काठमाडौं। आगामी अक्टोबरमा हुने २०२६ विश्वकप फुटबलको अफ्रिकी छनोट खेलका लागि अल्जेरियाले आफ्नो २६ सदस्यीय टोली घोषणा गरेको छ। सोमालिया र युगाण्डाविरुद्ध खेल्न घोषित यस टोलीमा पहिलोपटक जिनेदिन जिदानका छोरा लुका जिदानलाई समावेश गरिएको छ।
२७ वर्षीय गोलरक्षक लुका चार भाइमध्ये दोस्रो सन्तान हुन्। हाल स्पेनको दोस्रो डिभिजन (ला लिगा टू) अन्तर्गत क्लब ग्रानडाका लागि खेलिरहेका उनले गत महिना मात्र फिफाबाट अल्जेरियाली राष्ट्रिय टोलीमा खेल्न अन्तिम स्वीकृति पाएका थिए।
लुकाका हजुरबुबा र हजुरआमाको जन्मभूमि अल्जेरियाको काबिली क्षेत्र हो। तर, उनीहरू पछि फ्रान्स पुगेका थिए। यही कारण उनले अल्जेरियाको जर्सी लगाउने अधिकार प्राप्त गरेका हुन्।
लुका रियल मड्रिडको एकेडेमीमा हुर्किएका हुन्। तर, उनको करिअर बुबा जिदानको जस्तो बन्न सकेन। उनले २०१७ देखि २०२० सम्म रियलमा खेले पनि जम्मा दुई खेलमा मात्रै अवसर पाए। पछि रायो भालेकानो हुँदै पछिल्ला चार सिजनदेखि लगातार ला लिगा ‘टू’मा खेलिरहेका छन्।
उनका बुबा जिदान भने फ्रान्सलाई १९९८ को विश्वकप जिताएका नायक मात्र होइन, रियलका महान् खेलाडी र दुई पटक सफल प्रशिक्षकसमेत बने। अल्जेरियाले पछिल्लो एक वर्षमा चार फरक गोलरक्षक प्रयोग गरिसकेको छ। पहिलो रोजाइमा रहेका एलेक्सिस गुयन्दुजका साथै यस पटक लुका र उसामा बेनबटलाई पनि टोलीमा राखिएको छ।
हाल समूह ‘जी’को शीर्ष स्थानमा रहेको अल्जेरियाले आठ खेलपछि १९ अंक जोडेको छ। अमेरिका, मेक्सिको र क्यानडामा हुने २०२६ विश्वकपका लागि छनोट सुनिश्चित गर्न अब अल्जेरियालाई मात्र एक जित आवश्यक छ।