काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१७ आश्विन २०८२
अ+
अ-

काठमाडौं। भारतमा एक अर्बभन्दा बढीको साइबर ठगी मुद्दामा नेपाली युवतीहरू प्रयोग भएको तथ्य खुलेको छ। नाइजेरियाको गिरोहले राजधानी दिल्लीमा बसेर ठगीको सञ्जाल फैलाएको भारतीय अखबारहरूले हालै आएर सार्वजनिक गरेका छन्। ठगी भएका रकममा १० प्रतिशत लाभ दिने सर्तमा नेपाली युवतीहरूको प्रयोग भएको तथ्य पनि खुल्न आएको छ ।

यो काममा नेपालीलगायत अन्य ठाउँका व्यक्ति पनि प्रयोग गरिएको भेटिएको छ । ठगीमा संलग्न गिरोहका सदस्यहरूलाई बहुभाषिक ज्ञान भएको र उनीहरूले सोझा व्यक्तिलाई सहजै फसाउने र उनीहरूको खाताबाट रकम झिक्ने गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको हो ।

घटनामा नेपाली युवतीहरू प्रयोग भएको तथ्य त्यतिबेला सार्वजनिक भएको थियो, जब मुरादाबादका एक शिक्षिकाबाट ९४ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक नाइजेरियाली र दुई नेपाली युवतीलाई पक्राउ गर्‍यो।

प्रहरी अनुसन्धानमा गिरोहको सञ्जाल भारतको १४ राज्यमा फैलिएको पत्ता लागेको छ। नाइजेरियाली मूलका व्यक्तिले विदेशमा जागिर दिने बहानामा विभिन्न युवासँग ठगी गर्थे। नेपाली युवतीसँग मिलेर नाइजेरियाली मुलका व्यक्तिले मुरादाबादका एक शिक्षकलाई फोनमा कुरा गरेको र विदेशी बेहुलाको रुपमा आफूलाई प्रस्तुत गर्दै डाक्टरी पेशामा आवद्द भएको बताएका थिए।

चिनवेओके इमानुएल कानु नाम गरेका नाइजेरियालीले सन् २०२० देखि नै भारतमा सञ्चाल बनाई ठगी कार्य सुरू गरेका थिए। उनले पश्चिम दिल्लीको उत्तम नगरस्थित जैन पार्कलाई आफ्नो आधार बनाएका थिए। उनले पहिले दिल्लीको ठेगाना प्रयोग गरेर नक्कली आधार कार्ड र प्यान कार्ड बनाए। त्यसपछि दिल्लीमा अध्ययनरत नेपाली बासिन्दा निर्मलालाई सम्पर्क गरे र उनको नक्कली आधार कार्ड र प्यान कार्ड प्रयोग गरेर दिल्ली तथा नोयडालगायत धेरै शहरमा उनको लागि २० भन्दा बढी बैंक खाता खोले।

यसैबीच मणिपुरकी सुनिता पनि गिरोहमा समावेश भइन्। दिल्ली निवासी नवीको नाममा बैंक खाता पनि खोलिएको थियो। सुनिताले कहिलेकाहीं भन्सार वा प्रहरी अधिकृत बनेर ठगी गर्ने व्यक्तिसँग कुरा गर्थिन। यसैबीच निर्मलाले दुई वर्षअघि नाइजेरियाली युवालाई दुई नेपाली युवती संगीता र ममतासँग भेट गराएकी थिइन।

आरोपी संगीताको ठेगाना निठारी, नोयडा, गौतमबुद्ध नगर छ। ममताको भने शिव मन्दिर, बडियाल, पालम गाउँ द्धार, दिल्ली छ। उनीहरूले यही ठेगाना राखेर नक्कली आधार कार्ड र प्यान कार्ड बनाएका थिए। नक्कली परिचयपत्र प्रयोग गरेर उनीहरूले नोयडा र दिल्लीको विभिन्न बैंक खातामा ममताको नाममा २५ र संगीताको नाममा २५ भन्दा बढी बैंक खाता खोलेका थिए।
उनीहरूले यी दुवै युवतीलाई बैंक खाता खोल्न प्रत्येक खाताका लागि पाँच हजार रुपैयाँ उपलब्ध गराए। ठगीबाट जम्मा भएको रकममध्ये १० प्रतिशत उनीहरुलाई उपलब्ध गराउने सहमति भएको थियो। नेपाली युवतीको नाममा खोलिएको खाता तिनै नाइजेरियाली युवकले सञ्चालन गर्थे। यसरी नक्कली परिचयपत्र प्रयोग गरेर उनले १०० भन्दा बढी व्यक्तिको बैंक खाता खोलेको प्रहरी अनुसन्धानमा खुलेको छ। खोलिएका धेरै जसो खाता नेपालीहरुको छ।

नाइजेरियालीले आफ्नो सञ्जाल कर्नाटक, महाराष्ट्र, उत्तर प्रदेश, पुडुचेरी, केरला, आन्ध्र प्रदेश, तमिलनाडु, गुजरात, हरियाणा, मध्य प्रदेश, राजस्थान, दिल्ली, तेलंगाना, मणिपुर, झारखण्ड, बंगाल, बिहार र पञ्जाबमा फैलाएका छन्। यी सबै राज्यमा उनीविरुद्ध ३७ वटा उजुरी दर्ता थियो।

विदेशी दुलहाको रुपमा उनले बिहेका लागि मुरादाबादका एक शिक्षिकासँग कुरा गरेका थिए। यतिबेला उनले आफूलाई अमेरिकी निवासी भएको दावी गरे। उनले मणिपुरकी सुनितासँग मिलेर ती शिक्षिकासँग ९४ लाख ठगे। सुनिताले आफूलाई भन्सार अधिकृतको रुपमा प्रस्तुत गरेकी थिइन। पैसा नवी, ममता र संगीताको खातामा स्थानान्तरण गरिएको थियो ।

शिक्षिकाको उजुरीको आधारमा मुरादाबाद साइबर प्रहरीले उजुरी दर्ता गरेपछि अनुसन्धानका क्रममा ८ सेप्टेम्बरमा मणिपुरकी सुनिता पक्राउ परिन्। २८ सेप्टेम्बरमा थप अनुसन्धानका क्रममा दिल्ली निवासी नवी पनि पक्राउ परिन्। उनीहरुकै सूचनाको आधारमा बुधबार नाइजेरियाली नागरिक र दुई नेपाली युवती ममता र संगीता पनि पक्राउ परेका हुन्।

बिहीबार मुद्दाको विवरण दिँदै प्रहरी उपरीक्षक (अपराध शाखा) सुभाषचन्द्र गंगवारले भने– तीन जनाबाट १६ एटीएम कार्ड, १० मोबाइल फोन, ३ पीओएस मेसिन, १७ चेकबुक, १२ आधार कार्ड, ८ प्यानल कार्ड, ५ सिम कार्ड, ५ मेट्रो कार्ड र ५० हजार नगद बरामद भएको छ। उनीहरु हाल हिरासतमा छन्।

नाइजेरियाली नागरिक सर्वप्रथम २०१८ मा भारत आएका थिए। उनले ट्राभल एजेन्सीको काम सुरु गरे। केही दिनपछि कोरोना भाइरस फैलियो। लकडाउनका कारण कम्पनी बन्द भएपछि साइबर ठगीतर्फ संलग्न भएको प्रहरीको प्रारम्भिक बयानमा उनले बताएका छन्। यसै क्रममा उनले नेपाली युवतीहरुलाई ठगी कार्यमा जोडेका थिए।

समातिएकी नेपाली युवती ममताका अनुसार सन् २०२० देखि नाइजेरियाली युवक आफ्नो देश फर्किएका छैन। एक वर्षअघि उनले आफूलाई नाइजेरिया पठाएको र त्यहाँ उनको विलासी घर र गाडीहरु रहेको ममताले जानकारी दिएकी छिन्।