काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१७ आश्विन २०८२
अ+
अ-

काठमाडौं। विश्व फुटबल अहिले १८ वर्षे लमिन यमलको जादूमय खेलकुदमा मोहित छ। बार्सिलोनाका लागि गोल र असिस्टका वर्षा गर्दै उनले टोलीलाई जिताइरहेका छन्। स्पेनलाई युरोकप उपाधिसम्म पुर्‍याएका छन्। र, बालोन डि’ओर अवार्डको सूचीमा सेटिन पुगेर उनी फुटबल इतिहासकै सबैभन्दा कम उमेरमै विश्व स्तरमा स्थापित भएका खेलाडीमध्ये एक बनेका छन्।

तर, मैदानमा छोराले देखाएको यो चमकसँगै यमलको परिवार पनि युरोपेली समाजमा अर्कै कारणले चर्चित बनेको छ उनकी आमा शैला इबाना। नोभेम्बर ७ का लागि शैलाले लन्डनको पोर्टम्यान स्क्वायरस्थित नाबु होटलमा आयोजना गर्न लागेको विलासी नाइट डिनर अहिले नै चर्चाको केन्द्र बनेको छ।

टिकट बिक्री सुरु भएको घोषणा आयोजकले सार्वजनिक गर्नेबित्तिकै कार्यक्रमको चर्चा उच्च समाजमा झन् फैलिएको छ। प्रचारका क्रममा इबानाको भिडियो सार्वजनिक गर्दै आयोजकले भनेका छन्,“यो अनुभव चाँडै नै गराइनेछ।”

त्यो रात यमल आफ्नी आमासँग हुने छैनन्। बार्सिलोनाको खेल तालिकाले उनलाई व्यस्त बनाइरहेको छ। तर, त्यसले आमाको उत्साहमा कुनै कमी ल्याएको छैन। परिवार नजिकका स्रोतहरू भन्छन्,“छोरो फुटबलमार्फत चम्किरहेको बेला आमाले आफ्नै शैलीमा जीवनलाई ग्ल्यामरस बनाउन खोजेकी हुन्।”

शैलाको कार्यक्रम कुनै सामान्य भोज होइन। यो युरोपेली उच्च वर्गीय समाजले पर्खिरहेको भव्य क्षणजस्तै प्रस्तुत भइरहेको छ। त्यसको झलक टिकट मूल्यमै प्रस्ट देखिन्छ।

१५० युरो पर्ने स्ट्यान्डर्ड प्याकेजमा ककटेल भोज र तीन कोर्सको मेनु छ। ४०० युरो पर्ने इन्टरमेडियट प्याकेजमा जति पनि पिउन पाइने श्याम्पेन र विशेष सुविधा राखिएको छ। र, सबैभन्दा चर्चित भिआइपी प्याकेज छ। ८०० युरो तिरेपछि रोजेको टेबलमा बस्न पाइने छ। यति मात्र होइन शैलासँग प्रत्यक्ष भेटघाट र फोटो खिच्ने अवसर पनि दिइने आयोजकले जनाएको छ।