिसहरु देशभर आवतजावत गरिरहेका छन्।
बंगालको खाडीमा विकसित भएको न्युन चापीय मौसम प्रणाली भारतको ओडिसाबाट मध्यभारततर्फ सर्ने क्रममा रहेको र यो प्रणालीको कारण जलवाष्पयुक्त मनसुनी वायु नेपालमा प्रवेश गर्ने भएकोले शनिबारदेखि सोमबारसम्म मनसुनी गतिविधि सक्रिय हुने जनाएको छ।
कस्तो छ आजको मौसम ?
आज सबै प्रदेशमा साधारणतया बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग लगायत मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहितमध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
आज राती
सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।