सात सवाल
मानमती विष्ट नेपाली राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान हुन्। घरेलु मैदानमा भएको १३औँ सागमा नेपालले रजत पदक जित्दा उनी टोलीकी महत्त्वपूर्ण सदस्य थिइन्। सन् २०२३ मा चीनको हान्चाउमा भएको १९औँ एसियाली खेलकुदमा पनि पदक आसै नगरिएको महिला कबड्डीमार्फत कांस्य पदक दिलाइन्। उनै मानमतीसँग चाडपर्वको माहोलमा गरिएको सपिङ संवाद:
कबड्डीको जर्सीबाहेक तपाईंलाई मन पर्ने पहिरन कुन हो?
जिन्सको पाइन्ट र टिसर्ट।
दसैँमा नयाँ लुगा के किन्नुभयो?
एउटा जुत्ता किनेँ। यसपटक दसैँमा घर (सुदूरपश्चिम) नजाने भएकाले अरू केही किनिएन।
सपिङमा कति खर्च गर्नुहुन्छ?
मासिक सातदेखि १० हजार रुपैयाँ पुग्छ होला।
बार्गेनिङ कति गर्नुहुन्छ?
म त कडै बार्गेनिङ गर्छु। हजार रुपैयाँ भनेको सामान साढे सात सयसम्म झार्छु। नत्र छोडिदिन्छु।
जर्सी नलगाएको बेला तपाईंलाई फ्यानले नचिनेको कुनै क्षण छ?
उम्, धेरै छ। यत्तिकै भेट्दा धेरैले चिन्दैनन्, परिचय भइसकेपछि बल्ल ‘ए तपाईं त कबड्डी खेलाडी हैन?’ भन्छन्।
सामाजिक सञ्जालमा रिल्स बनाउनकै लागि लुगा फेर्नुहुन्छ?
अँ, टिकटक बनाउनकै लागि कहिलेकाहीँ फेर्छु।
तपाईंको नजरमा फेसन सेन्स भएकी अभिनेत्री को हुन्?
आँचल शर्मा। उनको स्टाइल आकर्षक छ, झन् फेसन नेचुरल लाग्छ, जे लगाउँदा नि सुहाउने।
