काठमाडौं। भारतीय स्टार स्पिनर रविचन्द्रन अश्विनले इन्डियन प्रिमियर लिग (आईपीएल) बाट सन्न्यास लिएपछि विदेशी फ्रेन्चाइज लिगमा खेल्ने इच्छा प्रकट गरेका थिए।
त्यसै क्रममा उनले संयुक्त अरब इमिरेट्सको आईएलटी–२० र अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) मा नाम दर्ता गरेका थिए। तर, आईएलटी–२० मा टोली नपाएपछि अब अश्विनले सम्पूर्ण समय बिग बासमै खर्चिने घोषणा गरेका छन्।
अश्विन बिग बासमा सिड्नी थन्डरको जर्सीमा खेल्ने पक्का भइसकेको छ। सुरुमा उनले थन्डरसँग समूह चरणका केही खेल र प्लेअफसम्म मात्रै खेल्ने सहमति जनाएका थिए। किनभने उनको प्राथमिकतामा आईएलटी–२० पनि थियो।
दुवै प्रतियोगिताको समय केही हदसम्म एकअर्कासँग मिल्ने भएकाले यस्तो निर्णय लिएको बताइएको थियो। आईएलटी–२० आगामी डिसेम्बर २ देखि सुरु भई जनवरी ४ मा सकिनेछ। बिग बास डिसेम्बर १४ देखि जनवरी २५ सम्म चल्नेछ।
तर, आईएलटी–२० को अक्सनमा अश्विनलाई कुनै टोलीले किन्न रुचाएन। उनले १ लाख २० हजार अमेरिकी डलर आधार मूल्य राखेका थिए। पहिलो चरणमा उक्त मूल्यमा उनलाई किन्न कसैले चासो देखाएन। क्रिकइन्फोका अनुसार दोस्रो चरण सुरु हुनुअघि नै अश्विनले आफ्नै नाम अक्सनबाट फिर्ता लिएका थिए।
यसबारे अश्विनले भनेका छन्, “आईएलटी–२० मा खेल्ने मौखिक सहमति मैले दिएको थिएँ। तर, उनीहरूले निकै कम रकमको प्रस्ताव गरेका थिए। थन्डरसँग सम्झौता गरेपछि पनि मैले त्यहाँको अक्सनमा नाम दर्ता गरेको थिएँ। तर, आफ्नै मूल्य घटाउन चाहिनँ। त्यसैले अन्ततः नाम फिर्ता लिएँ।”
आईएलटी–२० मा टोली नपाएपछि अश्विनले अब बिग बासमा पूरा सिजन खेल्ने पक्का भएको छ। उनले थन्डरसँगको सुरुआती सम्झौता परिमार्जन गर्दै सम्पूर्ण सिजनमा खेल्ने प्रतिज्ञा गरेका छन्।
यसअनुसार आगामी डिसेम्बर १६ देखि नै अश्विन बिग बासमा देखिनेछन्। सो दिन सिड्नी थन्डरले तस्मानियास्थित बेल्लेरिभ ओभलमा आफ्नो पहिलो खेल हबर्ट हरिकेन्सविरुद्ध खेल्नेछ।