काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अत्याधिक वर्षा हुने क्षेत्रका सडक विभागका अधिकारीहरुलाई आजै (शुक्रबार) आफ्नो कार्यालयमा पुग्न निर्देशन दिएको छ।
भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले सडक विभाग अन्तर्गतको सडक डिभिजन, योजनाहरूका इन्जिनियर तथा अपरेटरहरुलाई आजै आफ्नो कार्यालयमा सुरक्षित रुपमा पुग्न भनेका हुन्।
‘विपद्को समयमा चाहेर पनि जान नसक्ने अवस्थमा आउँछ। त्यसैले सम्भावित विपदलाई कम गर्न ब्याकअप योजनासहित सुरक्षित रुपमा कार्य क्षेत्रमा पुग्नुहोला,” मन्त्री घिसिङको निर्देशनमा भनिएको छ।
मन्त्रालयले नागढुंगा मुङ्लिङ सडक, मुङ्लिङ नारायणगढ सडक, बीपी राजमार्ग, त्रिभुवन राजपथ, कान्ती लोकपथ, दाउन्ने लगायतको क्षेत्रमा बढी तयारी साथ बस्न पनि भनेको छ।
जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा शुक्रबार र शनिबार ठूलो पानी पर्ने पूर्वानूमान गरेको छ। मौसम विद्हरुले बागमती र मधेशमा ७-८ घण्टा अतिभारी वर्षाको पूर्वानूमान गरेका छन्। कतिपय जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि शनिबारसम्म रातको समयमा यातायात सञ्चालनका लागि रोक लगाएका छन्।